«

»

बल्ने भो बिजुली माडीमा

sub-station (4)सविता श्रेष्ठ
चितवन, १२ भदौ
माडी क्षेत्रमा यो वर्ष बिजुली बत्ती बल्ने भएको छ । एक दशकदेखी अलपत्र परेको विद्युतीकरणको काम यो वर्ष भित्र पुरा हुने भएपछि माडीमा बिजुली बल्ने भएको हो ।
भरतपुर माडी ३३ केबी सवप्रशारण लाईन तथा ग्रामी परियोजना अन्तर्गत माडीमा अहिले बिद्युतीकरणको काम धमाधम भैराखेको छ । नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयले सञ्चालन गरेको यो परियोजना अन्तर्गत माडीमा विद्युतीकरणको काम २०६६ सालबाट सुरु भएको हो ।
माडीको वसन्तपुरमा सवस्टेशन निर्माणको प्रकृया अन्तिम चरणमा पुगेको छ । परियोजना प्रमुख प्रमोद ढुङ्गानाका अनुसार सवस्टेशन निर्माणको सिभिल काम सकिन लागेको छ भने आवश्यक मेशिनरी सामान ल्याउने काम हुँदैछ । २४ करोडको अनुमानित बजेटमा थालिएका परियोजनामा अहिलेसम्म सवस्टेशन निर्माण लगायतका काम ६ करोड खर्च भएको छ । सवस्टेशनसम्म विद्युत पु¥याउन पाँच करोड र माडीमा विद्युत वितरण गर्न थप १० करोड रुपैयाँ लाग्ने ढुङ्गाना बताउँछन् । उनका अनुसार २०७० साल भित्र माडीको चार वटै गाविसमा विद्युतीकरण कार्य सम्पन्न हुनेछ र सम्पूर्ण माडीबासीले विद्युतको उपभोग गर्न पाउने छन् ।
नेपाल विद्युत प्राधिकरणले २०६६ सालमा वसन्तपुरमा किनेको १ विगाह १ कठ्ठा १ धुर जग्गामा ३३ केवी क्षमताको सवस्टेशन निर्माण गरिँदै छ । गुञ्जनगर गाविसको चनौली सवस्टेशनबाट ३३ केबी क्षमताको विद्युत माडी सवस्टेशनसम्म लैजाने तयारी भएको छ । त्यसको लागि जगतपुरबाट राप्ती खोला कटाउने तयारी भएको छ । विद्युत लैजानको लागि चितवन राष्ट्रिय निकुञ्ज भित्र ८ किमी भुमिगत लाईन बिछ्याईएको छ । निकुञ्जका जनावर र पर्यावरणलाई असर नपु¥याओस् भनेर भुमिगत रुपमा विद्युत प्रवाह गर्न लागिएको हो । यती लामो दुरीको भुमिगत रुपमा विद्युत विस्तार गर्ने काम नेपालमा नै पहिलो पटक गरिएको छ ।
४५० मिटर राप्ती, २०० मिटर रिउ र मगई खोलामा विद्युत पार गराउन टावर बनाउने काम भैरहेको प्रमुख ढुङ्गानाले बताए । सवस्टेशनसम्म विद्युत लैजानको लागि आवश्यक पर्ने ठाउँमा पोल राख्ने र तार टाँग्ने काम पुरा भैसकेको छ ।
नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयका तत्कालिन निर्देशक दण्डपाणी बस्यालले २०६५ सालको कार्तिकमा माडीमा नै आएर माडीबासीसँग विद्युतीकरणको बारेमा छलफल गरेर माडीमा विद्युतीकरणको लागि काम सुरु गरेका थिए । सवस्टेशन निर्माणको लागि आवश्यक जमिन जुटाउने र विद्युत माडीसम्म पु¥याउने बारेमा अध्ययनहरु गरिए । अध्ययनका क्रममा ठोरीबाट विद्युत ल्याउन सकिने, जगतपुरबाटै विद्युत पास गराउनको लागि रुखको हाँगामा इन्सुलेसन तार टाँगेर लैजाने, माडी मै विद्युत उत्पादन गर्ने बारेमा अध्ययन गरिएको प्राधिकरणका पूर्व निर्देशक बस्यालले बताउँछन् ।
‘ठोरीबाट ल्याउन निकुञ्ज क्षेत्रको झन धेरै पर्ने, अनि निकुञ्जले वातावरण र वन्यजन्तुलाई असर नगर्ने, रुख काट्न नपाईने भनेको थियो’ माडीको विद्युतीकरणको बारेमा बताउँदै बस्याल भन्छन्–‘माडी मै विद्युत उत्पादन गर्नु धेरै खर्चिलो हुने भएपछि अण्डरग्राउण्ड गरेर लैजाने योजना बनायौं ।’
विद्युत प्राधिकरणको अण्डरग्राउण्डिङ योजनाको वातावरणीय प्रभाव मुल्याङकन गरियो । त्यसपछि चितवन निकुञ्ज र युनेस्कोले दिएको अनुमतिबाट विद्युतीकरणको काम सुरु भएको हो । माडी बघौडाका बस्यालको पहलमा सुरु भएको विद्युतीकरणको काम अन्तिम चरणमा छ ।
हुलाकी सडकखण्डमा यसअघि प्राधिकरणले ९ मिटरको पोल टाँगेको थियो । भने, अहिले परियोजना अन्तर्गत ११ मिटरको पोल राख्ने काम हुँदैछ । यसअघि ११ केवीलाई ध्यान दिएर पूर्वाधार बनाईएको र अहिले ३३ केवी क्षमताको लागि पूर्वाधार खडा गरिएको परियोजना प्रमुख ढुङ्गानाले बताए ।
यसअघि बनाईएको संरचनामा प्रयोग गरिएको पोल तथा तारलाई प्राधिकरणको जिल्ला कार्यालयसँग समन्वय गरेर विद्युत वितरणमा प्रयोग गरिने उनले बताए । परियोजना प्रमुख ढृुङ्गानाका अनुसार यसअघिको संरचनामा प्रयोग गरिएको तार र पोल आधाभन्दा बढि प्रयोगमा ल्याउन सकिने छन् ।
विद्युतीकरण अन्तिम चरण पुगेको अवस्थामा माडीका युवाहरुले विद्युत वायरिङ्गको काम पनि सिकेका छन् । युवाहरुलाई स्वरोजगार बनाउन चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बघौडा मध्यवर्ती उपभोक्ता समितिले बघौडाका १५ जना युवालाई विद्युत वायरिङ्ग तालिम दिएको छ । मध्यवर्ती क्षेत्र संरक्षणमा जुटेका युवालाई सीप सिकाउन तालिमको आयोजना गरेको उपभोक्ता समितिका अध्यक्ष प्रभुप्रसाद महतोले जानकारी दिए ।
खेर गएको एक दशक
नेपाल विद्युत प्राधिकरण कार्यालय भरतपुरका अनुसार माडीमा विद्युतीकरणको काम ०५५÷०५६ बाट सुरु भएको हो । माडीको विद्युतीकरणको लागि प्राधिकरणले ०५८÷०५९ सम्ममा एक करोड १३ लाख २२ हजार खर्च गरेको तथ्याङ्क प्राधिकरणसँग छ । प्राधिकरणको लेखा शाखाका अनुसार पोल बनाउन, पोल राख्न र तार खरिद गरेर टाँग्नको लागि सो रकम खर्च भएको थियो । २०५९ असार ३१ गते प्राधिकरणमा पेश भएको पूँजिगत कार्य सम्पन्न प्रतिवेदनमा पोल र तार टाँग्ने काम सम्पन्न भएपनि विद्युतीकरणको काम अपुरो रहेको उल्लेख छ ।
२०५६ सालको निर्वाचन ताका नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका नारायण शर्मा पौलेलको पहलमा नै माडी विद्युतीकरणको काम थालनी भएको थियो । निर्वाचनमा विजयी भएर पौडेल जलस्रोत राज्यमन्त्री पनि बने । तर, विद्युतीकरणको काम भने अलपत्र नै प¥यो । विद्युत नै नपुग्दा टाँगिएको तार र गाडिएको पोल अलपत्र परे । कति पोल हराए, कति खोलाले बगाएका छन् भने तारहरु चुँडिएका छन् । ११ के बी क्षमताको विद्युत प्रवाहको लागि त्यस समय प्राधिकरणले ९ मिटर र ८ मिटरका पोलहरु राखेको थियो ।
पूर्व तयारीवीना गरिएको विद्युतीकरणको काम पोल गाड्ने र तार टाँग्नेमा मात्र सिमित बन्यो । विद्युत कसरी माडीसम्म पु¥याउने तय नहुँदा विद्युतीकरण कार्य अलपत्र बनेको थियो । चितवन निकुञ्जले निकुञ्ज क्षेत्रमा विद्युत प्रवाह गर्नको लागि अनुमति प्रदान नगर्दा र कसरी निकुञ्ज क्षेत्र पास गराउने ठोस योजना नहुँदा त्यस समयमा विद्युती करणको काम रोकिएको थियो ।