«

»

नारायणगढमा रोपाइँ जात्राको रौनक

jatraआनन्द पोखरेल
भरतपुर, १२ भदौ । एकातिर युवाहरु पञ्चेबाजाको तालमा छमछम नाच्दैछन्, अर्कातिर साना साना बाबुनानीहरु भगवान श्रीकृष्णको रुपमा सजिएर मख्ख छन् । लाग्छ यहाँ कुनै प्रतियोगितात्मक कार्यक्रम हुँदैछ । तर यो कुनै प्रतियोगितात्मक कार्यक्रम नभएर नेवार समुदायमा मनाउने रोपाईँ पर्वको रौनक थियो ।
नारायणी कला मन्दिर नारायणगढले आयोजना गरेको रोपाईँ जात्रामा विभिन्न १२ वटा संघ संस्थाहरुले सहयोगीको भूमिका निर्वाह गरेका थिए । असार साउनमा धान रोपेर सकिएपछिको दुःख कष्टलाई बिर्सनको लागि नाटकिय रुपमा रोपाईँ जात्रा मनाउने गरिएको कला मन्दिरका अध्यक्ष विज्ञानराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस पर्वसँग ऐतिहासिक पृष्ठभूमि पनि जोडिएको छ ।
नेवारी समुदायले फरक–फरक रुपमा मनाउने गरेको रोपाईँ जात्राले समुदायमा फाटो ल्याउन थालेको भन्दै नारायणी कला मन्दिरले विगत ११ वर्ष देखि सम्पूर्ण नेवार समुदायलाई एकत्रित गरेर रोपाईँ जात्रा गर्न थालेको समाजसेवी सूर्यबहादुर मास्केले बताए । मास्केका अनुसार रोपाईँ जात्रा शुरु गर्नु भन्दा पहिले अन्नकी देवी भनेर नेवार समुदायले मान्ने अन्नपूर्ण माईको पूजाआजा गरेर मात्रै यो पर्वको शुरुवात गरिन्छ । अन्नपूर्ण माईको पूजाआजा गरेपछि पर्याप्त मात्रामा अन्न उब्जनी हुने विश्वास रहेको पनि मास्केले जानकारी दिए ।
गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकाका मल्ल राजाहरुमाथि विजय प्राप्त गरी राज्य आफुले प्राप्त गरेपनि काठमाडौंका नेवार मल्लहरुले उनलाई गद्दी नल्याउने शर्तमा राजा मान्ने भन्दा पृथ्वीनारायण शाहले उक्त शर्त मानेको खुसीयालीमा नेवारहरुले विजयको रुपमा रोपाईँ जात्रा मनाउने गरेकोे परम्परा रहेको पनि कला मन्दिरका अध्यक्ष श्रेष्ठले बताए । रोपाईँ जात्राको बेलामा सम्पूर्ण नेवार समुदाय भेला भएर रमाइलो सँग अनौपचारिक रुपले जात्रामा सहभागी हुने गर्दछन् ।
रोपाइँ जात्रा काठमाडौं, भक्तपुर तथा बन्दिपुरका नेवारहरुको परम्परागत पर्व हो । जनै पूर्णिमाको भोलिपल्टदेखि सात दिनसम्म मनाइने गाई जात्रा पर्वको अन्तिम दिन श्रीकृष्ण जन्माष्टमीको दिनमा रोपाइँ जात्रा मनाउने गरिन्छ । सन्तान नभएको घरका मान्छेहरु रोपाइँ जात्रामा आएर सन्तानको कामना गरेमा जन्मने जन विश्वास रहँदै आएको छ ।
पञ्चेबाजाको तालमा धान रोप्दा गरिने कार्यहरु गर्दै बाउसे तथा खेतालाको भेषमा जम्मा भएर रोपाइँ जात्रा मनाउने गरिन्छ । रोपाइँ जात्रामा नाचगान गर्दै शहर परिक्रमा समेत गर्ने गर्दछन् । रोपाइँ जात्रा निकाल्ने दिनको बिहान नेवार समुदायका प्रत्येकको घरमा गएर तपाइँको घरको बाटोमा साँझ रोपाइँ जात्रा हुँदै छ भन्ने जानकारी दिन ‘होपाचोहो’ कार्यक्रम गरिन्छ । होपाचोहो कार्यक्रम गरेर सबैलाई यो जात्रा हेर्न आग्रह गरेपछि नेवार समुदायहरु जात्रा शुरु भएपछि आ–आफ्नो घर अगाडि आएर खुसीसाथ यो पर्व हेर्ने कला मन्दिरका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  
रोपाईँ जात्रा कुनै प्रतियोगितात्मक कार्यक्रम नभए पनि यस पर्वमा विभिन्न भेषभुषामा उपस्थित हुनेहरु मध्येबाट प्रथम, द्वितिय, तृतीय तथा सान्त्वना स्थान छुट्याइने र उनीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरिने रोपाइँ जात्राका संयोजक रोहित श्रेष्ठले जानकारी दिए ।