«

»

चितवनबाट चुनावी माहोल खडा गर्छौ : महेश बस्नेत

IMG_0599सञ्चारपत्र सम्वाददाता
भरतपुर, २० भदौ
युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले भदौको अन्तिम साता चितवनमा हुने संघको राष्ट्रिय भेलाले चुनावको माहोल खडा गर्ने बताएका छन् । भदौ २८ र २९ गते चितवनमा हुने युवा संघको राष्ट्रिय भेलाको अनुगमन गर्न विहीवार यहाँ आएका बस्नेतले सञ्चारपत्र दैनिकसँग कुरा गर्दै चितवनमा हुने युवा संघको राष्ट्रिय भेलाबाट पुरुष युथ फोर्स गठन गर्ने जानकारी दिए ।
नेकपा (एमाले) केन्द्रीय कमिटीको निर्णय अनुसार एक हप्ता अघि धरानबाट महिला युथफोर्सको गठन भईसकेको र अब चितवनबाट पुरुष युथ फोर्सको घोषण गरिने बस्नेतले जानकारी दिए । उनले भने– ‘अब पार्टीको एजेन्डा बोकेर युथ फोर्स जनताको घरदैलोमा पुग्ने छ ।’
युवासंघमा देखिएको विवादको बारेमा बस्नेतको भनाई थियो– ‘युवा संघमा विवाद भएकै छैन, केही दुई चार जना साथीहरुको असन्तुष्टि होला । काम गर्दै जाने, बेईमानीलाई छोड्दै जाने र समानान्तर गतिविधिलाई त्यागेर हामीले विवाद अन्त्य गर्दैछौँ ।’ अबको चुनावमा एमालेको तर्फबाट चुनाव प्रचारको लागि युथ फोर्स परिचालन गरिने बस्नेतले जानकारी दिए ।
देशका चार हजार गाविसमा प्रत्येक गाउँबाट तीस जनाका दरले नयाँ युवाहरुलाई युथ फोर्समा सामेल गराउने युवा संघको कार्यक्रम रहेको बस्नेतले बताए । ‘नगरपालिकाका प्रत्येक वडाबाट हामीले ५० जना युवाहरुलाई युथ फोर्समा लैजाने अभियान देशभरीबाट शुरुवात गरिसकेका छौँ’ बस्नेतले भने ।
आगामी संविधान सभाको निर्वाचनलाई ध्यानमा राखेर कुनै चुनावी बुथ नछुट्ने गरी झण्डै १० हजार बुथहरुमा पुरुष र महिलाका छुट्टा छुट्टै युथ फोर्स राखिने बस्नेतले जानकारी दिए । ‘केहि पार्टीका भातृ संगठनले चुनाव बिथोल्ने प्रशिक्षण लिएका छन्’ अब युवा संघले आफ्नो रणनीति कस्तो बनाउँछ ? भन्ने प्रश्नमा अध्यक्ष बस्नेतले भने– ‘कसैले चुनाव बिथोल्न सकुन्, त्यस्तो मलाई लाग्दैन र चुनाव बिथोल्ने जस्तो आँट पनि नगर्लान् जस्तो लाग्छ किनकी यो धर्तीमा युवा संघ नेपाल जिवितै छ ।’
भक्तपुरको क्षेत्र नम्वर दुईबाट पार्टीका प्रभावशाली नेता केपी शर्मा ओली र युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतको नाम सिफारिस गरिएको सम्बन्धमा बस्नेत भन्छन्– ‘चुनावी माहोलको बारेमा केपी कमरेडसँग छलफल भएको छ, केपी कमरेड र म भक्तपुरको दुई नम्बर क्षेत्रका बासिन्दा भएकोले पार्टीको क्षेत्रीय कमिटीले हामी दुवैजनाको सम्मान गर्दै नाम सिफारिस गरेको छ ।’ केपी ओलीले झापा र भक्तपुरका दुईवटै ठाउँबाट चुनावमा उठ्छु भनेपनि आफुले कुनै गुनासो नगर्ने उनको भनाई थियो ।
चितवनमा हुने युवा संघको राष्ट्रिय भेलामा देश भरिबाट करिव आठ सय ८५ जना सहभागि हुँदैछन् । एमालेका अध्यक्ष झलनाथ खनालले भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको बस्नेतले जानकारी दिए । भेलामा एमालेका शीर्ष नेताहरुको उपस्थिति रहने पनि उनले बताए । बस्नेत विहीबार नै लमजुङको सुन्दरबजारमा पार्टीको क्षेत्रीय चुनावी भेलालाई सम्बोधन गर्न चितवनबाट त्यसतर्फ गएका थिए ।