«

»

चितवनमा बढे महिला जग्गाधनी

IMG_0600आनन्द पोखरेल

 कारण ः छुटको आकर्षण, पुरुष बिदेशिनु, सशक्तिकरण, शिक्षामा पहुँच 
 गत आवमा ३३ प्रतिशत जग्गा महिलाको नाममा
 तीन करोड छ लाख रूपैयाँ राजश्व छुट

भरतपुर, २० भदौ
चितवनमा जग्गाको कारोवार घटेको भए पनि महिला जग्गाधनी भने बढेका मालपोत कार्यालय, चितवनको तथ्याङ्कले देखाएको छ । महिलाको नाममा जग्गा पास गराउँदा २५ देखि ३० प्रतिशतसम्म छुट पाइने भएको कारण महिला जग्गाधनी बढेका मालपोत कार्यालय, चितवनका मालपोत अधिकृत तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।
मालपोत चितवनमा आर्थिक वर्ष २०६९÷०७० मा ३१ हजार नौ सय साठी वटा जग्गा किनबेचको लिखत भएको थियो । नगरपालिका क्षेत्रका १३ हजार चार सय ४४ र ग्रामीण क्षेत्रका १८ हजार पाँच सय १६ वटा लिखत दर्ता भएका थिए । ती मध्ये महिलाको नाममा १० हजार छ सय पाँच वटा अर्थात् ३३ दशमलव १८ प्रतिशत लिखत दर्ता भएको मालपोत अधिकृत सुवेदीले जानकारी दिए ।
मालपोत कार्यालय चितवनमा चालु आर्थिक वर्षको साउनमा जग्गा किनबेचको लिखत एक हजार पाँच सय ७० वटा दर्ता भएका छन् । नगरपालिका क्षेत्रमा सात सय ११ र ग्रामीण क्षेत्रमा आठ सय ५९ वटा लिखत दर्ता भएको भएको छ । जसमध्ये आठ सय आठ वटा लिखत महिलाको नाममा दर्ता भएको मातपोत कार्यालय चितवनले जानकारी दिएको छ ।
मालपोत कार्यालयमा जग्गा पास गर्न आएकी रत्ननगर टाँडीकी खेउरी थरुनीले भनिन्– ‘मेरो पति विदेशमा हुनुहुन्छ, जग्गा किन्ने भनेर पैसा पठाउनु भयो त्यसैले मेरो नाममा जग्गा पास गर्दैछु ।’
‘जग्गा छोराले किनेको हो तर महिलाको नाममा जग्गा पास गर्दा छुट पाइने भएपछि मेरो नाममा जग्गा पास गरेका हौँ’ भरतपुर गौरीगञ्जकी इन्द्रादेवी पौडेलको भनाई थियो । खैरहनीका रामकुमार श्रेष्ठले पनि महिलाको नाममा जग्गा पास गर्दा ३० प्रतिशत राजश्व छुट हुने भएकोले श्रीमतीको नाममा जग्गा पास गरेको बताए ।
जग्गा खरिद विक्री गर्दा महिलाको नाममा पास गरिने जग्गा गाविस क्षेत्रको भएमा ३० प्रतिशत र नगरपालिका क्षेत्रको भएमा २५ प्रतिशत राजस्व छुट पाउने व्यवस्था छ । जग्गा खरिद बिक्री गर्दा चितवन जिल्लाको नगरपालिका क्षेत्रमा न्यूनतम मूल्य वा थैली अङ्कको चार प्रतिशत राजश्व तिर्नुपर्ने हुन्छ । ग्रामीण क्षेत्रमा जग्गा खरिद बिक्री गर्दा भण्डारा, खैरहनी, चैनपुर, हाँजीपुर, मंगलपुर, गीतानगर र जुटपानी गाविसमा थैली अंकको तीन प्रतिशत राजश्व तिर्नुपर्ने र बाँकी गाविसहरुमा दुई प्रतिशत राजश्व तिर्नुपर्ने व्यवस्था रहेको मालपोत अधिकृत सुवेदीले जानकारी दिए ।
‘छुटको आकर्षण, पुरुष वैदेशिक रोजगारिमा जानु, महिला सशक्तिकरण, शिक्षामा महिलाको पहुँच बढ्नुलगाएतका कारणले गर्दा महिलाको नाममा जग्गा बढी पास हुन थालेका छन्’, मालपोत अधिकृत सुबेदीले भने ।
जग्गा किनबेचको लिखतबाट आर्थिक वर्ष ०६९÷७० मा मालपोत कार्यालयल चितवनले एक्काइस करोड ३० लाख १४ हजार पाँच सय २८ रूपैयाँ राजश्व असुली गरेको थियो । यसै अवधिमा महिलाहरुलाई तीन करोड छ लाख ३७ हजार सात सय १२ रूपैयाँ राजश्व छुट प्रदान गरिएको थियो । चालु आर्थिक वर्षको साउनमा एक करोड ९१ लाख तीन हजार छ सय ४७ रूपैयाँ राजश्व असुली गरेकोमा महिलाहरुलाई २६ लाख ७८ हजार पाँच सय ७९ रूपैयाँ राजश्व छुट दिइएको मालपोत कार्यालय, चितवनका सूचना अधिकारी समेत रहेका मालपोत अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिए ।
आर्थिक वर्ष २०६८÷०६९ मा चितवनमा २० हजार दुई सय ९२ वटा जग्गा खरिद बिक्रीको लिखत दर्ता भएको जिल्ला मालपोत कार्यालय, चितवनले जानकारी दिएको छ । जसमा शहरी क्षेत्रका आठ हजार ३८ वटा र ग्रामीण क्षेत्रका १२ हजार दुई सय ५४ वटा लिखत दर्ता भएका थिए । उक्त आर्थिक वर्षमा मालपोत चितवनमा महिलाको नाममा नौ हजार तीन सय ७५ वटा लिखत दर्ता भएको मालपोत अधिकृत सुवेदीले जानकारी दिए ।