«

»

शान्तिका लागि मार्चपास ः बादल

badal1आनन्द पोखरेल
भरतपुर, २१ भदौ
नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले शुक्रवार चितवनको राष्ट्रिय युवा जनस्वयम्सेवकको मार्चपासलाई सम्बोधन गर्दै यो शान्तिका लागि नयाँ अभियानको थालनी भएको बताएका छन् ।
आफुहरुले टेबलबाट पनि सहमति गर्ने प्रयास गरेको र अब सडकबाट पनि आन्दोलनको सुरुवात गरेको बादलले जानकारी दिए । मेची र भक्तपुरमा पनि शुक्रवार नै लालमोर्चाले मार्चपास गरेको बताउँदै उनले अब देशभरिबाट शान्तिका लागि यो अभियान सञ्चालन गर्ने बताए ।
बादलले अबको परिवर्तनका लागि लालमोर्चा अग्रसर भएको भन्दै यस कार्यमा पार्टीको तर्फबाट पूर्ण रुपमा साथ र सहयोग हुने बताए । ‘हामीले देशलाई गरीबीबाट मुक्त बनाउन चाहान्छौँ, सम्बृद्ध नेपाल चाहन्छौं, यो परिवर्तनको लागि सम्पूर्ण देशभक्त नागरिकहरुले हामीलाई साथ दिनुहोस्’ बादलले भने ।
‘आजको यो मार्चपास त काष्टिङ हो । क्लाईमेक्स मङ्सिर चार अगाडि प्रदर्शन गर्छौं’ माओवादी महासचिव बादलको भनाई थियो । उनले देशले राष्ट्रघाती र देशभक्त शहिद जन्माउने गरेको भन्दै त्यो देशभक्त आफुहरु भएको दावी गरे । ‘चितवनका लालयुवाहरुले देशभक्तिको आन्दोलन थालेका छन्, यसमा पार्टीको तर्फबाट शुभकामना दिन चाहान्छु’ बादलले भने ।
साँचो माओवादी नेकपा–माओवादी भएको र आफुहरुलाई बाहिर राखेर चुनाव हुनै नसक्ने उनको भनाई थियो । जुनसुकै तन्त्र आए पनि जनताको हातमा शक्ति नआएको भन्दै दलाल, विदेशी र राष्ट्रघातीको हातमा शक्ति गएको बालदले दाबी गरे ।
‘हामी स्वाधिनता सहितको लोकतन्त्र चाहन्छौं, यहाँ दलालतन्त्र आएको छ, अहिले हामीले गरेको आन्दोलन आत्मसमर्पणवाद र दलालको विरुद्ध हो’ बादलले भने । उनले अहिलेको सरकार कठपुतली सरकार भएको भन्दै यो सरकारलाई घुँडा टेकाउने बताए । गोलमेच सम्मेलनबाट संयुक्त सरकार बनाउनु पर्ने भन्दै बादलले भने –गोलमेच सम्मेलनबाट बनेको संयुक्त सरकारले मात्रै चुनाव गर्न सक्छ ।
चितवनमा नेकपा–माओवादीको भ्रातृ संगठन राष्ट्रिय जनस्वयम्सेवकले शुक्रबार गरेको जिल्ला स्तरिय मार्चपास कार्यक्रम नारायणी उच्च मावि, भरतपुरबाट शुरु भई पुलचोक, नारायणगढमा गएर सभामा परिणत भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय पोलिटब्यूरो सदस्य कुलप्रसाद केसी, ताम्सालिङ इन्चार्ज सूर्य सुवेदी, केन्द्रीय सदस्य अनिल शर्मा विरही लगाएत अतिथि रहेका थिए । सभा राष्ट्रिय युवा जनस्वयम्सेवक चितवनका इन्चार्ज केशवको अध्यक्षतामा भएको थियो ।