नेपालमा पछिल्लो पटक कृषि क्षेत्रमा युवा वर्गको आकर्षण बढेको छ । कृषि क्षेत्रप्रति सकारात्मक सोच विकास हुँदै जानु, यस क्षेत्रले दिगो प्रतिफल दिनसक्नु कृषिमा युवा आकर्षण बढ्दै जानुका मुख्य कारण हुन भन्न सकिन्छ । केही वर्ष अघिसम्म पनि पढेलेखेका युवा वर्ग कृषि कार्यमा लाग्न रुचाउँदैनथे । तर अहिले कृषि गुजारा चलाउने मात्र होइन आर्थिक समृद्धिको मेरुदण्डको रुपमा विकास हुँदै जान थालेको छ, जसले गर्दा यो क्षेत्रले सवैलाई आकर्षित गर्न थालेको छ । सम्भावना नै सम्भावना बोकेको कृषि क्षेत्रमा युवा वर्गको आकर्षण बढेकोले यसले राज्यलाई पनि थप लगानीका लागि सोच्न बाध्य बनाएको छ ।
ग्रामीण क्षेत्रमा कृषिमा आधुनिकिकरण गर्ने प्रविधिको विकास भइरहेको छ । कृषिमा आधुनिकिकरणले उत्पादन बढाउने र लगानी सुरक्षित गर्ने तथा सोचेअनुरुप नाफा गर्न सकिने भएकोले नयाँ नयाँ प्रविधि पनि भित्रिइरहेका छन् । कृषि प्रधान देश नेपालमा कृषि क्षेत्रको ठूलो सम्भावनालाई युवा वर्गको आकर्षणले बढावा दिने काम गरेको छ । कृषिमा अहिले कृषकहरुको मात्र होइन विभिन्न क्षेत्रका मानिसहरुको पनि रुची बढ्दै गएको पाइएको छ । समुहमा लगानी गर्ने र विभिन्न नयाँ वस्तु उत्पादन गर्ने काम पनि भइरहेको देखिन्छ । सामुहिक लगानीले कृषिको व्यवसायिकरणमा टेवा पु¥याइरहेको
छ । कृषिमा बढेको आकर्षणसँगै बैंक तथा बित्तिय संस्थाहरुले पनि यो क्षेत्रमा लगानी वृद्धिका योजनाहरु ल्याइरहेका छन् । यसले गर्दा कृषिको आधृनिकिकरण र व्यवसायिकरणमा थप टेवा पु¥याएको छ ।
कृषिको व्यवसायिकरण र स्वदेशको लागि आवश्यक कृषि वस्तु स्वदेशमै उत्पादन गर्ने कार्यमा मानिसहरुको आकर्षण जसरी बढिरहेको छ राज्यको तर्फबाट भने कृषि क्षेत्रलाई गर्नुपर्ने सहयोगमा कन्जुस्याइँ गरिरहेको छ । त्यस्तै, कृषकहरुप्रति राज्यको दृष्टिकोण नै गलत छ । राज्यले किसानलाई जुन सम्मान दिनुपर्ने हो त्यसमा उ दुई कदम पछाडि छ । कृषि उत्पादन गरेर सवैलाई पाल्ने किसानलाई राज्यले दोस्रो दर्जाका नागरिकको रुपमा हेलाको व्यवहार गरिरहेको छ । किसानका छोराछोरी सिंहदरबारको कूर्चीमा पुग्दा पनि किसानहरुलाई हेर्ने दृष्टिकोण बदल्न नसक्नु देशकै लागि घातक विषय
हो । तसर्थ सर्वप्रथम राज्यले किसानलाई हेर्ने दृष्टिकोणलाई बदल्दै उनीहरुलाई सम्मान दिने र त्यसको लागि वातावरण सृजना गर्नुृ नितान्त आवश्यक छ ।
कृषिमा आकर्षण बढेको छ, लगानी बढेको छ, आधुनिकिकरण र व्यवसायिकरण पनि हुँदै गएको छ । तर कृषि उत्पादन कहाँ बिक्रि गर्ने भन्ने समस्या अहिले किसानहरुका लागि मुख्य समस्याको रुपमा रहेको छ । बिचौलियाको कारण किसानहरुले अति न्यून मूल्यमा उत्पादन विक्रि गर्नुपर्ने अवस्था छ भने उता उपभोक्ताले भने चर्को महङ्गी खेप्नुपरिरहेको छ । हाम्रो जस्तो देशमा यस्तो अवस्थाको अन्त्य गर्न राज्यकै पहलकदमी आवश्यक छ । बजारको अवस्था र बिचौलियाको एकाधिकार तोड्न राज्यले नै कृषि मन्त्रालय अन्तर्गत प्रभावकारी संयन्त्र निर्माण गरि जिल्ला जिल्लामा किसानका उत्पादनको उचित मूल्य दिएर खरिद गर्ने र त्यसलाई बजारीकरण गरिदिने व्यवस्था मिलाउनु अपरिहार्य छ । त्यसका लागि गाउँ गाउँमा कृषि सहकारीहरुसँग सहकार्य गरेर व्यवस्थापनको कार्य मिलाउन सकिन्छ । यसो हुन सकेमात्र कृषि क्षेत्रले विदेशिने युवा शक्तिलाई स्वदेशमै अड्याउन, आयात प्रतिस्थापन गर्न, निर्यात गर्ने अवस्थामा पुग्न र देशको अर्थतन्त्रलाई माथि उठाउन सक्छ ।