दशैं तिहार जस्ता ठूला चाडपर्वहरु नेपालीहरुको घर आँगनमा भित्रिनै लागेका छन् । दशैं तिहारको समयमा यात्रुहरु धेरै हुने हुँदा यातायातका साधनहरु पनि धेरै नै व्यस्त हुन्छन् । दशैं तिहारमा लामो विदा हुने भएकोले शैक्षिक संस्थाहरु तथा सरकारी कार्यालय र निजी संघसंस्थाहरु पनि बन्द हुने हुँदा टाढा घर भएकाहरु पनि आफ्नो घर जाने हुँदा यातायातका साधनमा अत्यधिक भीडभाग हुनेगर्छ । घर बाहिर रहेर विभिन्न पेशा व्यवसायमा संलग्न भएकाहरु दशैं तिहारमा सकेसम्म घर पुग्न खोज्ने भएकाले अहिले चलिरहेका यात्रु बोक्ने सवारी साधनले सवैलाई राम्ररी सेवा दिन अवश्यै गाह्रो हुन्छ । हरेक वर्ष दशैं तिहारको बेलामा यातायात सञ्चालकहरुले केही न केही सवारी साधनहरु थप गरेको बताएपनि यात्रुहरुलाई त्यो अपुग नै भएको हामी पाउँछौं ।
दशैं तिहार नजिकिंदै गर्दा टाढा टाढा जानुपर्नेहरु सार्वजनिक यातायातको व्यवस्थापन सम्झिएर चिन्तित हुने गरेका छन् । बालबच्चा, बिरामी, बृद्धबृद्धाहरु लिएर यात्रा गर्नुपर्नेहरुका समस्या त झन् बेग्लै छन् । गाडी नै नपाउनु, पाए पनि भीडभाडले गाडीमा खुट्टा राख्ने सम्म पनि ठाउँ नपाउनु, सिट नपाएर गाडीको छतमा समेत बसेर यात्रा गर्नुपर्ने, निर्धारण गरिएको भन्दा धेरै भाडा तिर्नुपर्नेलगायतका समस्याहरुले यात्रुहरुलाई पिरोलिइरहेको हुन्छ । यातायात सञ्चालकहरुले पनि दशैं तिहारलाई मुख्य कमाउने समयको रुपमा लिइरहेका हुन्छन् । बढी भाडा तिरेर पनि यात्रुले सजिलोसँग यात्रा गर्न पाइरहेका हुँदैनन् । गाडीको क्षमता भन्दा बढी यात्रुहरु राखेर गुडाउँदा दुर्घटना भएका समाचार पनि बेलाबखत आइरहेका छन् । चाडबाडमा यो जोखिम झनै बढी रहेको पाइन्छ ।
जसरी पनि गन्तव्यमा पुग्नुपर्ने र बिकल्प नहुँदा मानिसहरुलाई जे जस्तो चलेको छ त्यसमै हिंडुनुपर्ने बाध्यता पर्ने गरेको छ । यस्तो बाध्यताको फाइदा उठाउनेतिर लाग्नेहरुलाई स्थानीय प्रहरी प्रशासनले निगरानी राख्नु र गलत गर्नेहरुलाई कारवाही गर्ने हिम्मत गर्नु जरुरी छ । राम्रो कामको लागि व्यवसायीहरुले प्रहरी प्रशासनलाई सहयोग गर्दा उनीहरुलाई पनि दीर्घकालिन हिसाबले फाइदा नै पुग्छ, कुनै नोक्सानी हुँदैन । यातायात व्यवसायीहरुले जति राम्रो व्यवस्थापन गर्छौं भनेपनि र प्रहरी प्रशासनले जति नै कडिकडाउ गर्छौं यात्रुले सास्ती भोग्नुपर्दैन भनेपनि यात्रुले पूर्व निर्धारित भाडा तिरेर सहज ढंगले यात्रा गर्न पाएको बिगतमा देख्न पाइएन । यात्रुको सुरक्षा तथा सर्वसाधारण नठगिने अवस्था सृजना गर्नका लागि यातायात व्यवसायी तथा प्रहरी प्रशासनको प्रमुख दायित्व रहन्छ । ठगिएमा निवेदन दिनु अनि कारवाही गर्छौं भनेर प्रहरी प्रशासनले सूचना जारी गर्नुको कुनै अर्थ रहँदैन । यो दायित्व पुरा गर्न खोजे जस्तो मात्रै हुन्छ । यात्रा गर्न लागेको मानिसलाई गन्तव्यमा पुग्नै हतारो हुन्छ, कहाँको प्रहरी प्रशासन खोज्दै दौडनु ! जिम्मेवार प्रहरी प्रशासनले सम्बन्धित ठाउँमै पुगेर सर्वसाधारणका गुनासा सुन्ने व्यवस्था मिलाउन सके उत्तम हुन्छ । त्यस्ता गतिबिधिप्रति प्रहरी प्रशासन आफैले कडा निगरानी राखेर गलत गर्नेहरुमाथि कारवाही गर्ने अभियान चलाउनु आवश्यक छ । सर्वसाधारणलाई दुःख दिनेहरुमाथि कारवाही गर्दा कुनै पनि क्षेत्रबाट त्यसको बिरोध गर्नुृको औचित्य रहँदैन ।