«

»

निर्वाचन आचारसंहिता पालना गरौं

संविधानसभाको दोस्रो निर्वाचन अब ५० दिन मात्र बाँकी छ । मंसिर ४ का लागि निर्धारण गरिएको संविधानसभा निर्वाचनको लागि निर्वाचन आयोगले गएको साउन ७ गतेदेखि नै लागू हुने गरि निर्वाचन आचार संहिता जारी गरेको हो । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवार, राजनीतिक दल तथा उम्मेदवारसँग सम्बन्धित व्यक्ति, नेपाल सरकार र नेपाल सरकारका मन्त्री, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था र स्थानीय निकाय, सवै आम सञ्चारका माध्यमका लागि आचारसंहिता लागू हुने उल्लेख गरेको छ । 
त्यसैगरि, नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था र स्थानीय निकायका कर्मचारी र निर्वाचन कार्यमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, गैरसरकारी संघ÷संस्था र निर्वाचन प्रयोजनको लागि आयोगले खटाएको स्वयंसेवकलाई आचारसंहिता लागू हुने स्पष्ट पारेको छ । निर्वाचन आयोगले आचारसंहिता लागू हुनेको हकमा उनीहरुले पालना गर्नुपर्ने आचरणको पनि व्याख्या गरेर सार्वजनिक गरिसकेको छ । सम्बन्धित क्षेत्रबाट निर्वाचन आचारसंहिताको उल्लंघन भएमा सजाय समेत हुने व्यवस्था निर्वाचन आयोग ऐनले गरेको छ ।
निर्वाचनको मिति नजिकिंदै गर्दा राजनीतिक दलका नेता कार्यकर्ताहरु निर्वाचनलाई लक्षित गरि विभिन्न कार्यक्रमहरुमा दौडधुप गर्न पनि थालिसकेका छन् । दलका घोषणा भइसकेका वा घोषणामा उम्मेदवारको सूचीमा पर्ने सम्भावना रहेका नेताहरु मुख धोएर गाउँ गाउँ पस्न थालिसकेका छन् । कतिपय संघ÷संस्थाले त भावी उम्मेदवारहरुलाई रिझाउन आफ्ना कार्यक्रमहरुमा निम्ता गर्ने, उद्घाटन, शिलान्यास गर्न लगाउने गरेका समाचार आएका छन् । निर्वाचन आचारसंहिता मिचेर यस्ता क्रियाकलाप गर्नु शोभनीय हुँदैन ।
ऐन, कानुन थाहा भएन या मान्दिन भन्न पाईंदैन, गलत गर्नेले सजायँको भागीदार बन्नैपर्छ । त्यसैले आचारसंहिता लागू हुने सवैले यसको राम्रोसँग अध्ययन गर्न जरुरी छ । आचारसंहिता नमान्ने राजनीतिक नेता कार्यकर्ताले कर्मचारीतन्त्रलाई राजनीतिक प्रभावमा पारेर सजायँबाट उम्किए पनि जनताको नजरबाट अवश्यै गिर्नेछन् । त्यो भन्दा ठूलो सजायँ केही हुन सक्दैन । लोकतान्त्रिक व्यवस्थामा सवैले ऐन, कानुनको पालना गर्नु अनिवार्य हुन्छ ।
लोकतान्त्रिक व्यवस्थामा गरिने निर्वाचनमा आचारसंहिता मान्नुको अर्थ त्यो निर्वाचनलाई स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष ढंगले सम्पन्न गर्न सघाउनु या सम्पन्न गराउनु हो । निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो भने आचारसंहिता निर्वाचनको मुटु हो, त्यसैले साँच्चिकै संविधान बनाउने हो भने त्यसको पहिलो खुड्किलो निर्वाचन स्वच्छ हुनुपर्छ र त्यसका लागि निर्वाचन आचारसंहिताको पालना गर्नु अपरिहार्य छ ।