—आचार्य लक्ष्मण भण्डारी
‘शरीरमाद्यं खलु धर्म साधनम्’ अर्थात् शरीर नै वास्तविक धर्मको साधन हो । बिनाशरीर हामी कुनै काम गर्न सक्दैनौँ । संसारका सम्पूर्ण काम यही शरीरद्वारा सम्पन्न हुने गर्दछन् । शरीर छ र नै हाम्रो जीवन छ, अन्यथा न हामी रहने थियौँ, न हाम्रो जीवन नै रहने थियो । हाम्रो शरीर त्यसैले सम्पूर्ण धर्म साधनाको एक मात्र माध्यम हो ।
हाम्रो शरीर जति स्वस्थ रहन्छ, त्यति नै हाम्रा व्यवहारहरू स्वस्थ रहन्छन् । स्वस्थ शरीरबाट मात्रै स्वस्थ समाज र संसारको निर्माण सम्भव छ । अस्वस्थहरूबाट कुनै पनि काम सम्पन्न हुन सक्दैनन् । जो व्यक्ति आपैmँमा रुग्ण छ, अस्वस्थ र अस्थिर छ, उसले स्वस्थ, निरोग र स्थिर समाजको निर्माणमा कहिल्यै योगदान गर्न सक्दैन । हाम्रो प्राचीन समाजका आचार्यहरू त्यसैले स्वस्थ जीवनका लागि सदैव सचेत रहन्थे र तदनुकूल जीवनयापनका लागि योग, ध्यान र खानपानमा विशेष सतर्कता अपनाउँदथे ।
‘स्वस्थ’ शब्दको अर्थ ‘स्वयम्मा रहनु’ हो । ‘स्व’ शब्दको अर्थ स्वयम् वा आपूm हो भने ‘स्थ’ शब्दको अर्थ रहनु हो । यसरी हेर्दा जो व्यक्ति स्वयम्मा रहन्छ उसलाई नै स्वस्थ मान्न सकिन्छ । अब आफैँमा रहनु भनेको के त ? स्वयम्मा रहनु भनेको आफ्नो अस्तित्वमा रहनु भनेको हो । मान्छेको आफ्नै अस्तित्व र मूल्य छ । हाम्रो जीवनका आफ्नै परिचय र पहिचानहरू छन् । हरेक व्यक्ति स्वयम्मा अत्यन्त मौलिक र पवित्र छ । यही आपूmमा भएको खुबी, मौलिकता, पवित्रता र प्रेमको अस्तित्वमा रहनु भनेको नै स्वस्थ रहनु भनको हो भनेर हाम्रा पूर्वजहरूले बताएका छन् ।
मनुष्यका मौलिक अस्तित्व छन् । मान्छेमा भएका मुख्य गुणहरू ह्न्— त्याग, विवेक, चेतना, प्रेम, सात्विकता, सहयोग र पवित्रता । यी गुणहरू भनेका नै हामी हौँ र हामी नै यी विशेषता हुन् । यसर्थ, स्वयम्मा रहनु भनेको विवेकमा रहनु, मौलिकतामा रहनु, पवित्रतामा रहनु, आनन्दमा रहनु र सात्विकतामा रहनु हो । जुन दिन हामीमा यी कुनै पनि गुणहरू रहने छैनन्, त्यसदिन हामी स्वस्थ नभएर अस्वस्थ भएका हुनेछौँ ।
‘स्व’ शब्दभित्र धेरै कुराहरु पर्दछन् । खासगरी हामीलाई चिनाउने हाम्रा पहिचानहरु नै ‘स्व’ हुन् । हामी हुनु भनेको हाम्रो धर्म हुनु हो, हाम्रो भूगोल हुनु हो, हाम्रा मूल्य र मान्यताहरु हुनु हो । यिनै ‘स्व’हरुमा नरहनु भनेकै अस्वस्थ हुनु हो । जब हामी अस्वस्थ हुन्छौँ, त्यसपछि हाम्रो अधोपतनको यात्रा आरम्भ हुन्छ । जीवन बोझ र तनावको केन्द्र बन्दछ ।
स्वास्थ्य शब्दले दिने पहिलो अर्थ हामी हाम्रो शरीरको गुण, प्रकृति र धर्ममा रहनु भन्ने हुन्छ । हाम्रो शरीर हामी जहाँ छौँ, त्यहीँको माटो, पानी, हावा, चालचलन र रहनसहनले बनेको हुन्छ । हाम्रो भोजन, विश्राम, चिन्तन, श्रम आदिआदि सबैको एउटा हाम्रो आफ्नै मौलिक पद्धति छ । हाम्रो यही मौलिक पद्धतिलाई कायम राख्ने र आपूm पनि यही पद्धतिमा कायम रहुने व्यवस्थालाई हामीले ‘स्वास्थ्य’ शब्दको अर्थ भनेर बुझ्नुपर्ने हुन्छ ।
‘स्वास्थ्य’ र ‘धर्म’ शब्दले व्यक्त गर्ने मूल आशय एउटै देखिन्छ । धर्म शब्दको अर्थ कुनै पनि विषय वा वस्तुको पहिचान, गुण वा विशेषता भन्ने हुन्छ । स्वास्थ्य भनेको त्यही मौलिक विशषता, गुण वा पहिचान नगुमाउनुको नाम हो । यसरी हेर्दा, धर्म मान्नु भनेको नै स्वस्थ हुनु हो । आफ्ना गुण, विशेषता वा मूल्यमा कायम रहने व्यक्ति नै वास्तवमा स्वस्थ रहन्छ, सुखी र सन्तुष्ट रहन्छ ।
स्वस्थ हुनुको अर्थ धार्मिक हुनु पनि हो । धर्म मान्ने वा धर्मलाई जीवनमा आत्मसात् गर्ने व्यक्तिलाई धार्मिक भनिन्छ । पानीको धर्म शीतलता हो, खुर्सानीको धर्म पिरो हो । पानीले जुन दिन आफ्नो चिसोपन छोडिदिन्छ, त्यसदिन ऊ अधार्मिक हुन पुग्दछ । पिरोपन छोडेका दिन खुर्सानी पनि खुर्सानी रहँदैन । पिरोपन भइन्जेल खुर्सानी स्वस्थ पनि हुन्छ र धार्मिक पनि हुन्छ । पिरो धर्मलाई कायम राखेको हुनाले धार्मिक र त्यही पिरोपनमा कायम रहेका हुनाले स्वस्थ पनि ।
धर्म नमान्नेहरु सबै रोगी हुन्छन् । धर्म शब्दको अर्थलाई एउटा पूजापाठ र कर्मकाण्डको सङ्कीर्णताभित्र कैद गरेर राखेका छौँ हामीले । धर्म भनेको विशाल हुन्छ । आफ्नो पहिचानमा बस्न नसक्ने व्यक्ति के रोगी हुँदैन ? पानी माछाको पहिचान हो । उसको जीवन भन्नु नै पानी हो । यदि पानीबाट बाहिर निस्किएका दिन के माछो जीवित रहन सक्दछ ? अवश्य सक्दैन । हरेक मानिसको, देशको, समाजको र परिवेशको निश्चित धर्म हुन्छ । सबैको धर्म एउटै हुँदैन । पिरोपन खुर्सानीको मात्र धर्म हो । यो पिरो धर्म मान्छु भनेर पानी, आलु, टमाटर, पिँडालु आदिले भने भने के होला ? खुर्सानीको पिरोपनसँग पोइल गएका दिन आलु, टमाटर र पिँडालुको जीवन पनि निरर्थक हुन पुग्दछ ।
जसले आफ्नो मूल्य छोड्दछ, आफ्नो अस्तित्व छोड्दछ, त्यो व्यक्ति कहिल्यै प्रसन्न हुँदैन, कहिल्यै सन्तुलित र सुखी हुँदैन । यसैले, स्वस्थ शब्दले आफ्नो पन, पहिचान र परिचयमा स्थिर रहेर प्रसन्न रहने मानिस भन्ने बुझाउँछ । धर्म शब्दको पनि अर्थ यही नै हो । हाम्रा आफ्नै मूल्य छन्, केवल हाम्रालागि प्रकृतिले व्यवस्था गरेका । हाम्रा आफ्नै पहिचान छन्, सृष्टिको आदिकालदेखि नै उपलब्ध । हामी तिनै उपलब्धिहरुमा कायम रहनु भनेकै धार्मिक बन्नु हो । यसरी, धर्म र स्वास्थ्य समानार्थी हुन् भने स्वस्थ र धार्मिक समानार्थी हुन् ।
यस्तो होइन कि मान्छे मात्र स्वस्थ भए पुग्छ, अरु हुनु पर्दैन । यो सृष्टिका सबै धार्मिक र सबै स्वस्थ हुनुपर्दछ । देश पनि रोगी हुनुहुँदैन, अधार्मिक हुनुहुँदैन । देशको सदियौँदेखि चलिआएको जुन धर्म छ, त्यसलाई छोड्नु भनेको पनि देश अधार्मिक हुनु हो, रोगी हुनु हो र अस्वस्थ हुनु हो । देशमा जेजे छन्, जुनजुन मूल्यमा रहेर देश उभिएको छ, ती सबै मूल्यलाई भत्काउँदै जाने हो भने र बिगार्दै जाने हो भने देश पनि भत्कँदै जान्छ, बिग्रँदै जान्छ । यही हो देश अस्वस्थ हुनु भनेको ।
कुनै पनि मुलुक धर्म निरपेक्ष रहनै सक्दैन । के हामीले हिउँमा सेतो र चिसोपनको अपेक्षा गर्दैनौँ ? के हामीले कागतीमा अमिलोपनको अपेक्षा गर्दैनौँ ? के हामीले चिल्लो निरपेक्ष घिऊ स्वीकार्दछौँ ? के हामीले उज्यालो निरपेक्ष सूर्यको कल्पना गर्न सक्छौँ ? त्यस्तै कुनै पनि मान्छे स्वास्थ्य निरपेक्ष पनि हुन सक्दैन । हरेक व्यक्ति, समाज र राष्ट्र धर्मसापेक्ष हुन्छन्, स्वास्थ्य सापेक्ष हुन्छन् । हाम्रो देश नेपाललाई के हामीले सगरमाथा निरपेक्ष राष्ट्र घोषणा गर्न सक्छौँ ? के हामीले हाम्रो देशलाई लुम्बिनी निरपेक्ष राष्ट्र घोषणा गर्न सक्दछौँ ? के हामीले हाम्रो देशलाई बुद्ध, जनक, सीता र भृकुटी निरपेक्ष घोषणा गर्न सक्छौँ ? सक्दैनौँ भने हिन्दु निरपेक्ष घोषणा गर्ने साहस कसरी गरे हाम्रा नेताहरुले ? बुद्ध सापेक्ष हुन हुने, सीता, भृकुटी र जनक सापेक्ष हुन हुने तर तिनैलाई जन्माउने हिन्दु धर्मसापेक्ष हुन किन नहुने ? धर्म त हाम्रा स्वास्थ्य हो । त्यसैले, स्वास्थ्य निरपेक्ष हुन नसकिएजस्तै व्यक्ति समाज र देश पनि धर्मनिरपेक्ष कहिल्यै हुन सक्दैनन् ।
सगरमाथा जत्तिकै वा त्योभन्दा पनि पुरानो छ, हिन्दु धर्म । बुद्ध, जनक, सीता र भृकुटीभन्दा धेरै पुरानो छ, हाम्रो हिन्दु धर्म । आज हामी यही धर्मनिरपेक्ष भएका छौँ । हाम्रो देशको नसानसामा जुन धर्मको रगत बगेको छ, हाम्रो देशका अङ्गअङ्ग जुन धर्मको रगतले बनेका छन्, त्यही धर्मलाई छोडेर हामीले बिस्तारै राष्ट्र निरपेक्ष हुने तयारी गरिरहेका छौँ । यही नै हामी अस्वस्थ हुनु हो, रुग्ण हुनु हो । आपूm आपैmँमा नरहेर अन्यत्रै भाग्नु हो । आपूmमा नरहने बित्तिकै हामी रोगी हुनुपर्छ, दुःखी हुनुपर्छ भन्ने सत्यलाई खै हामीले कहिले हो आत्मसात् गर्ने ?
‘न स्वस्थ इति अस्वस्थ’ अर्थात् जो स्वयम्मा रहँदैन ऊ अस्वस्थ हो । स्वयम्मा नरहनुको अर्थ मान्छेको स्वभाव, धर्म, गुण, गरिमा र मूल्यबाट च्युत हुनु हो । मान्छे जन्मैले पवित्र हुन्छ, आनन्दित हुन्छ । हरेक व्यक्तिले जन्मदैमा शोक, पिर, चिन्ता, दुःख, रोग आदि एकै पटक बोकेर आएको हुँदैन । ऊ खाली जन्मिएको हुन्छ । पवित्र र निर्मल जन्मिएको हुन्छ । यद्यपि आजका बालबालिका अस्वस्थ र रुग्ण बाबुआमाका सन्तानका रूपमा गर्भबाट नै विभिन्न रोगहरू बोकेर जन्मन थालेका छन्, तापनि तुलनात्मकरूपमा केटाकेटीहरू वयस्क र प्रौढभन्दा स्वस्थ, पवित्र र निर्मल हुन्छन् ।
संसारमा जन्मिएपछि विस्तारै मान्छे भरिन थाल्दछ, अर्थात् उसमा सामाजिक मान्यता, संस्कार, खानपान अनि रहनसहनको शैलीको प्रभाव पर्न थाल्दछ । त्यसपछि ऊ अस्वस्थ रहने बानीको सुरुआत हुन्छ । मान्छे आपूmमा नरहनुका कारण धेरै छन् । सबैभन्दा मुख्य कारण उसले आपूm सुहाउँदो व्यवहार नगर्नु हो । आपूm हुन र आफैँमा रहन त आफ्नो शरीर, मन, र मस्तिष्कले सक्ने कामहरू मात्र गर्नुपर्दछ । मान्छेको शरीर जन्मजात शाकाहारी शरीर हो । हाम्रो पाचनसंयन्त्र गरिष्ठ र ज्यादा बोसोयुक्त पदार्थलाई भोजनका रूपमा स्वीकार्न नसक्ने खालको छ । सागपात र सुपाच्य भोजन मान्छेको शरीरसंयन्त्रका आवश्यकता हुन् । शरीरको यही संरचनालाई ध्यानमा राखेर हामीले भोजन ग्रहण गर्ने बानीको विकास ग¥यौँ भने हामी स्वयम्मा रहन सक्षम हुन्छौँ अर्थात् स्वस्थ रहन्छौँ ।
हामी जन्मजात पवित्र छौँ । हामी परमपिता परमात्माका वंशज हौँ । हामीभित्र पनि ईश्वरत्व छ । हामीभित्रको मनरूपी पवित्र आसनमा ईश्वर मुस्कुराई रहेका हुन्छन् । यही ईश्वरीय पवित्रताले नै हामी आनन्दित र प्रसन्न रहन सक्दछौँ । जुन दिन हामीले यो ईश्वरीय पवित्रता गुमाउँदछौँ, त्यतिखेर पनि हामी अस्वस्थ बन्दछौँ । हामी स्वस्थ रहनका लागि पनि यो शारीरिक र मानसिक पवित्रता आवश्यक छ ।
‘स्वास्थ नै धन हो’ भनेर त्यसै भनिएको होइन । आफ्नो पनमा रहने बानी नै धन हो । आफ्नो पनबाट गिर्नु, आफ्नो अनुशासनबाट भाग्नु र अनियमिततामा जिउन प्रयत्न गर्नु अस्वस्थ हुनु हो । स्वास्थ्य भनेको मनुष्य आफ्नो वास्तविक शारीरिक र मानसिक स्वभावमा रहने बानीको नाम हो ।
रुग्णताको सबैभन्दा पहिलो कारण आफ्नो शक्ति, स्वभाव, क्षमता, शैली र परिवेशबाट टाढा भाग्नु हो । आज अधिकांश मानिस रोगी छ र उसको रोगको मूल कारण पनि यही नै हो । हाम्रो शरीर र मस्तिष्कको आफ्नै अनुशासन छ । जहिलेसम्म हामी शरीर र मनको यो अनुशासनलाई जीवनमा अवलम्बन गरिहने छौँ, त्यस अवस्थासम्म हामी स्वस्थ रहने छौँ र हाम्रो जीवन सुखमय रहने छ । जुन दिनदेखि हामी शारीरिक र मानसिक अनुशासनलाई उपेक्षा गरी अराजक जीवनशैली अपनाउन पुग्दछौँ, त्यस दिनदेखि हाम्रो अस्वस्थताको यात्रा आरम्भ हुन्छ ।
स्वास्थ नै सम्पूर्ण खुसी र आनन्दको एक मात्र स्रोत भएको कुरा हामीले थाहा पाइसक्यौँ । किनभने जो आपूmमा रहन्छ, आफ्नो पनमा रहन्छ, उसले नै सुख पाउँछ । तर, आज यस्तो हुन सकेको देखिँदैन । हाम्रो व्यक्तिगत एवम् सामाजिक दुबै जीवन अस्वस्थ छन् । हाम्रो देश पनि अस्वस्थ छ, किनभने यस देशका राजनैतिक तहमा क्रियाशील कुनै पनि नेताले यहाँको माटो, हावा, पानी, वनजङ्गल र खोलानालालाई ध्यान दिएनन् । यहीँको मौलिकतामा आधारित दर्शन, मूल्य र राजनैतिक संस्कारभन्दा उत्तर र दक्षिणतिरबाट आयातित राजनैतिक संस्कार र व्यहारमा जोड दिइएको छ ।
समाज पनि रोगी छ । समाजमा पनि आफ्नै स्थानीयता, स्रोतसाधन एवम् सीप र शैलीलाई भन्दा आयातित सीप, शैली र स्रोतलाई महत्त्व दिने प्रचलनले व्यापकता पाएको छ । अनि हरेक व्यक्ति आफ्नो शारीरिक क्षमता, स्वभाव, प्रकृतिलाई बिर्सिएर अर्काको क्षमता, स्वभाव र प्रकृतिलाई पछ्याइरहेको छ ।
हाम्रो जीवनशैली हाम्रै माटो सुँहाउँदो हुनुपथ्र्यो तर यसो हुन सकेन । हामीले आयातित जीवनशैली अपनाउन सुरु ग¥यौँ । यही आयातित जीवनशैलीले आज हामीलाई धेरै रोगहरू दिएर गएका छन् ।
क्यान्सर, एड्स, बर्ड फ्लु, म्यानेन्जाइटिस लगायतका रोगहरू आयातित जीवनशैलका परिणाम हुन् । नेपाली मौलिकतामा बाँच्न सकेका भए हामी कोही पनि यी रोगहरूका सिकार हुने थिएनौँ । हाम्रो जीवनशैलीले भन्छ— दैनिक स्नान गर । मलमूत्रको नियमित विर्सनका लागि सुपाच्य र सात्विक भोजनमा जोड देऊ, शरीर र मस्तिष्कमा उत्तेजना बढाउने पिरो, अमिलो, अधिक मसलादार, मादक पदार्थ सेवन नगर । चुरोट, बिँडी, सुर्ती, रक्सी भुलेर पनि ग्रहण नगर । पानी प्रशस्त पिउने गर । नियमित योग, ध्यान, आसन, प्राणायाममा समय खर्च गर । ईश्वरप्रति आस्थवान् बन र प्रतिपल सबै प्रकारका सांसारिक भय, त्रास र तनावबाट मुक्त रहने प्रयास गर ।
आज मान्छेमा जताततै अपवित्रता नै अपवित्रता देखिन्छ । देशको राजनैतिक अवस्थादेखि लिएर व्यक्तिको व्यक्तिगत अवस्थासम्म जताततै फोहर नै फोहरको डङ्गुर छ । सहरबजारमा पानीका ढल जताततै फुटेर बिजोग छ । यत्रतत्र फालिएका फोहरको सगरमाथा जहाँतहीँ देख्न सकिन्छ । हेर्दा लाग्दछ— हामीमा फोहरलाई त्याग्ने भन्दा पनि सञ्चित गर्ने बानीको बिस्तारै विकास हुँदै छ । हरेक व्यक्ति आज कब्जियतको रोगी छ । सामान्यतया एउटा व्यक्तिले बिहान र बेलुकी गरी दिनको दुई पटक मल त्याग गर्नु उपयुक्त मानिन्छ । त्यति हुन नसके पनि दैनिक एकपटक त अनिवार्य रूपमा शौचालय गएर मल विसर्जन गर्नै पर्ने हुन्छ । तर आज दुई दिन, तिन दिनमा एक पटक अथवा साप्ताहिक रूपमा मल विसर्जन गर्ने संस्कृति विकसित हुँदै छ ।
हरेक बिहानीले हामीलाई त्यागका लागि प्रेरित गरिरहेको हुन्छ । तर, हामी बिहानीको सन्देशलाई बिर्सिएर सङ्ग्रह गर्नतिर लाग्दछौँ । हरेक बिहानले हामीलाई मलमूत्र त्याग गर, शरीरको मैलो फाल, खाली होऊ र पवित्र बन भनिरेको हुन्छ । तर, हामी ओछ्यानमै चिया दन्काइदिन्छौँ । उस्तै प¥यो भने उठ्दाउठ्दै मसलादार परिकार रहेछ भने केको नुहाइधुवाइ ? मुखै नधोई बुत्याइदिन्छौँ ।
हामी कहिल्यै त्यागका लागि तयार हुँदैनौँ । हामी हरेक दिन सडेर बाँकी रहेको मल त त्याग गर्दैनौँ भने अरु मानवीय त्यागको कुरै के गर्नु छ र ! हाम्रो घरको शौचालय हरेक दिन मलको प्रतीक्षा गरेर बसेको हुन्छ । हामी सित्तैमा दिनुपर्छ झैँ गरेर बरु आफ्नै पेटमा राख्न तयार हुन्छौँ, शौचालयमा मल त्याग गर्दैनौँ ।
सङ्ग्रह आजको सभ्यता बनेको छ । यो युरोपेली सभ्यता हो । हाम्रो मौलिक सभ्यता त त्यागको सभ्यता हो । हरेक दिन मल त्याग गर्ने बानीले हामीभित्र अन्य सांसारिक विषय पनि त्याग गर्ने, सहयोग गर्ने र दान दिने बानीको विकास गर्दछ । दैनिक सरसफाइ र शौचस्नान आदिको जुन संस्कृति छ, यो हामीलाई निर्मल र पवित्र राख्ने संस्कृति हो । कुनै पनि कुरा सधैँ राख्नका लागि होइन, त्याग गर्नका लागि हो । हामीले सङ्ग्रह गर्ने बानी गर्दागर्दा यस्ता भयौँ कि अब दिसापिसाब पनि त्याग गर्न हामीलाई गा¥हो हुँदै गएको छ । हामीले आपूmभित्र अत्यन्त डरलाग्दो, जङ्गली एवम् असभ्य संस्कतिको विकास गर्दै छौँ ।
हामीले ठूलो घर, ठूलो गाडी, ठूलो पद, धेरै जमिनको मात्रै चिन्तन गर्दछौँ । हाम्रो त्यही चिन्तनले नजानिँदो रूपमा हाम्रो भुँडी पनि ठूलो बनाएको छ । आज नेतादेृखि लिएर जनतासम्म धेरै नेपालीको भँुडी मोटो र ठूलो देखिन्छ । सङ्ग्रहको हाम्रो संस्कृति भुँडीसम्म आइपुगेको छ । फोहरलाई आफैँभित्र समेटेर ‘ठूलो’ बन्ने सभ्यताको दौडमा हामी नराम्ररी फँसेका छौँ ।
अनावश्यक मोटो शरीर र मोटो पेट अस्वस्थ मानिसको लक्षण हो । समाजका निरक्षर, अल्पशिक्षित र सामान्य मान्छेले शरीरलाई व्यवस्थित गर्न नसक्नु अलग कुरा हो, तर प्राध्यापक, शिक्षक, वकिल, पत्रकार, नेता, व्यापारी, कर्मचारी, प्रशासकलगायतले समेत स्वास्थ्यको ख्याल नगरी शरीरमा अनावश्यक बोसो लिएर हिँड्नु निश्चय नै सोचनीय कुरा हो ।
हामीले भुँडीलाई ‘पर्सनालिटिको पोको’ अर्थात् ‘व्यक्तित्वको परिचय’ मानेका छौँ । ठूलो भुँडी हुनेको व्यक्तित्व पनि ठूलो र सानो भुँडी हुनेको व्यक्तित्व पनि सानो हुन्छ भन्नु त निरक्षरताको परिणाम हो । यदि हामी पनि यही सोँच्दछौँ भने हामी पढेर भएका निरक्षर हौँ, बुझेर पनि नबुझेका अबुझ हौँ, पढेर पनि नपढेका अपठित हौँ ।
शरीरमा मल सङ्ग्रह गरेर ठूलो भुँडी बनाउँदैमा कोही सभ्य, शिक्षित र व्यक्तित्वशाली बन्दैन । हामीले सभ्य, शिक्षित र व्यक्तित्वशाली बन्न त विचारमा पवित्रता ल्याउनु जरुरी छ, त्यागको संस्कृति विकास गर्नु जरुरी छ । नियमित शौच, व्यायाम, प्राकृतिक आहारविहारमा जोड दिनु आवश्यक छ । सबैभन्दा ठूलो कुरा स्वयम्माथिको नियन्त्रण अनिवार्य छ ।
आज हामीलाई हाम्रो नाथे जिब्रोले पङ्गु बनाइदिएको छ । हामी जीवनका लागि भन्दा जिब्रोका लागि बाँचेका छौँ । जिब्रोकै लागि बाँँच्दा आज अनावश्यक मल बोकेर पेटले सास्ती खेप्नु परेको छ । हामीले पढेर, हाकिम भएर, ठूलो मान्छ भएर पनि आज जिब्रो माथि नियन्त्रण गर्न सकिरहेका छैनौँ । स्वयम्को इन्द्रियका दास भएर पनि हामी अरुमाथि मालिक बन्ने सपना देख्न भने छोड्दैनौँ । हाम्रो जिब्रो अनावश्यक नुन, खुर्सानी, मसला, अमिलो, पिरो, अजिनो मोटो लगायतका पदार्थको प्रयोगका कारण संवेदनहीन भएको छ । दैनिक जसो मासुको आहारले हामी तरकारीको स्वाद थाहा नपाउने भएका छौँ ।
हाम्रो पेटको संवेदना पनि मर्दै गएको छ । चुरोट, रक्सी, सुर्तीको सेवनले हाम्रा इन्द्रियहरू क्षतविक्षत भएका छन् । खै, हामीले कहाँनेर जीवनलाई मूल्य दियौँ ? हामी अरुका लागि राम्रो गर्न त असफल भयौँ, तर, आफ्ना लागि पनि किन सोच्न सक्दैनौँ ? प्रकृतिले स्वस्थ, पवित्र, र निर्मल दिएको शरीरलाई यति कुरुप, रुग्ण र विषाक्त बनाएर हामीले हाम्रो आफ्नै जीवनप्रति खेलवाड गरिरेका छौँ, किन ? पकृतिले कति सदाशयताका साथ हामीलाई यति महत्त्वपूर्ण जीवन दिएको छ । यदि हामी ईश्वर एवम् प्रकृतिको यो सदाशयतालाई अवमूल्यन् गरिरह्यौँ भने हामीले यसको चर्को मूल्य यो जन्ममा मात्र होइन, जन्म जन्मान्तरसम्म चुकाइरहनु पर्ने छ ।
हाम्रो जीवन भनेको पवित्रता, अनुशासन, त्याग र आनन्दको प्रतिविम्ब हो । मान्छे यिनै गुणमा रहनु नै स्वस्थ रहनु हो । त्यसैले, हामीले यति महत्त्वपूर्ण जीवनलाई स्वस्थ भएर सार्थक बनाउने प्रयास गरौँ ।