«

»

निरन्तर सुनुवाईको प्रक्रियाबाट पहिलो मुद्धा फैसला

सावित्री सापकोटा
भरतपुर, १५असोज
निरन्तर सुनुवाईको प्रक्रिया अपनाएर चितवन जिल्ला अदालतले बुधबार पहिलो पटक कर्तब्य ज्यान मुद्धाको फैसला गरेको छ । सर्वसुलभ र छिटो छरितो तरिकाले न्याय सम्पादन गर्न उक्त प्रक्रिया अपनाएर न्यायाधिसले मुद्धा फैसला गर्न पाउने नियम रहेको छ ।
गत भदौ ७ गते पिठुवा गाविस–७ को कुलोमा बच्चा मृत अवस्थामा भेटिएको मुद्धामा निरन्तर सुनुवाईको प्रक्रिया अपनाएर चितवन जिल्ला अदालतका न्यायाधिस बिनोदमोहन आचार्यको इजलासले बुधबार मुद्धाको किनारा लगाएको हो ।
निरन्तर सुनुवाईको प्रक्रिया अनुसार आरोपितलाई ३५ दिनसम्म हिरासतमा राखेर चितवन जिल्ला अदालतले फैसला गरेको यो नै पहिलो मुद्धा भएको अदालतका डिठ्ठा बासुदेब भट्टराईले बताए ।
उक्त मुद्धामा प्रतिवादी रहेकी पिठुवा गाविस–८ की १८ बर्षीया सीता लामिछाने र उनका प्रेमी भनिएका धादिङ जिल्ला घर भएका २१ बर्षीय राजाराम तिवारी हिरासतबाट मुक्त भएका छन् ।
प्रहरीले २५ दिनको अनुसन्धान पुरा गरी सरकारी वकिलकोमा बुझाएपछि पुनः अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न भनि दश दिनको म्याद थपिएको थियो । प्रहरीले अनुसन्धान पुरा गरी अदालतमा पेश गरेपछि बुधबार ३६ औं दिनमा उक्त मुद्धाको फैसला भएको हो ।
सीता सात सय पचास रुपैयाँ धरौटीमा छुटिन् भने राजाराम तिवारीले भने पूर्ण सफाई पाए । सीतालाई ४५ दिन कैद र पाँच सय रुपैयाँ जरिवानाको फैसला भएको थियो । जसमा ४५ दिन कैदमा ३५ दिन हिरासतमा रहेको दिनमा कट्टा भएको र बाँकी १० दिनको प्रति दिनको २५ रुपैयाँका दरले दुई सय पचास रुपैयाँ कैद बापतको जरिवाना र पाँच सय जरिवाना गरी जम्मा ७ सय ५० रुपैयाँ जरिवानामा सीता हिरासतबाट रिहा भएकी हुन् ।
प्रहरीको अनुसन्धान र राजारामको बयानबाट उक्त घटनामा केटाकोे मत नरहेको भन्ने पुष्टि भएकोले राजारामले पूर्ण सफाई पाएका उनका कानुनी अधिवक्ता गंगा बहादुर कोइरालाले बताए । उक्त घटनाका आरोपित सीतालाई भदौ ७ गते र राजारामलाई भदौ १० गते प्रहरीले गिरफ्तार गरेको थियो ।