स्थायी कमिटीको निर्णय विरुद्ध उम्मेदवारी दिन्छु ः जेपी भेटवाल
सञ्चारपत्र सम्वाददाता
भरतपुर, १५ असोज
आगामी मंसिर ४ का लागि घोषणा गरिएको संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा (एमाले)ले प्रत्यक्ष तर्फ चयन गरेका उम्मेदवारमध्ये चितवनको क्षेत्र नं. १ मा विवाद भएको छ । एमाले स्थायी कमिटीको बैठकले क्षेत्र नं. १ मा पार्टी पोलिटब्युरो सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै एमालेभित्र विवाद चुलिएको हो ।
जनभावना र कार्यकर्ताको भावनालाई बेवास्ता गरेर आफुलाई उम्मेदवार नबनाइएको भन्दै एमाले चितवनका पुराना नेता जागृत प्रसाद भेटवालले क्षेत्र नं. १ बाट मंगलबार साँझ उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘एमाले स्थायी कमिटीको निर्णय विरुद्ध मेरो उम्मेदवारी हो’ भेटवालले भने ।
संविधानसभाको दोस्रो निर्वाचनका लागि एमाले केन्द्रीय लेखा आयोगका सदस्य समेत रहेका भेटवाल चितवनको क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि आकांक्षी थिए । क्षेत्रीय कमिटीले भेटवालसहित पाण्डे र पूर्व सभासद् सीता पौडेललाई पनि प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको थियो ।
एमाले स्थायी कमिटीको वैठकमा चितवन क्षेत्र नं. १ को उम्मेदवारका लागि पछिल्लो समय पाण्डे र भेटवालको सम्बन्धमा बराबरी दवाव परेपछि कसलाई उम्मेदवार बनाउने भन्ने सम्बन्धमा एमाले नेतृत्व समेत निर्णयमा पुग्न सकेको थिएन । क्षेत्र नं. १ कै कारण चितवनका अरु क्षेत्रमा समेत असर पर्ने भन्दै चितवन जिल्ला नेतृत्व पनि सकेसम्म विवाद मिलाएर जाने तयारीमा थियो ।
भेटवालको पक्षमा एमालेको १ नं. क्षेत्रीय समितिका अधिकांश सदस्य देखिएका छन् । ४८ सदस्यीय क्षेत्रीय समितिमा ४१ जनाले भेटवाललाई समर्थन गर्दै एमालेको आधिकारिक उम्मेदवार भेटवाल नै भएको बताएका छन् ।
मंगलबार एमाले क्षेत्र नं. १ ले पत्रकार सम्मेलन आयोजना गरी आधिकारिक उम्मेदवार भेटवाल भएको बताएको हो । पत्रकार सम्मेलनमा क्षेत्रीय अध्यक्ष भीम बहादुर पुनले उनलाई आधिकारिक उम्मेदवार भएको घोषणा गरे ।
पत्रकार सम्मेलनमा भेटवालले क्षेत्र, जिल्ला र अञ्चलले आफूलाई समर्थन गरेको अवस्थामा पनि केन्द्रीय समितिले जन भावनाको बेवास्ता गरेको भन्दै एमालेको आधिकारिक उम्मेदवार आफु नै भएको दावी गरे ।
पत्रकार सम्मेलनमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरु विजय सुवेदी, दावा लामासहित जिल्ला र क्षेत्रिय कमिटीका ११ जनाले भेटवालको उम्मेदवारीमा समर्थन जनाउँदै हस्ताक्षर गरेको प्रेस विज्ञप्ति जारी गरिएको थियो । पत्रकार सम्मेलनमा जिल्लामा रहेका भ्रातृ संगठनका कार्यकर्ताको पनि उल्लेख्य सहभागिता थियो ।
आफुले २०५६ सालको निर्वाचन मात्रै हारेको प्रसंग उल्लेख गदै भेटवालले १५ वर्षपछि कार्यकर्ताको माग अनुसार आफु उम्मेदवार बनेको बताए ।
स्थायी कमिटीले निर्णय सच्याएर बुधबारभित्रमा भेटवाललाई एमालेको आधिकारिक उम्मेदवार घोषणा नगरे चितवनको क्षेत्र नम्बर १, २ र ३ मा पनि ‘बागी’ उम्मेदवारी दिने एमाले चितवनका बिभिन्न नेताले चेतावनी दिएका छन् । एमालेले भेटवाललाई उम्मेदवार नबनाए क्षेत्र नं. २ बाट यादव पाठक र क्षेत्र नं. ३ बाट रामबहादुर रानाले समेत उम्मेदवारी दिने घोषणा गरे ।
क्षेत्र नंं. १ का क्षेत्रीय इञ्चार्ज इमानसिंह लामा र क्षेत्रीय अध्यक्ष भिमबहादुर पुनले पनि भेटवाललाई समर्थन गरेका छन् । पूर्व क्षेत्रीय अध्यक्ष गोविन्द कँडेल, जिल्ला कमिटी सदस्यहरु कमल न्यौपाने, रामप्रसाद न्यौपाने र श्यामलाल बिकका साथै युवा संघका केन्द्रीय लेखा आयोग अध्यक्ष कमलराज पाठक र जनजाती महासंघका जिल्ला अध्यक्ष रामबहादुर रानामगर पनि भेटवालको पक्षमा उभिएका छन् ।
एमाले स्थायी कमिटीले सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउन निर्णय गर्नुअघि मंगलबार विहानैदेखि एमाले क्षेत्र नं. १ का पदाधिकारी, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरु पार्टी कार्यालय पुगि भेटवालको पक्षमा माहौल बनाउन पत्रकार सम्मेलन गरेका थिए । सयौंको संख्यामा आएका उनीहरुले भेटवाललाई उम्मेदवार नबनाए ‘जे पनि हुनसक्ने’ भन्दै जिल्ला नेतृत्वलाई सचेत गराएका थिए ।
क्षेत्रीय अध्यक्ष भीमबहादुर पुनले ‘स्थायी कमिटीले गलत निर्णय गरेको’ बताए । सुरेन्द्र पाण्डेको उम्मेदवारी कायम रहेमा पार्टीले निर्वाचन हार्ने समेत उनले ठोकुवा गरे । ‘कार्यकर्ताको भावना विपरित जाने र उनीहरुले भनेको नमान्ने प्रकृया कायम राख्ने हो भने स्वभावैले जनता विद्रोहमा उत्रने’ उनको भनाई थियो ।
क्षेत्र नं. १ मा देखिएको विवादबारे एमालेको जिल्ला नेतृत्व समेत गम्भीर बनेको छ । ‘क्षेत्रीय समितिले गरेको निर्णयलाई जिल्ला तहबाट केन्द्रमा पठाउने काम भएको छ । भोलि (बुधबार) सम्ममा केन्द्रबाट विवादका विषय समाधान हुन्छन्’ एमाले जिल्ला अध्यक्ष जगन्नाथ थपलियाले भने ।
जिल्ला उपाध्यक्ष एवम् एमालेको तर्फबाट क्षेत्र नं. ३ का उम्मेदवार कृष्णभक्त पोखरेलले पार्टीभित्र देखिएको विवादले आफूलाई चिन्तित बनाएको बताए । ‘विवादको समाधान पक्कै हुने छ’ पोखरेलले भने ।