एक सय एक्काइसको उम्मेदवारी मनोनयनपत्र दर्ता
आनन्द पोखरेल
भरतपुर, १७ असोज
मंसिर ४ मा हुने संविधान सभा निर्वाचनका लागि चितवनबाट पाँच सभासद्का लागि एक सय २१ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् ।
काँग्रेस, राप्रपा, एमाले र एमाओवादीका केन्द्रिय स्तरका पाँच नेता सहित पाँच निर्वाचन क्षेत्रमा एक सय २१ जनाको उम्मेदवारी मनोनयनपत्र दर्ता भएको हो । उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने मध्ये १४ जना स्वतन्त्र उम्मेदवार छन् ।
नेपाली काँग्रेसका सभापति सुशील कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री विक्रम पाण्डे, नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, एकीकृत नेकपा माओवादीका केन्द्रीय स्तरका नेताहरु अमिक शेरचन र नारायण दाहालले चितवनबाट चुनावी प्रतिष्पर्धाका लागि उम्मेदवारी दर्ता गरेका छन् । राप्रपाका महामन्त्री बिक्रम पाण्डे र एमाओवादी नेता अमिक शेरचनले क्षेत्र नम्वर–५ बाट प्रतिष्पर्धा गर्नेभएका छन् ।
कांग्रेस सभापति सुशील कोइराला चितवन क्षेत्र नम्वर–४ बाट र एमाले पोलिटव्यूरो सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे क्षेत्र नम्वर–१ बाट चुनावी मैदानमा उत्रिएका छन् । चितवन काँग्रेसका पूर्व सभापति विकास कोइरालालाई पार्टीले टिकट नदिएपछि ‘बागी’ उम्मेदवारी दर्ता गरेका छन् ।
नेकपा एमालेको क्षेत्र नम्वर–१ मा बुधबारसम्म उम्मेदवार चयनको विवाद देखिएको भएपनि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने समयमा विवाद मिलाएर बाजागाजा सहित मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा आएको थियो ।
एमाओवादीले चितवनको क्षेत्र नम्वर–१ बाट प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारको रुपमा संगीता भट्टराईको नाम सार्वजनिक गरेको भएपनि पार्टीको आन्तरिक विषय भन्दै मनोनयन दर्ता गर्ने समयमा एकाएक नाम परिवर्तन गरेको थियो । एमाओवादीले संगीता भट्टराईको ठाउँमा यमबहादुर परियारलाई उम्मेदवार बनाएको छ । चितवनमा प्रत्यक्षमा एमाओवादीका महिला उम्मेदवार छैनन् ।
आसन्न संविधान सभा चुनावको लागि चितवनको पाँच वटै क्षेत्रमा १४ वटा राजनीतिक दलले उम्मेदवार उठाएका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्वर–१ मा २२ वटा दल, क्षेत्र नम्वर–२ मा २५ वटा दल, क्षेत्र नम्वर–३ मा २१ वटा दल, क्षेत्र नम्वर–४ मा २१ वटा दलले र क्षेत्र नम्वर–५ मा १९ वटा दलले उम्मेदवारको मनोनयनपत्र दर्ता गराएका छन् ।
संविधान सभा चुनावको लागि बिहीबार भएको उम्मेद्वार मनोनयनपत्र दर्ता कार्यक्रम चितवनमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । उम्मेदवार मनोनयनपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको चितवनका मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले बताए ।
निर्वाचन अधिकृतको कार्यालय परिसरमा सशस्त्र प्रहरी नायव उपरीक्षक दर्शन गिरीको कमाण्डमा ७० जना सशस्त्र प्रहरी र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदनजित महराको नेतृत्वमा ४० जना नेपाल प्रहरी परिचालन गरिएको थियो ।
‘दलका नेता तथा कार्यकर्ताहरु भद्र र शालिन रुपमा आउनु भएकोले शान्ति सुरक्षा कायम गर्न हामीलाई अप्ठ्यारो परेन’ सशस्त्र प्रहरी नायव उपरीक्षक गिरीले भने । ठूला दलको सन्दर्भमा एउटा दलका नेता तथा कार्यकर्ता मनोनयनपत्र दर्ता गरेर फर्किने अवस्थामा अर्को दलका नेता तथा कार्यकर्ता उम्मेदवार मनोनयनपत्र दर्ता गर्न आउने वातावरण मिलाइएकोेले पनि वातावरण सहज बनेको गिरीले बताए ।
संविधान सभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि उम्मेदवार मनोनयनपत्र दर्ता गर्न आएका दलहरु मध्ये निर्वाचन अधिकृतको कार्यालयमा सबै भन्दा पहिला जनजागरण पार्टी, दोस्रोमा नेपाल मजदुर किसान पार्टी र तेस्रोमा राष्ट्रिय शिवसेना पार्टी निर्वाचन अधिकृतको कार्यालयमा आएका थिए ।
साना राजनीतिक दलका उम्मेदवारहरु सामान्य रुपमा निर्वाचन अधिकृतको कार्यालयमा आएका भएपनि नेकपा एमाले, नेपाली काँग्रेस, एनेकपा एमाओवादी, राप्रपा बाजागाजा तथा झाँकी सहित त्यहाँ पुगेका थिए । निर्वाचन मनोनयनपत्र दर्ता गराउन जाँदा दलका ¥यालीमा युवाहरुको उपस्थिति उल्लेख्य रहेको थियो ।
यसैबीच, निर्वाचन कार्यालयका अनुसार आज १८ गते शुक्रबार उम्मेदवारहरुको दर्ता सूची प्रकाशन, १९ गते शनिबार उम्मेदवारहरुको बिरोधमा उजुरी दिने, २२ गते उम्मेदवारी फिर्ता लिने, २३ गते अन्तिम नामावली प्रकाशित गर्ने र २४ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने कार्यक्रम छ ।