मोहन बस्याल
कसरा, १८ असोज
चितवन राष्ट्रिय निकुञ्जले १२ वटा गैंडाको खाग चोरी तस्करी गरेको अभियोग लागेका बुद्धिबहादुर चेपाङ सहित १४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौं २७ गते देखि असोज १५ गते भित्र पक्राउ परेका उनीहरुलाई निकुञ्जले शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
चितवनको खैरहनी–४ बस्ने ३३ वर्षिय बुद्धिबहादुर चेपाङ बिरुद्ध गैंडा मारी खाग चोरी तस्करीमा संलग्न भएको सम्बन्धी नौ वटा मुद्धा रहेकोमा तीन वटा फैसला भएको र बाँकी छ वटा फैसला हुन बाँकी रहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए ।
चेपाङ बिरुद्धका यस अघि भएका फैसलाले १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गरिसकेको पनि पौडेलले जानकारी दिए । २०६० सालमा गैंडा मारी खाग चोरी तस्करी गरेको अभियोगमा पक्राउ परेका चेपाङलाई चितवन राष्ट्रिय निकुञ्जले १५ वर्षको कैद सजायँको फैसला गरेपनि पुनरावेदन अदालत हेटौंडाले पाँच वर्षमा झारेको थियो ।
गणतन्त्र घोषणा भएपछि असल चाल चलन रहेको भन्दै उनलाई तीन वर्ष पछि नेपाल सरकारले कारागार मुक्त गरेको थियो । २०६३ सालमा कारागार मुक्त भएका चेपाङले २०६४ सालदेखि २०६७ साल सम्ममा १२ बटा गैंडाको खाग काठमाडौँ लगी बिक्री गरेको अनुसन्धानको क्रममा खुलेको सहायक संरक्षण अधिकृत पौडेलले जानकारी दिए ।
१२ वटा खाग मध्ये नौ वटा नोरसाङ लामा र तीन वटा दिधी लामालाई बिक्री गरेको र उनीहरुले तिब्बती बजारमा बिक्री गरेको अनुसन्धानमा खुलेको पौडेलले बताए । काठमाडौँ–२ जोरपाटीका ६६ वर्षिय नोरसाङ लामा, गोरखा सामागाउँ–३ घरभई काठमाडौँ बौद्ध बस्ने ५५ वर्षिय दिधी लामा पनि पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सहितको टोलीले सञ्चालन गरेको अप्रेसन युनिकर्निसको क्रममा गएको भदौ २८ गते पोखरा क्षेत्रबाट मोष्ट वाण्टेडको सूचीमा रहेका चेपाङ पक्राउ परेपछि अनुसन्धानको क्रममा थप १३ जना अभियुक्तहरु पक्राउ परेका पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पक्राउ परेकाहरुमा भारतबाट हतियार खरिद गरी ल्याउने देखि हात हतियार राख्ने, योजना बनाउने, गोली हान्ने, चितवनबाट काठमाडौँ लैजाने तथा काठमाडौँबाट अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेको गरी चार तहका रहेका जानकारी दिइएको छ । उनीहरुको साथबाट बन्दुक एक थान, भारतीय राइफल एक थान र चार थान गोली बरामद गरिएको निकुञ्जका सूचना अधिकारी पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार पक्राउ पर्नेहरुमा मोस्ट वान्टेड सूचीमा रहेका चितवनको खैरहनी–४ बस्ने ३३ वर्षिय बुद्धिबहादुर चेपाङ, काठमाडौं–२ जोरपाटीका ६६ वर्षिय नोरसाङ लामा, गोरखा सामागाउँ–३ घरभई काठमाडौं बौद्ध बस्ने ५५ वर्षिय दिधी लामा, चितवनको भण्डारा–६ का २८ वर्षिय बिरबहादुर चेपाङ, सोही स्थानका ३२ वर्षिय डिल्लीबहादुर चेपाङ, २५ वर्षिय दामु चेपाङ, कोराक–८ का २७ वर्षिय राजु चेपाङ, सोही स्थानका २२ वर्षिय रमेश चेपाङ, ३४ वर्षिय राम कुमार चेपाङ, चितवनको मेघौली– ३ का २६ वर्षिय दुर्गा कुमाल, मेघौली– ४का ३४ वर्षिय दधिराम दराई, गोरखा सामागाउँ घरभई काठमाडौँको स्वयम्भू बस्ने ५० वर्षिय नुर्पु छेदेन लामा, गोरखा गाउँपरोक घरभई काठमाडौँ बस्ने ३८ वर्षिय हिटिन लामा र पर्सा जिल्ला मधुवन मथोल–४ का ४१ वर्षिय गोपालहजार दुसाद रहेका छन् । दुसादले भारतबाट बन्दुक ल्याई सो समूहलाई बिक्री गरेको निकुञ्जले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुले तहगत रुपमा फरक फरक अपराध गरेको देखिएकोले अनुसन्धान पुरा भएपछि उनीहरुले गरेको कसुर अनुसारको फरक फरक अभियोग पत्र दर्ता हुने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बिष्णु थपलियाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका मध्ये केही व्यक्ति गैंडा मार्ने योजना बनाईरहेको अवस्थामा फेला परेकाले उनीहरु र यसअघि गैंडा मारी खागको तस्करी गरेको अभियोगमा पक्राउ परेकाहरु बिरुद्ध फरक फरक मुद्धा दर्ता गरिने छ ।
पत्रकार सम्मेलनमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले यो कारवाही दुई वर्ष अघि सञ्चालन गरिएको अक्टुबर अप्रेसन पछिको ठूलो कारवाही र सफलता भएको बताए । निकुञ्जसँगै सुरक्षा संयन्त्रका बिभिन्न निकाय बिचको समन्वयमा अपराध नियन्त्रण गर्न जिल्ला देखि केन्द्रिय स्तरसम्म अपराध नियन्त्रण इकाई गठन गरिएपछि बन्यजन्तु चोरी तस्करीमा संलग्न ठूला अपराधी पक्राउ परेको जानकारी दिंदै कुँवरले आगामी दिनमा गैंडा मारेका अपराधीलाई पक्राउ गर्ने भन्दा मार्नै नदिने तर्फ बढी ध्यान दिईने बताए ।
पत्रकार सम्मेलनमा नेपाल प्रहरीको केन्द्रिय अपराध अनुसन्धान ब्युरोका निर्देशक प्रकाश अर्यालले निरन्तरको प्रयासले यो अप्रेसन सफल भएको बताए । अपराधी पक्राउ गरेर कारवाही गर्ने काम प्रहरीको तर्फबाट भैरहेको भएपनि आपराधिक मनोबृति हटाउन सिङ्गो समाज लाग्नुपर्नेमा उनले जोड दिए ।
पत्रकार सम्मेलनमा चितवन राष्ट्रिय निकुञ्जमा बन्यजन्तुको अवस्था र चोरी तस्करी नियन्त्रणका लागि गरिएका प्रयासबारे रेञ्जर रुपम महर्जनले जानकारी गराएका थिए । उनले पाँच वर्षको अवधिमा गैंडा सम्बन्धि मुद्धामा मात्र एक सय ७७ जना पक्राउ परेको जानकारी दिए । बाघ, अन्य बन्यजन्तु, काठपात लगायतका मुद्धामा निकुञ्जले पाँच वर्षको अवधिमा १७ सय ६१ जनालाई पक्राउ गरी कारवाही गरेको पनि उनले जानकारी दिए ।
चोरी शिकारी नियन्त्रणका लागि सुरक्षाकर्मीको परिचालन सँगै सुराकीको ब्यवस्था, समुदायमा आधारित सचेतना कार्यक्रम सञ्चालन गर्ने गरिएको महर्जनले बताए । निकुञ्ज भित्र परिचालन गरिएको सुरक्षाकर्मिको समुहले पैदल, साईकल, हात्ति, डुङ्गा तथा गाडीबाट नियमित गस्ती गर्नुका साथै शंकास्पद गतिबिधि देख्दा वा विशेष सूचना प्राप्त गर्दा स्विपिङ्ग एण्ड क्याम्पिङ, धराप, लामो दुरीको गस्ति, चेक प्वाईन्टमा बिशेष खानतलासी जस्ता बिशेष अप्रेसन समेत गर्ने गरिएको महर्जनले जानकारी दिए । अनुसन्धानका लागि सहज बनाउन तालिम प्राप्त कुकुर र मानव रहित बिमान प्रयोगमा ल्याउने तयारी समेत भएको उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्जमा सशस्त्र द्वन्द्वकालमा सुरक्षाको कारण देखाउँदै सुरक्षा पोष्ट घटाउँदा एकै वर्ष ३७ वटा सम्म गैंडा मारिएकामा पछिल्ला केही वर्ष देखि देखि यो संख्या शुन्य देखी तीन वटाको संख्याको अनुपातमा रहेको महर्जनले जानकारी दिए ।
अहिले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि निकुञ्जका कर्मचारीको १५, नेपाली सेनाका १८ र नेपाली सेना तथा निकुञ्जका कर्मचारीको संयुक्त १७ गरी ५० वटा सुरक्षा पोष्टहरु रहेका छन् ।
५ सय ३ वटा गैंडा र १ सय २० वटा बाघ भएको चितवन राष्ट्रिय निकुञ्ज विश्वमै एक सिंगै गैडाको दोस्रो ठूलो बास स्थान र बाघका लागि नेपालको मुख्य बासस्थान हो ।