«

»

अधिकार संचेतना : साँस्कृतिक अधिकार र दशैं

मुकुन्द दहाल
धेरै नेपालीहरुले मनाउने चाड हो दशैं । जसलाई विजया दशमी भनेर भन्ने आम प्रचलन रहेको छ । हरेक चाडपर्वका आ–आफ्ना ऐतिहासिक आधार, कारण, परम्परागत मूल्य र मान्यता रहेका हुन्छन् । जसले गर्दा ती चाडपर्वहरुले एक किसिमको औपचारिक ÷ अनौपचारिक बैधता पाउदै आईरहेका छन् । कुनैपनि चाडपर्वहरुको विकास मानवसभ्यताको विकासक्रमसँगै भएको हो । सबै चाडपर्वहरुले कुनै न कुनैरुपमा मानवीय संस्कृति, इतिहास र मूल्यहरुलाई बोकेको हुन्छन् । त्यसैले दशैं वा बिजयादशमी अधिकांस नेपालीको अझ विशेगरी भन्ने हो भने हिन्दुधर्मावलम्वीहरुको चाडको रुपमा मान्ने गरिएको छ । तर आजभोलि हिन्दुका साथसाथै अन्य धर्ममा आस्था राख्नेहरुले पनि मान्न थालेका छन् । अर्को यथार्थता के हो भने दशैंलाई परम्परागत रुपमा मान्नेकी आधुनिक तरिकाले वा अझ बामपन्थी शव्दावलीमा भन्ने हो भने प्रगतिसिल तरिकाले मनाउने वा मनाउनै पर्दछकी पर्दैन भन्ने बहस पनि अझै चलिरहेको छ । तरपनि यसमा एकरुपता भने छैन । 
अर्कातिर हिन्दुधर्मावलम्बी पृष्ठभूमी हुँदाहुँदै पनि बामपन्थी राजनीतिक दर्शन र दृष्टिकोणलाई परम्परावादी तरिकाले हेर्नेहरुले पनि दशैं लगायतका चाडपर्वहरुलाई शोषणको रुपमा लिने गरेकाले यसलाई आत्मसात गर्ने गरेका छैनन् । जसको आधार माक्र्सवादी दर्शनलाई बनाइएको छ । यद्यपि यस मान्यतामा निरन्तर अडान भने उनीहरुले राखिरहेका छैनन् । केही वर्ष टिका नलगाएपनि वा नमनाएपनि समयक्रममा दशैंलाई मान्नेहरुको संख्या बढ्दै गैरहेको छ ।
विश्वमा थुप्रै किसिमका चाडपर्वहरु मनाउने गरिएको छ । यो जाति, धर्म, संस्कृति, भूगोल, विकासको चरण आदि बिभिन्न कारणहरुले भिन्न भिन्न रहेका छन् । यी सबै भिन्नताहरुलाई सम्बोधन गरी विश्वका सबै संस्कृति, परम्परा, प्रचलन आदिलाई सम्मान, संरक्षण र प्रबद्र्धन गर्नुका साथै ती सबै संस्कृतिहरुका साझा मूल्य मान्यताहरुका साझा मापदण्ड निर्माण हुने क्रममा साँस्कृतिक अधिकारको अभ्यूदय भएको हो ।
प्रकृति, संस्कृति र बिकृति तीन महत्वपूर्ण शव्दावलीहरु हुन् । यी तीन शव्दहरुलाई बुभ्mने सवालमा आम मानिसहरुमा प्रष्टता नहुनु स्वभाविक हो जवकी शिक्षित भनिएकाहरुमा पनि यस बारेमा यात प्रष्ट धारणा छैन यात उनीहरुमा धन सम्पत्ती र शिक्षाको आडम्बरले थिचेको छ । जसले गर्दा यसलाई विकृत रुपमा प्रयोग गरिरहेका छन् । बास्तबमा प्रकृति स्वनिर्मित हो र यो उत्तिकै शुन्दर पनि छ । हुनत यसलाई देवताले बनाएको हो भन्ने परम्परागत धारणा तथा भनाईहरु पनि नभएका हैनन् ।
संस्कृति निश्चितै रुपमा मानिसले बनाएको हो जुन मानव समाजको विकाससँगै विकसित हुँदै आएको हो । संस्कृति शव्द आफैमा शुन्दर छ र यसलाई नकारात्मक रुपमा लिनै मिल्दैन । विकृति पनि मानव निर्मित नै हो तर यस शव्दले मानवको नकारात्मक व्यवहार र प्रबृत्तिलाई प्रतिनिधित्व गर्दछ ।
संस्कृति भनेको के हो भन्ने बारेमा यस लेखमा खास चर्चा गर्न खोजिएको हैन । संस्कृति मानव निर्मित पक्ष हो । चालचलन, परम्परा, प्रचलन वा संस्कारहरु पनि संस्कृतिक बहुआयामका पक्षहरु हुन् । तर, सँस्कृतिलाई देवता वा भगवानको बिरासतको रुपमा मान्ने विश्वास पनि रहेको छ । यस्तो विश्वास विश्वका बिभिन्न समाजका साथै नेपाली समाजमा पनि विद्यमान रहेको छ । फरक फरक दार्शनिक दृष्टिकोणमा फरक फरक रुपले यसलाई हेर्ने गरिएको छ ।
साँस्कृतिक अधिकार भन्ने बित्तिकै संस्कृतिसँग सम्बन्धित अधिकारहरु भन्ने बुझिन्छ । संस्कृति आफैंमा एउटा बहुआयामिक बिषय हो । र, यसको बहुआयामको बारेमा चर्चा नगरी यस लेखमा यसका केही पक्षहरु र चाडबाड मान्नेक्रममा त्यसले पारेका असरहरुको बारेमा केही सन्दर्भहरु प्रस्तुत गरिएको छ । साँस्कृतिक अधिकारसँग दशैंलाई जोडेर यसका केही पक्षहरु बारेमा चर्चा, विवेचना तथा समिक्षा गर्न खोजिएको हो ।
मानवअधिकारको विश्वव्यापी घोषणा पत्र र आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी महासन्धी (जसलाई अनुबन्ध पनि भनिन्छ) जसमा साँस्कृतिक अधिकारको बारेमा उल्लेख गरिएको छ । साँस्कृतिक अधिकार भन्ने बित्तिकै संस्कृतिसँग सम्बन्धीत अधिकारहरु हुन् । जसभित्र कुनै पनि मानिसले आफ्नो जातिय परम्परा अनुसारको धर्ममा आस्था राख्न, मान्न वा प्रचार गर्नपाउनुपर्ने लगायतका अधिकारहरु पर्दछन् । त्यस्तै, सो सांस्कृतिक अधिकार अन्तर्गत वैज्ञानिक आविष्कार, साहित्यिक लेख, प्रकाशन र रचना, बिभिन्न किसिमका सिर्जनाहरु सँग सम्बन्धित अधिकारहरु पनि यससँग सम्बन्धित रहेका छन् ।
मूलतः साँस्कृतिक अधिकार सम्बन्धि अवधारणा आ–आफ्नो धर्म, सस्कृति, रितीरिवाज, चाल चलन तथा प्रचलनहरु ग्रहण गर्न, मान्न, तथा प्रचार गर्न पाउनुपर्ने कुरा सँग सम्बन्धित छ । मानवअधिकारको घोषणा पत्रको धारा २९ मा आफ्ना मानवअधिकारहरुको उपभोग गर्दा अर्थात आ–आफ्नो अधिकारहरुको पक्षपोषण गरिरहँदा अरुको अधिकारको पनि सम्मान गर्ने कुरालाई साथसाथै महत्व दिनुपर्दछ भन्ने उल्लेख गरिएको छ । अर्थात अर्थात नागरिकले आफ्नो कर्तव्यलाई पनि ख्याल गरिनुपर्दछ ।
नेपालको कानुन र संबिधानले पनि सबै जातिय वा साँस्कृतिक समुदायले आफ्ना प्रचलनअनुसार धर्म, सस्कृति मान्न पाउनुपर्ने हकलाई सुनिश्चित गरेको छ । र, नेपालको सन्दर्भमा हेर्ने हो भने सामान्यतयाः कुनैपनि चाडबाड र धर्म सँस्कृति प्रति कुनै पनि नेपालीको नकारात्मक धारणा पाईदैन वा सबैले सबैको साँस्कृतिक धार्मिक मूल्यको प्रयोग र प्रचललनमा कुनै खास अवरोधहरु भएको पाक्ष्इको छैन । दशै मान्ने र मनाउने सन्दर्भमा हेर्दा राज्यको नीति, अन्य सस्कृतिक समूह तथा धार्मिक समूहरुको सद्भाव सबै सकारात्मक छन् ।
तर यो चाड मनाउने सन्दर्भमा अपनाईने तडक भडक र आडम्बरी शैली, यसमा गरिने साधन र श्रोतको अपव्यय, संस्कृतीको नाममा भएको बिकृति जन्य र गैरकानुनी क्रियाकलापजस्ता पक्षहरुलाई भने सास्कृतिक अधिकार वा मानवअधिकारको रुपमा हेर्न मिल्दैन । यसता खाले प्रबृत्तिहरुले चाडपर्वलाई वा भनौं दशैंलाई सर्वसाधारणले बोझको रुपमा स्विकार गर्नुपर्ने अवस्था ल्याएको छ । यसलाई निरुत्साहित गर्दै सकारात्मक परिवर्तनतर्फ प्रभावकारी पाईला चलाउनुपर्ने आजको टड्कारो आवश्यक्ता हो । आर्थिक हैसियत हुनेहरुले गर्ने तडक भडक शैलीले नहुने वा कमजोर आर्थिक हैसियत हुनेहरुलाई पर्ने गम्भिर पीडाबोधको अनुभूति गर्न नसक्नु आजको तितो वास्तविकता यथार्थता हो ।
त्यसैले आफूले दशैं मनाउँदा अरुले यसलाई दशाको रुपमा नलिउन भन्ने सोच वा भावना दशैं मनाउने प्रत्येक व्यक्तिमा हुनुपर्दछ । र, सो अनुसारको आचरण र व्यवहार प्रदर्शन गर्दै विवेकसील नागरिकको रुपमा आफूलाई प्रस्तुत गर्न सक्षम हुनुपर्दछ । घर जोडिएको छिमेकीको व्यवहारले अर्कोलाई पर्ने नकारात्मक प्रभाव वा असरलाई बुझेर व्यवहार गर्न नचाहनु अविवेकीपन हो भने सो अनुकुलको व्यवहार गर्न नसक्नु व्यक्तिको असक्षमता हो । यस्तो प्रबृत्तिलाई नियन्त्रण नगर्नु, राज्यको चरम गैरजिम्मेवारी हो । आजको सन्दर्भमा चर्चा गर्न खोजिउको बिषय भनेको यही हो ।
देशको आर्थिक स्तर खस्कदैछ, । त्यसैले सर्वसाधारण नेपालीहरुको क्रयशक्ति क्रमसः घट्दैछ । धनी र गरीवको खाडल बढ्दोछ । नागरिककमो एउटा ठूलै हिस्सामा अतिउपभोगवादी प्रबृत्ति निरन्तर बढ्दैछ । कतिपयको बैध ÷ अबैध तरिकाले आर्थिक स्तर बढ्दै गर्दा र बाह्य सम्पर्कले गर्दा विदेशबाट उपभोग्य सामाग्रीहरु खरिद गरी उपभोग गर्ने प्रबृत्ति बढ्दो छ । नेपाली समाजका अझ खासगरी अधिकांस साना ठूला सहरमा बसोबास गर्ने र राजनीतिक आर्थिक हैसियत उच्च भएकाहरुमा यस्तो प्रबृत्ति निकै देखिन्छ । यसखालको प्रबृत्ति निरन्तर बढ्दै झाँङ्गिएकोले जसरी पनि सम्पत्ती कमाएर आडम्बर प्रदर्शन गरी समाजिक सस्कृति, परम्परा र चाडपर्वहरुलाई हुनेखानेहरुको स्वर्ग र गरीवहरुको नर्कको रुपमा स्थापित गर्न सघाइरहेको छ ।
दशैं लगायतका पर्व मनाउने तडक भडक र आडम्बरी शैली, यसमा गरिने साधन र श्रोतको अपव्य, संस्कृतीको नाममा भएको बिकृति जन्य र कानुनी सिमा नाध्ने सम्मको क्रियाकलाप निर्बाध भैरहेका छन् जसको कुनैपनि प्रभावकारी नियन्त्रण हुन सकेको छैन । जसबाट एकातिर अनुपात्दक क्षेत्रमा लगानी बढिरहेको छ भने अर्कोतिर यसले कमजोर आर्थिक हैसियतहुनेहरुमा बिभिन्न खाले नकारात्मक असर पारिरहेको छ । यसले सामाजिक मनोविज्ञानलाई क्रमशः नकारात्मक बनाउदै अधोगतितिर लगिरहेको छ । यसलाई सही र सकारात्मक दिशा दिन र समाजमा सबैको आत्मसम्मानलाई महत्व दिई सबैको मर्यादित जीवनको लागि जे जे कारणहरुबाट आज चाडबाडको नाममा विकृतिहरु आईरहेका छन् त्यसको समिक्षा गरिनुपर्दछ । यसका बिभिन्न कारणहरु रहेका छन् । जसको सम्बोधन गरिनुपर्दछ
सांस्कृतिक क्रियाकलापको रुपमा रहेको चाडपर्व संस्कृतिकरण भन्दा विकृतिकरण हुदै जानुमा विभिन्न कारणहरु जिम्मेवार रहेका छन् । यी बाहेक अन्य कारणहरु पनि हुन सक्छन् । यसको कारणहरुलाई मेरो अनुभव र अनुभूतिको आधारमा केही निष्कर्ष निकालेको छु जसलाई निम्नानुसार तल उल्लेख गरिएको छ ।
बिकृतिको पहिलो कारण चाडलाई आर्थिक सामाजिक हैसियत प्रदर्शन गर्ने प्रबृत्ति हो । दोस्रो कारण जसरी पनि सम्पत्ती कमाउनुपर्दछ भन्ने मानसिकता हो । तेस्रो कारण अबैध सम्पत्तीलाई बिभिन्न तरिका तथा सहयोगमा बैध बनाउने मौका प्राप्त हुनु । चौथो कारण हो आर्थिक हैसियत भएपछि शक्तिकेन्द्रहरु पनि नतमस्तक हुनु वा आर्थिक पक्षले नैतिक वा आदर्शको पक्षलाई निष्प्रभावी जस्तै बनाउनु । पाँचौं कारण हो यी सबै कारणहरुले गर्दा समाजको चरित्रको मूल प्रबृत्ति लगातार भ्रष्टिकरणको दिशातिर गैरहनु । छैटौं कारण समाजमा आर्थिक हैसियतवालाको नै बोलवाला हुनु र राजनीति र प्रशासनिक क्षेत्र पनि आर्थिक हैसियत वा आर्थिक प्रलोभनमा पर्दै जानु । यी कारणहरुको तत्काल सम्बोधन गरि प्रकृतिको विकृतिलाई हटाई उपयुक्त संस्कृतिलाई जगेर्ना गर्न दशैं लगायतका चाडपर्व मनाऔं । वडादशैंको शुभकामना ।