«

»

‘समयमै अनुमगन गर्न सकिएन’

मुख्य निर्वाचन अधिकृतको स्वीकारोक्ति
भरतपुर, 7 कात्तिक 
चितवनका मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले जनशक्ति अभावका कारण संविधानसभा निर्वाचनका लागि जारी गरिएको आचारसंहिता उल्लङ्घन भएको जानकारी आउँदा पनि अनुगमन गर्न नसकिएको बताएका छन् । ‘चितवनको पाँच वटै क्षेत्रको लागि निर्वाचन अनुगमन अधिकृत एक जनामात्र हुनुहुन्छ, सूचना पाउने वित्तिकै हामीलाई अनुगमन गर्न जान अप्ठ्यारो छ’ बुधबार रिपोटर्स क्लव, चितवनले आयोजना गरेको अन्तक्र्रियामा आचार्यले भने ।
चितवनका सबै राजनीतिक दल र उम्मेदवारहरु मध्ये केहीले मात्र निर्वाचनमा प्रयोगका लागि सवारी साधन दर्ता गरेका सम्बन्धमा मुख्य निर्वाचन अधिकृत अचार्यले भने– ‘आज  बाटै अनुगमनमा जान र गाडीको पास नभेटाएमा त्यस्ता गाडीलाई समातेर ल्याउन हामीले चितवनका एसपीलाई निर्देशन दिएका छौँ ।’
क्षेत्र नम्वर–५ का निर्वाचन अधिकृत अनन्त डुम्रेले चितवनमा गम्भिर खालको आचार संहिता उल्लङ्घन भएको उजुरी नपरेको बताए । केही निर्वाचन क्षेत्रमा भोज भतेर गरिएको, बाजागाजा सहितको जुलुस गरिएको मौखिक उजुरी आएको तर अनुगमनमा जाँदा फेला नपारिएको डुम्रेको दावी थियो । आचार संहिता उल्लङ्घन भएको ठाउँको बारेमा जानकारी वा उजुरी दिँदा प्रष्ट रुपमा स्थानको उल्लेख गरिदिन निर्वाचन अधिकृत डुम्रेले आग्रह गरे ।
कार्यक्रममा पत्रकारहरुले निर्वाचन अधिकृतको कार्यालयले उजुरी सम्बन्धी सूचना लुकाउन खोजेको भन्दै आलोचना गरेका थिए । कार्यालयमा बसेर आचारसंहिता उल्लङ्घन नदेखिने भएकोले निर्वाचन क्षेत्रहरुमा निरीक्षणमा जान र त्यस सम्बन्धमा मिडियामा आएका समाचारबारे खोजबीन गर्न पनि पत्रकारहरुले निर्वाचन अधिकृतहरुलाई सुझाव दिएका थिए । कार्यक्रम रिपोटर्स क्लव, चितवन शाखाका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा भएको थियो ।