आगामी मंसिर ४ मा हुने संविधानसभा निर्वाचनका लागि निर्वाचन आगोगले जारी गरेको निर्वाचन आचार संहिता तोड्ने कार्यमा चितवनमा ठूला राजनीतिक दलहरु नै अगाडि रहेको देखिएको छ । संविधानसभा निर्वाचन आचारसंहिता लागू भएपछिको अवधिमा पार्टीको झण्डा, उम्मेदवारको फोटो तथा भोट मागिएको टिसर्ट, झोला जस्ता वस्तुहरु प्रयोग गर्न नपाइने व्यवस्था छ । तर चितवनमा ठूला दलका नेता, कार्यकर्ताले नै यस्ता वस्तुको व्यापक प्रयोग गरिरहेका छन् । उम्मेदवारहरुले विभिन्न सामान वितरण गरेका, मतदातालाई प्रभावित पार्न भोजभतेर खुवाएका, अप्रत्यक्ष रुपमा चन्दा सहयोग दिएका लगायत आचार संहिता उल्लङ्घनका कुराहरु बाहिर आएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा एउटा राजनीतिक दलले अर्को दलको विरुद्धमा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भन्दै लिखित तथा मौखिक उजुरी दिने क्रम पनि बढेको छ । जसले निर्वाचन आचार संहितालाई गिज्याइरहेको अनुभूति भइरहेको छ ।
आचार संहिता लागू भए नभएको अनुगमन गर्ने तथा आवश्यक कारवाही गर्ने जिम्मेवारी पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयमै निर्वाचन आचार संहिता उल्लङ्घन हुने गरि टी–सर्ट लगाएर, झोला बोकेर जाँदा समेत निर्वाचन अधिकृतहरु नदेखेझैं गरि आँखा चिम्लिएर, अर्कोतर्फ फर्किएर बस्न बाध्य भएका छन् । राजनीतिक दल तथा तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुलाई भेला गरेर निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचार संहिता पालना गर्न आग्रह गर्दै नगरे कारवाही गर्ने चेतावनी समेत दिएको थियो । तर आचार संहिताको पालना गर्न त्यसले कुनै दवाव दिएको देखिंदैन भने अर्कोतर्फ चेतावनी दिए जस्तो कारवाही गर्ने त परको विषय भयो निर्वाचन अधिकृतको कार्यालयले आचार संहिता उल्लङ्घन गर्नेलाई सचेत गराउने सम्म पनि आँट गर्न सकेको छैन ।
निर्वाचन आचार संहिता पालनाको अर्थ स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचनको ग्यारेण्टी गर्नु नै हो । निर्वाचन आचार संहिताको अर्को अर्थ दलहरुबीच स्वस्थ प्रतिष्पर्धा र लोकतान्त्रिक चरित्रको विकास गर्नु हो, यो उनीहरुको नैतिक जिम्मेवारी पनि हो । आचार संहिता पालना गर्ने तर्फ भन्दा पनि मिच्ने तर्फ प्रतिष्पर्धा बढ्दै जाने हो भने यस्तो प्रतिष्पर्धाले द्वन्द्व बढाउँदै लग्न सक्नेतर्फ पनि दलहरु सचेत हुनु जरुरी छ । निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय एकातर्फ र राजनीतिक दल तथा उम्मेदवारहरु अर्कोतर्फ फर्किएर आम नेपालीले चाहे जस्तो र सोचे जस्तो स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचनको परिकल्पना सम्भव छैन ।
निर्वाचन सम्पन्न गराउने जिम्मेवारी बोकेका निकायहरुले राजनीतिक दल, उम्मेदवारहरु, तथा अन्य सवै सरोकारवाला निकायहरुको सहयोगमा मात्र स्वतन्त्र र राम्रो ढङ्गले जिम्मेवारी पूरा गर्न सक्छन् । आचार संहिता उल्लङ्घन गरेको देख्दा देख्दै निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतहरुले पनि आँखा चिम्लिएर समस्या देखि भाग्ने र निरीहता देखाउने प्रवृत्ति भन्दा पनि उपयुक्त संयोजनकारी भूमिकामा रहेर कडाइका साथ आचार संहिता पालना गराउनेतर्फ सक्रियता देखाउनु आवश्यक छ ।