«

»

हरहालतमा चुनाव गराउँछौँ ः निर्वाचन आयुक्त ठाकुर

आनन्द पोखरेल
नारायणगढ, 10 कात्तिक
निर्वाचन आयुक्त रामभक्त पि.बि. ठाकुरले देश संविधान सभाको निर्वाचनमा होमिइसकेको वर्तमान अवस्थामा निर्वाचन आयोगले हर हालतमा चुनाव गराइ छाड्ने बताएका छन् ।
मतदाता तथा मतगणना क्षेत्रीय प्रशिक्षक प्रशिक्षण तालिमको शनिबार नारायणगढमा उद्घाटन गर्दै निर्वाचन आयोगका निर्वाचन आयुक्त ठाकुरले भने– ‘हामीले हर हालतमा चुनाव गराएरै छोड्छौँ ।’
देशलाई सङ्क्रमणकालबाट निकाल्नको लागि पनि चुनाव गराएरै छाड्ने निर्वाचन आयुक्त ठाकुरले दावी गरे । देशले गर्न थालेको महोत्सवको सफलताको लागि सबैजना जुट्नु पर्ने निर्वाचन आयुक्त ठाकुरको भनाई थियो ।
संविधानसभा सदस्य निर्वाचनमा सुरक्षाको विषय सबै क्षेत्रमा चर्चा भैरहेको बताउँदै उनले सुरक्षा दिनको लागि सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाचन सम्बन्धि अभिमुखिकरण तालिम दिएको बताए । गृह मन्त्रालयबाट नै सुरक्षाको प्रवन्ध मिलाइएको र उक्त कार्य प्रभावकारी भैरहेको बताउँदै ठाकुरले भने– ‘निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन दिने छैनौँ ।’
नेपालीहरुको सबैभन्दा ठूलो पर्व आगामी संविधान सभाको निर्वाचन भएको ठाकुरले जिकिर गरे । ‘देश पूर्ण रुपमा चुनावमा होमिएको छ, निर्वाचन आयोग चुनावको लागि उडिसक्यो अब यसको अवतरण मंसिर ४ मा गएर मात्र हुन्छ’ ठाकुरले भने । मंसिर ४ मा हुने संविधान सभाको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधली रहित हुने विश्वास गर्दै निर्वाचन आयुक्त ठाकुरले यसमा सबैको साथ हुनुपर्ने धारणा राखे ।
संविधानसभा निर्वाचनको लागि चाहिने समानुपातिक तर्फको एक करोड ५० लाख मतपत्र छापिइसकेको बताउँदै निर्वाचन आयुक्त ठाकुरले भने,– ‘प्रत्यक्ष तर्फ दुई सय ४० निर्वाचन क्षेत्र मध्ये एक सय ७८ निर्वाचन क्षेत्रको मतपत्र छपाईसकेका छौँ, बाँकी पनि अबको दुई तीन दिनमा छापेर सक्नेछौँ ।’
आगामी ११ गते सोमबारबाट निर्वाचन आयोगले मतपत्रका सामान लगायत निर्वाचनका सम्पूर्ण सामाग्रीहरु ७५ वटै जिल्लामा पु¥याउने निर्वाचन आयुक्त ठाकुरले बताए । मतदाता परिचयपत्र छपाईको तयारी पूरा भईसकेको जानकारी दिँदै आयुक्त ठाकुरले भने– ‘आईतबारबाट मतदाता परिचयपत्र छपाईको काम शुरु हुन्छ र निर्वाचनको मितिभन्दा एक हप्ता अगाडि मतदाताको हातमा मतदाता परिचय पत्र वितरण गर्नेछौँ ।’
निर्वाचन आयोगले स्थायी मतदाता परिचय पत्र दिने भनेर दिन नसक्नु आयोगको गल्ती भएको निर्वाचन आयुक्त ठाकुरले स्वीकार गरे । निर्वाचनको लागि अस्थायी प्रकृतिको मतदाता परिचय पत्र दिने तयारीमा निर्वाचन आयोग जुटेको उनले बताए ।
अघिल्लो संविधान सभाको निर्वाचनमा सात लाख मत बदर हुनुमा मतदाता दोषी नभएर निर्वाचन आयोग दोषी रहेको ठाकुरको भनाई थियो । अब हुने निर्वाचनमा हरेक मतदाताको मतको रक्षा गर्नु आफुहरुको दायित्व भएको बताउँदै ठाकुरले भने– ‘मत कहाँ र कसरी राख्दा बदर हुँदैन र बाकसमा राख्नको लागि कसरी पट्याउने भन्ने विषयमा गाउँगाउँमा गएर मातृ भाषामा नै मतदाता शिक्षा दिने व्यवस्था मिलाईएको छ ।’
संयुक्त राष्ट्र संघले यो चुनावलाई विशेष महत्व दिएको र छिमेकी देशहरुले नेपाल जस्तो शान्ति प्रिय देशमा चुनाव भएर देश राम्रो गतिमा जाओस् भनेर सहयोग गरिरहेको निर्वाचन आयुक्त ठाकुरले बताए । ‘मंसिर ४ मा हुने निर्वाचन सफल होस् भन्ने विदेशीहरुको समेत चाहना छ’ उनले भने ।
निर्वाचन आयोगले आयोजना गरेको तालिमका प्रशिक्षक निर्वाचन आयोगका उपसचिव कोमलप्रसाद धमलाले निर्वाचन आयोगले मतदाता शिक्षा, सुरक्षा, निरीक्षण, प्रशिक्षक प्रशिक्षण लगायतका नौ विधामा तालिम दिएको बताए । ‘सबै प्रकारका तालिम मध्ये प्रशिक्षक प्रशिक्षण तालिम महत्वपूर्ण हो’ धमलाले भने । उनले देश भरिमा चार सय ८० जना क्षेत्रीय प्रशिक्षकहरु तयार गरिएको बताए । मंसिर ४ गतेसम्म केन्द्र देखि गाउँ स्तरसम्म गरि दुई लाख ४२ हजार जनालाई तालिम दिइने धमलाले बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले निर्वाचनको दिनमा विभिन्न समस्या निम्तिन सक्ने हुँदा साना साना प्राविधिक कुराहरुमा ध्यान दिन मतदाता प्रशिक्षकहरुलाई आग्रह गरे ।
आफुहरु निर्वाचनरुपी डुङ्गा चढिसकेको र जुनसुकै हालतमा त्यो डुङ्गा पार गर्नुपर्ने दायित्व रहेको चितवनका मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले बताए । निर्वाचन आयोगले आफुहरुलाई निर्वाचन सम्पन्न गराउने जिम्मेवारी दिएको तर त्यसको लागि आवश्यक पर्ने स्रोत, साधन र जनशक्ति उपलब्ध नगराएको आचार्यले गुनासो राखे ।
निर्वाचन आयोग, नेपालले अयोजना गरेको ‘मतदाता तथा मत गणना क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमको उद्घाटन कार्यक्रम निर्वाचन आयुक्त रामभक्त पि.बि. ठाकुरको अध्यक्षतामा भएको थियो । शनिबारबाट नारायणगढमा शुरु भएको उक्त आवासीय प्रशिक्षण कार्यक्रम आईतबारसम्म चल्नेछ ।
प्रशिक्षणमा नारायणी अञ्चलका पाँच जिल्लाबाट ५२ जना प्रशिक्षकहरु सहभागी छन् । तालिमको उद्घाटन समारोहमा चिवनका पाँचवटै निर्वाचन अधिकृत, शमशेरदल गणका गणपति, चितवनमा रहेका दुईजना सशस्त्र प्रहरी उपरीक्षक, चितवनका प्रहरी नायव उपरीक्षक, जिल्ला शिक्षा अधिकारी लगायतको उपस्थिति रहेको थियो ।