«

»

उम्मेदवारलाई सुरक्षाकर्मी दिने तयारी

आनन्द पोखरेल
भरतपुर, १२ कात्तिक
संविधानसभा सदस्य निर्वाचनमा चितवनका उम्मेदवारहरुले पनि व्यक्तिगत सुरक्षाका लागि सुरक्षाकर्मी माग गरेका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा परिषद्का संयोजक नरेन्द्रराज शर्माले सोमबार सञ्चारपत्रसँग भने– केहि उम्मेदवारले असुरक्षित भएको भन्दै जिल्ला सुरक्षा परिषद्सँग सुरक्षाकर्मी माग गरेका छन् ।
जिल्ला सुरक्षा परिषद्ले उम्मेदवारबाट माग भए अनुसार धम्कीको अवस्था हेरि सुरक्षाकर्मी दिने तयारी गरेको जिल्ला सुरक्षा परिपद्का संयोजक प्रजिअ शर्माले बताए ।
‘चितवनका दुई÷तीनजना उम्मेदवारले सुरक्षाकर्मी मागेका छन्’ चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कुमार कार्कीले भने । संविधानसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको सुरक्षाको लागि चितवन प्रहरीले मोवाईल फोर्स तथा पैदल गस्तीमा प्रहरी परिचालन गरेको प्रहरी उपरीक्षक कार्कीले बताए ।
‘हामीले प्रत्येक उम्मेदवारको निवास वरपर साँझको समयमा दैनिक गस्ती गर्ने गरेका छौँ’ कार्कीले भने । अन्य समयमा भन्दा निर्वाचनको समयमा धेरै मात्रामा सुरक्षाकर्मी परिचालन गरिएकाले जिल्लामा आपराधिक क्रियाकलाप घटेको उनले बताए ।
‘निर्वाचनको समयमा झैझगडा हुने गरेको भएपनि अन्य खालका आपराधिक क्रियाकलाप हुने गरेका छैनन्’ प्रहरी उपरीक्षक कार्कीले भने । कुनै पनि राजनीतिक दलले चुनावी घरदैलो कार्यक्रम गर्दा समेत स्थानीय प्रहरीलाई खबर गरेमा सुरक्षाकर्मी उपलब्ध गराइने कार्कीले जानकारी दिए ।
उम्मेदवारहरुले सुरक्षाकर्मी माग गरेका सम्बन्धमा दलका प्रतिनिधिहरुसँग जानकारी लिँदा केही राजनीतिक दलका उम्मेदवारहरुले सुरक्षाकर्मी माग गरेको बताएका छन् । नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले काँग्रेस क्षेत्र नम्बर– ५ का उम्मेदवार सबिता बरालले सुरक्षाकर्मी माग गरेको बताए ।
सदरमुकामबाट आफ्नो क्षेत्रमा जाँदा रात पर्न सक्ने र बिचमा निकुञ्जको जङ्गल भएको कारण बरालले सुरक्षाकर्मी मागेको गुरुङले जानकारी
दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रि समेत रहेका चितवन क्षेत्र नम्वर– ५ का उम्मेदवार विक्रम पाण्डेले सबै भन्दा पहिला सुरक्षाकर्मी आफुले माग गरेको बताए ।
‘चितवनका पाँच वटै क्षेत्रका राप्रपा उम्मेदवारको लागि सुरक्षा मागेका छौँ’ पाण्डेले भने । आफुहरु चौतर्फी असुरक्षित भएको महशुश गर्दै सुरक्षा माग गरिएको पाण्डेले बताए ।
संविधानसभाका उम्मेदवारहरुको सुरक्षा गर्ने दायित्व सुरक्षा निकायको भएको र जिल्लाको अवस्था हेरेर सुरक्षाकर्मी उपलब्ध गराइनुपर्ने एनेकपा माओवादीका जिल्ला इन्चार्ज घनश्याम दाहाल ‘अविनास’ ले बताए । सुरक्षाकर्मी सबैलाई चाहिने बताउँदै अविनासले भने– ‘अहिले हामीले असुरक्षित अनुभव गरेका छैनौँ, यदि त्यस्तो अनुभुति भएको खण्डमा हामीले सुरक्षा माग्छौँ ।’
नेकपा एमालेका जिल्ला अध्यक्ष जेएन थपलियाले उम्मेदवारको सुरक्षाको लागि आफ्नो पार्टीले सुरक्षाकर्मी माग नगरेको बताए ।
कात्तिकको ३ गतेबाट चितवनका सम्पूर्ण निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । सुरक्षा रणनीतिको हिसावले कुन निर्वाचन क्षेत्रमा कति जना सुरक्षाकर्मी परिचालन गरिएको भनेर भन्न नमिल्ने बताउँदै शर्माले भने– ‘उम्मेदवारहरुले निर्वाचन सम्बन्धि कार्यक्रम गर्दा स्थानीय प्रशासन तथा प्रहरीहरुसँग समन्वय गरेर कार्यक्रम गर्नुभयो भने अप्रिय घटना घट्न पाउने थिएन ।’
निर्वाचन सुरक्षाका लागि राष्ट्रिय अनुसन्धान पनि चितवनमा सक्रियताका साथ लागेको छ । निर्वाचन क्षेत्रको सुरक्षा अवस्था हेरेर प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा पनि दुईजना राष्ट्रिय अनुसन्धानका कर्मचारी खटाइएको र सुरक्षा चुनौती भएको ठाउँमा आवश्यकता हेरि थप कर्मचारी परिचानल गरिएको राष्ट्रिय अनुसन्धान स्रोतले बताएको छ ।
राष्ट्रिय अनुसन्धानले निर्वाचनको समयमा जिल्लामा भएका सुरक्षा चुनौतीको अनुसन्धान गरि सो विषयमा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्यालयलाई पूर्व सूचना उपलब्ध गराउने काम गरेको स्रोतले बताएको छ । सवै निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको र राष्ट्रिय अनुसन्धानबाट सम्भावित घटनाको सम्बन्धमा पूर्व सूचना लिने काम भइरहेको कारण पनि चितवन सुरक्षित रहेको अनुसन्धानका एक कर्मचारीले दावी गरे ।
राष्ट्रिय अनुसन्धान आफैमा सक्षम भएर पनि आवश्यक स्रोत र साधनको अभावले अनुसन्धान प्रकृयामा बाधा पुगेको राष्ट्रिय अनुसन्धानका अर्का एक कर्मचारीले बताए । ‘हामीसँग भएको स्रोत र साधनमा अहिलेको चुनौतीलाई भेट्ने खालको क्षमता छैन तर पनि हामीले अनुसन्धानमा सक्दो प्रयास गरेका छौँ’ उनले भने । यद्यपी आगामी संविधान सभाको निर्वाचनलाई भय रहित वातावरणमा सम्पन्न गर्नको लागि राष्ट्रिय अनुसन्धानसँग भएको स्रोत र साधनको सक्दो परिचालन गरिने उनले जानकारी दिए ।