«

»

चितवनमा निर्वाचन सामाग्री आइपुग्यो

आनन्द पोखरेल 
भरतपुर, २२ कात्तिक
आगामी मंसिर ४ मा हुने संविधानसभा सदस्य निर्वाचन ०७० को लागि आवश्यक मतदान सामाग्री लगायत निर्वाचनका सम्पूर्ण सामाग्रीहरु चितवन आइपुगेको छ । जिल्ला निर्वाचन कार्यालय, चितवनका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार निर्वाचनको लागि प्रयोग हुने ६४ प्रकारका सामाग्रीहरु जिल्ला निर्वाचन कार्यालयमा आइपुगेको हो ।
समानुपातिक मतपत्र खसाल्नको लागि चार सय आठ थान ब्यालेट बक्स (मतपेटिका), समानुपातिक र प्रत्यक्ष तर्फको मतपत्र, निर्वाचन सम्पन्न गर्नको लागि चाहिने सम्पूर्ण अनुसूची फारामहरु, ऐन नियम निर्देशिका, स्टेशनरी लगायतका सामानहरु जिल्ला निर्वाचन कार्यालयमा आइपुगेको जिल्ला निर्वाचन कार्यालय, चितवनकी शाखा अधिकृत रुद्रुदेवी पौडेलले जानकारी दिइन् ।
प्रत्यक्ष तर्फको मतपत्र खसाल्नको लागि भने अघिल्लो संविधानसभा निर्वाचनमा प्रयोग भएका मतपेटिका नै प्रयोग गरिने निर्वाचन कार्यालयले जनाएको छ । ०६४ को संविधानसभा निर्वाचनमा प्रयोग भएका करिव एक हजार दुई सय थान मतपेटिका जिल्ला निर्वाचन कार्यालयमा सुरक्षित रहेका जिल्ला निर्वाचन अधिकारी ढकालले
बताए ।
संविधानसभा सदस्य निर्वाचन हुन १२ दिन बाँकी हुँदासम्म पनि फोटो सहितको मतदाता परिचयपत्र भने जिल्लामा आइपुगेको छैन । ‘निर्वाचनको दिन आइसक्यो अझै परिचयपत्र आएको छैन, ढिला गरेर परिचयपत्र आयो भने हामीले कसरी प्रत्येक मतदाताको हातमा पु¥याउन सक्छौँ ?’ शाखा अधिकृत पौडेलको गुनासो थियो ।
संविधानसभा सदस्य निर्वाचनको लागि फोटो सहितको मतदाता परिचयपत्र आउन ढिला भएपछि अब आउँदा सो परिचयपत्र बाँड्नको लागि जनशक्ति अभाव हुने चितवनका मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले जानकारी दिए । ‘निर्वाचनको लागि सम्पूर्ण कर्मचारीहरु मतदान केन्द्रमा जाने तयारीमा छन्, अझै सम्म पनि परिचयपत्र आइपुगेको छैन, अब परिचयपत्र आएर बाँड्नको लागि तीन वटा विकल्प छन्’ आचार्यले भने ।
फोटो सहितको मतदाता परिचयपत्र गाविस सचिवहरुलाई दुई दिनको भत्ता दिएर बाँड्न लगाउने वा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई दुई दिन अघि परिचालन गरेर बाँड्ने वा राजनीतिक दलका स्थानीय नेताहरुको सहकार्यमा आम सञ्चार माध्यमबाट व्यापक प्रचार गरेर सम्बन्धित वडामा वितरण गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत आचार्यको सुझाव छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला निर्वाचन कार्यालयलाई काममा भ्याइ नभ्याइ भएको छ । जिल्ला निर्वाचन कार्यालय, चितवनले आज शुक्रबारबाट चितवनका पाँचवटै निर्वाचन क्षेत्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिँदै छ । निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतहरुको तालिम कात्तिक २७ गतेसम्म चल्ने जिल्ला निर्वाचन कार्यालयकी शाखा अधिकृत पौडेलले जानकारी दिइन् ।
जिल्ला निर्वाचन कार्यालय, चितवनमा आएका मतदान सामाग्रीहरु मतदान केन्द्रमा लैजानको लागि छुट्याउने काम भइरहेको शाखा अधिकृत पौडेलले बताइन् । ‘अहिले मतदान सामाग्रीहरु छुट्याउने काम भइरहेको छ, मतदान अधिकृतको तालिम सकिने बित्तिकै हामीले मतदान सामाग्री प्रत्येक मतदान केन्द्रमा पठाउने छौँ’ पौडेलले भनिन् ।
आज शुक्रबारबाट हुने तालिममा पाँच वटा निर्वाचन क्षेत्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई छुट्टाछुट्टै विभिन्न पाँच वटा स्थानमा तालिमको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय, चितवनले जनाएको छ ।
चितवनको निर्वाचन क्षेत्र नम्वर १ मा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी एक सय ५५ जना कर्मचारीहरु खटिँदैछन् । उनीहरुको तालिम जिल्ला विकास समिति, चितवनको सभाहलमा हुँदैछ । त्यस्तै, निर्वाचन क्षेत्र नम्वर २ मा एक सय ७२ जना कर्मचारी खटिँदै छन् । निर्वाचन क्षेत्र नम्बर २ का मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको तालिम शैक्षिक तालिम केन्द्र, भरतपुरमा हुँदैछ ।
निर्वाचन क्षेत्र नम्वर ३ मा स्थायी मतदान केन्द्रको लागि एक सय ४८ जना र अस्थायी मतदान केन्द्रको लागि २० जना कर्मचारी खटिँदै छन् । क्षेत्र नम्वर ३ का मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम स्कुल अफ हेल्थ साईन्सेसको सभाहलमा हुने जानकारी दिइएको छ । चितवनको निर्वाचन क्षेत्र नम्वर ३ को देवघाट, जिल्ला कारागार लगायतका स्थानमा अस्थायी मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्र नम्वर ४ का मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको तालिम जिल्ला वन कार्यालय, चितवनको सभाहलमा हुने जनाइएको छ । क्षेत्र नम्बर ४ मा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरि एक सय ७२ जना कर्मचारी खटिँदै छन् । त्यस्तै, चितवनको निर्वाचन क्षेत्र नम्वर ५ मा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरि एक सय ४२ जना कर्मचारी खटिँदै छन् । क्षेत्र नम्वर ५ मा खटिने कर्मचारीको तालिम जिल्ला कृषि विकास कार्यालयको सभाहलमा हुने जनाइएको छ ।
तालिममा प्रत्येक निर्वाचन क्षेत्रका सबै कर्मचारीलाई एकै पटकमा सहभागी गराउन नसकिने भएकोले प्रत्येक क्षेत्रका क्रम सङ्ख्या १ देखि ५० सम्म २२ र २३ गते, ५१ देखि एक सय सम्म २४ र २५ गते र बाँकी रहेका सबै जनालाई २६ र २७ गते तालिम दिइने जिल्ला निर्वाचन कार्यालय, चितवनले जनाएको छ ।

दश अस्थायी मतदान केन्द्र
संविधानसभा सदस्य निर्वाचनको लागि चितवनमा एक सय ४१ मतदान केन्द्र यथावत रहने गरी थप १० वटा अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय, चितवनका निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिएका छन् । चितवनमा कार्यरत निजामति कर्मचारी, सुरक्षा निकायका कर्मचारी, कैदी र वृद्धवृद्धाहरुको लागि १० वटा अस्थायी मतदान केन्द्र राखिएको जिल्ला निर्वाचन अधिकारी ढकालले बताए ।
अस्थायी मतदान केन्द्रमा समानुपातिक तर्फको मात्र मत खसाल्न पाउने व्यवस्था गरिएको छ ।
चितवनमा अस्थायी मतदान केन्द्रहरु ः
१) जिल्ला कारागार, भरतपुर
२) जिल्ला बन कार्यालय, भरतपुर
३) चितवन उच्च माध्यमिक विद्यालय, भरतपुर
४) चितवन कवर्ड हल, भरतपुर
५) निमावि जुटपानी, जुटपानी
६) मत्स्य विकास केन्द्र ,भण्डारा
७) रत्ननगर नगरपालिका कार्यालय, रत्ननगर
८) वृद्धाश्रम, देवघाट
९) बकुलहरी राप्रावि, लेवाटार (कुरीनटार)
१०) चितवन राष्ट्रिय निकुञ्जको कार्यालय, कसरा