«

»

बाघले सताएपछि यातायात बन्द

मोहन बस्याल
भरतपुर, २२ कात्तिक
चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले निरन्तर चौपाया मारेपनि त्यसलाई रोक्नका लागि निकुञ्ज प्रशासनले प्रभावकारी काम नगरेको भन्दै माडीबासीले बिहीबार अवरुद्ध पारेको यातायात प्रहरीले हस्तक्षेप गरी खुलाएको छ । स्थानीयको अवरोधका कारण बिहीबार दिनभरजसो नारायणगढबाट माडी हुँदै ठोरी जाने यातायातका साधन रोकिएका थिए ।
दुई सातादेखि माडीको अयोध्यापुरी र कल्याणपुर गाविसका दक्षिणी क्षेत्रमा बाघले पशु चौपाया मारेपनि निकुञ्ज प्रशासनले वास्ता नगरेको भन्दै स्थानीयले नारायणगढ माडी ठोरी हुलाकी सडक मार्गमा यातायात बन्द गराएका थिए । इलाका प्रहरी कार्यालय, बसन्तपुरका प्रहरी निरीक्षक दिनेश भण्डारीको नेतृत्वमा गएको प्रहरी टोलीले लाठीचार्ज गरी यातायात सञ्चालन गरेको हो ।
लाठीचार्जका क्रममा ६ जना घाइते भएका छन् । अयोध्यापुरी २ का ४० वर्षीया पार्वती रानाभाट र अयोध्यापुरी ४ की ३५ वर्षीया नारायणी थापालाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर ल्याइएको छ । अर्का घाइते अयोध्यापुरी २ का १८ वर्षीया कविता शाहीलाई माडीकै पुष्पाञ्जली अस्पतालमा उपचार गरिएको स्थानीयले जानकारी दिएका छन् । अयोध्यापुरी २ देवेन्द्रपुरका कल्पना थापा, खेमलाल रानाभाट र चेत बहादुर भण्डारी लगायतलाई सामान्य चोट लागेको बाघ पीडित संघर्ष समितिले जनाएको छ ।
बाघले दुई साताको अवधिमा सो क्षेत्रमा बसोबास गर्ने टिकाराम रानाभाटको गोठबाट दुई वटा भैंसी र एउटा गोरु, चन्द्रकान्त सुवेदीको गोठबाट एउटा पाडी, सुकराम विश्वकर्माको एकहल गोरु, चन्द्रबहादुर भुजेलको एउटा पाडी, नेत्रप्रसाद अधिकारीको एउटा गोरु मारिसकेको स्थानीयले जानकारी दिएका छन् । गोठसँगै घरहरु जोडिएकाले रातको समयमा मानिसलाई समेत बाघले आक्रमण गर्न सक्ने त्रास फैलिएको अयोध्यापुरी गाविसको देवेन्द्रपुरका निलकण्ठ सुवेदीले बताए ।
यसैबीच, चितवन राष्ट्रिय निकुञ्जले बस्तीमा पसेर गाईबस्तु मार्ने बाघलाई नियन्त्रणमा लिन हात्ती सहितको प्राबिधिक टोली खटाएको छ । तिहार अघि टोली खटाएपनि बाघ जंगलतिर गएकोले टोली फर्किएको तर पुनः बाघले आक्रमण जारी राखेकोले बाघलाई नियन्त्रणमा लिन बिहीबार पुनः प्राबिधिक टोली खटिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी टिकाराम पौडेलले जानकारी दिए ।
टोलीले बाघलाई डार्ट (सुईमा औषधी राखेर बन्दुकबाट हानी बेहोस बनाउने कार्य) गरेर नियन्त्रणमा लिने पौडेलले बताए । बाघले मारेका पशु चौपाया गाउँमै रहेकाले पटक पटक बाघ गाउँमा आएको उनको भनाई छ ।
बाघले आक्रमण गरी मारेका चौपायाको क्षतिपूर्ति तथा प्रहरीको लाठीचार्जबाट घाइते भई अस्पताल भर्ना गरिएकाहरुको उपचार खर्च व्यवस्था गर्न माडीमा सर्वपक्षीय छलफल भएको छ । पाँचवटा राजनीतिक दलबाट दुई÷दुई जना, घाइते तथा पीडितहरुका तर्फबाट पाँच जना, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, अयोध्यापुरी उपभोक्ता समितिको तर्फबाट चार जना र स्थानीय सामुदायिक बनको तर्फबाट एक जना तथा जनपथ र सशस्त्रका एक÷एक जना प्रहरी निरीक्षकको सहभागितामा भएको छलफलले स्थानीय स्रोतबाट तत्काल उपचार खर्चको व्यवस्था गर्ने र सम्बन्धित निकायबाट रकम निकासाका लागि पहल गर्ने निर्णय गरेको छ । उचित राहतको व्यवस्था नभए तथा बाघ नियन्त्रणका लागि आवश्यक काम नगरिए बाघले मारेका चौपायाहरु सडकमा ल्याई थप आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने स्थानीयवासीले बताएका छन् ।