आनन्द पोखरेल
मंसिर ४ मा हुन गइरहेको संविधानसभा सदस्यको निर्वाचनमा चितवनका पाँचवटै क्षेत्रहरुमा एमालेले जित्ने उद्घोष एमालेका उम्मेदवारहरुले गरेका छन् । शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय, चितवन अगाडिको गेष्ट हाउस चौरबाट सुरु भएको मोटरसाइकल ¥याली लोथर पुगेर पुनः भरतपुर गेष्ट हाउसमा आएर समापन भएको कार्यक्रममा एमाले नेताहरुले पाँचै क्षेत्रमा जित्ने उद्घोष गरेका हुन् ।
वृहत मोटरसाइकल ¥यालीको समापन समारोहमा बोल्दै चितवनमा एमाले उम्मेदवारहरुले एमालेको जित सुनिश्चित भएको र उद्घोष गर्न मात्रै बाँकी रहेको बताए । एमाले उम्मेदवारहरुको तर्क थियो– अहिले जनसागर हेर्दा एमालेको जित सुनिश्चित भैसकेको छ, यसको आधिकारिक घोषणा मंसिर ४ मा हुनेछ ।
हालसम्म गरिएको घरदैलो कार्यक्रम र शनिबार निकालिएको मोटरसाईकल ¥यालीलाई विश्लेषण गर्दा पनि चितवनमा एमालेको जित सुनिश्चित भएको उक्त कार्यक्रमका वक्ताहरुले बताए ।
पूर्व अर्थमन्त्री समेत रहेका चितवन निर्वाचन क्षेत्र नम्वर–१ का उम्मेदवार सुरेन्द्र पाण्डेले नेकपा एमाले चितवनमा पहिलो पार्टी भएको र एमालेलाई अन्य कुनै पनि पार्टीले उछिन्न नसक्ने दावी गरे । पाण्डेले भने,– ‘अहिले चितवनको पाँच वटै निर्वाचन क्षेत्रमा एमाले बिजय हुनेछ, एमाओवादीको हातलाग्यो शुन्य हुन्छ ।’
माओवादीले मान्छे अनुसार व्यवहार परिवर्तन गर्ने गरेको कारण जनताले माओवादीको विश्वास मान्न छोडेको पाण्डेको टीप्पणी थियो । ‘माओवादीले उट्पट्याङ र हावादारी कुरा गरेर जनतालाई दुख दिने गर्छन्’ पाण्डेले भने । । काँग्रेसले पहिले नै बाटो विराइसकेको र माओवादी पनि उग्र हुँदै गएको कारण एमालेको पक्षमा जनलहर उर्लेको पाण्डेले बताए ।
०५१ सालमा एमालेले वृद्ध भत्ता बाँड्दा काँग्रेसले यसको विरोध गरेको र काँग्रेसले देशको विकास सहन नसक्ने भन्दै पाण्डेले भने– ‘छोरीहरुलाई अधिकार सम्पन्न बनाउने काममा एमाले जुटेको छ, त्यसैले एमालेको जित सुनिश्चित छ ।’
मोटरसाइकल ¥यालीको समापन सभालाई सम्बोधन गर्दै चितवन क्षेत्र नम्वर २ का उम्मेदवार कृष्णप्रसाद खनालले भने– ‘राजनीतिक रुपमा स्थिरता, सामाजिक रुपमा शान्ति र आर्थिक रुपमा सम्बृद्धि जनताले खोजेका छन् र यस्तो गर्न एमालेले मात्र सक्छ’ ।
‘बिरालोले हार खायो भने गाडेको खामो कोपर्न गए जस्तै अहिले काँग्रेस र माओवादी हारको मानसिकता लिएर आफुहरुले जित्ने हल्ला फिजाउँदै हिँडेका छन्’ खनालले भने । अहिलेसम्म जनताले एमालेप्रति जुन उत्साह देखाएका छन् त्यसलाई मंसिर ४ सम्म कायम राख्न खनालले आग्रह गरे ।
क्षेत्र नम्वर ३ का उम्मेदवार कृष्णभक्त पोखरेलले ‘आफ्नो नीति र आफ्नै नेतृत्व’ भन्ने एमालेको धारणा भएको कारण चितवनमा एमालेको जित सुनिश्चित भएको बताए । ‘पहिलो संविधानसभा निर्वाचनमा माओवादीसँग क्यान्टोनमेन्ट, लडाकु र बन्दुक भएको भएर जनतामा डर त्रास उत्पन्न गराएर निर्वाचन जितेको थियो’ पोखरेलले भने–‘अहिलेको निर्वाचनमा एमाओवादीसँग बँचेखुचेका वाइसिएलका कार्यकर्ताहरु होलान्, तिनीहरुसँग लड्नको लागि युथफोर्स छ, जो जनताको मतलाई संरक्षण गर्न सक्षम छ ।’
क्षेत्र नम्वर ४ कि उम्मेदवार पार्वती रावलले महिलाको पक्षमा संविधान बनाउनको लागि महिला उम्मेदवारलाई जिताउनु पर्ने तर्क गरिन् । ‘म मेरो क्षेत्रका ९० प्रतिशत घरहरुमा पुगेकी छु, जनताको दुख, कष्टसँग साक्षात्कार गरेकी छु, उनीहरुको अधिकारलाई संविधानमा लेखाउनको लागि पनि जनताले मलाई क्षेत्र नम्बर ४ बाट जिताउँछन्’ रावलले भनिन् । अन्य पार्टीहरुले ठूला ठूला आश्वासन देखाएर युवाहरुलाई परिचान गर्ने गरेको बताउँदै रावलले भनिन्– ‘क्षितिज पारीको उज्यालो देखाएर मुलुक चल्न नसक्ने युवाहरुले बुझिसकेका छन्, एमालेले बोलेको कुरा गर्ने भएकोले युवा लहर एमालेमा बढेको छ ।’
मोटरसाइकल ¥याली समापन सभामा उपस्थित भएका कार्यकर्ता एवम् सर्वसाधारणहरुलाई सम्बोधन गर्दै नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले मंसिर १ गते एमालेले लोथरबाट नारायणगढसम्म मानव साङ्लो सहितको ¥याली निकाल्न लागेको र त्यहाँ पनि उपस्थित हुन जनतालाई आग्रह गरे । ‘हाम्रो उक्त हातेमालोले प्रतिद्वन्द्वीहरुको सातो पुत्लो उडाउने छौँ’ थपलियाले भने । चितवनमा एमाले बाहेक अन्य पार्टीहरु टिक्न नसक्ने थपलियाको विश्लेषण थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले नारायणी अञ्चल इन्चार्ज काशिनाथ अधिकारीले नेपाली जनताले एमालेलाई आफ्नो पार्टीको रुपमा देखेको बताए । ‘इतिहासमा पटक पटक नेपाली जनताले हारेका छन्, अब जनताले जित्नको लागि एमालेलाई जिताउने छन्’ अधिकारीले भने । नेपाली जनताले दलहरुलाई जिताएर पनि प्रत्येक निर्वाचनमा आफु हारेको अधिकारीले बताए ।
‘नेपाली जनताले थोरै मात्रै जितेको ५१ सालमा हो, जति बेला एमालेले जनताको भावनाको कदर गरेको थियो’ अधिकारीले भने । ‘अन्य दलमा उम्मेदवारले चुनाव लड्दैछन् तर एमालेमा कार्यकर्ताले चुनाव लड्दैछन्, त्यसैले पनि एमालेको जित सुनिश्चित छ’ अधिकारीले भने ।
मोटरसाइकल ¥यालीमा चितवनको निर्वाचन क्षेत्र नम्वर ५ बाहेक अन्य चारवटा निर्वाचन क्षेत्रका कार्यकर्ताहरु सहभागि थिए । उक्त समापन सभामा तामाङ सेलो, मारुनी, भोजपुरी नृत्य लगायत विभिन्न साँस्कृतिक कार्यक्रमहरु गरिएका थिए ।
एमाले क्षेत्र नम्वर– ५ ले भने आफ्नै क्षेत्रमा ¥याली, घरदैलो र सभा गरेको छ ।