नेपालमा आन्दोलनकारीको प्रहारको पहिलो निशाना विद्यालय बन्ने गरेको छ । राजनीतिक दल मात्र होइन विद्यार्थीका मुद्दा बोकेर हिंडेको बताउने तथा निर्वाध रुपमा पढ्न पाउनु आफुहरुको अधिकार हो भनेर वकालत गर्ने राजनीतिक दलका भ्रातृ संगठनले पनि आन्दोलनको पहिलो तारो शैक्षिक संस्थाहरुलाई नै बनाउँदै आएका छन् । अब भने विद्यार्थीहरुलाई असल संस्कार सिकाउने गुरुहरुले नै आफ्ना माग पुरा गराउन विद्यार्थीहरुको पठनपाठन नै बन्द गरेर बिरोधका कार्यक्रम गर्ने शैलीको विकास हुँदै गएको छ । विगत केही समय यता चितवनलगायत देशभर नै शिक्षकहरु नै विद्यालय हड्तालमा उत्रिने क्रम बढेर गएको छ । शिक्षकहरुको यस्तो शैलीले आम विद्यार्थी, अभिभावक र शिक्षाप्रेमीहरुलाई चिन्तित बनाएको छ ।
चितवनमा शुक्रबार संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) नेपाल, जिल्ला समिति चितवनले सामुदायिक विद्यालयका शिक्षकहरु सरह तलब र अन्य सुविधा बढाउनुपर्ने माग गर्दै निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) अन्तर्गतका विद्यालयको पठनपाठन ठप्प पा¥यो । जसका कारण एक सय ४५ वटा विद्यालयका ७० हजार भन्दा बढी विद्यार्थी पढ्नबाट बञ्चित भए । इष्टुलगायत संस्थागत विद्यालयका शिक्षकका संगठनले यसअघि पनि यस्तै माग राखेर पटक पटक विद्यालय बन्द गराएका थिए । त्यस बेला पनि विद्यालय बन्द गराउने यस्तो शैली परिवर्तन गर्न चौतर्फी दवाव परेको थियो । नेपालमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकिएको सन्दर्भमा कसैले पनि विद्यालयमा बन्द, हड्ताल नगर्ने प्रतिबद्धता आउनुपर्ने र त्यसलाई व्यवहारमै कार्यान्वयन गरिनुपर्ने विषय समेत उठिरहेको छ । यी विषयहरुको पृष्ठभूमिमा शिक्षकहरुका माग जायज भएपनि विद्यालय नै बन्द गराउँदा भने त्यसले अवश्यै सकारात्मक सन्देश प्रवाह गरेको छैन भन्ने उनीहरुले नै मनन् गर्नु जरुरी छ ।
शिक्षकका संगठनले आफुलाई माथि पार्ने गरि जस्तासुकै तर्क गरेपनि यथार्थमा विद्यालय बन्दको औचित्य पुष्टी हुन सक्तैन । शिक्षक, विद्यार्थीले नै विद्यालय बन्द गराउँदा एकातर्फ यसले नकारात्मक सन्देश प्रवाह गरिरहेको हुन्छ भने अर्कोतर्फ अरु आन्दोलनकारीले पनि शिक्षक विद्यार्थीले नै विद्यालय बन्द गर्छन् भने हामीहरुले किन गर्नु हुँदैन भन्ने तर्क गर्ने ठाउँ पाउन सक्छन् भन्ने तर्फ पनि विचार पु¥याउनु जरुरी छ । अर्को मुख्य विषय भनेको ऐन नियम अनुसार शिक्षकहरुका माग सम्बोधन गर्नेतर्फ विद्यालय सञ्चालकहरुले पनि समयमै ध्यान दिनु आवश्यक छ । बन्द हड्ताल नै नगरेसम्म मागको सुनुवाई नगर्ने ‘राष्ट्रिय रोग’ बाट शैक्षिक संस्थाका व्यवस्थापनहरु मुक्त हुनैपर्छ ।
विद्यालय सञ्चालकले शिक्षकको तलब तथा अन्य सुविधा वृद्धि गर्ने नाममा विद्यार्थीहरुको शुल्क वृद्धि गर्नुपर्ने तर्क पनि उठाउने गरेका छन् । अहिलेको सन्भर्दमा विद्यालयले विद्यार्थीहरुबाट लिने शुल्कलाई कम भयो भन्न मिल्ने अवस्था छैन । विद्यालयहरुले विद्यार्थीहरुबाट शुल्क लिएकै पठनपाठन लगायत अन्य सवैखाले व्यवस्थापनको लागि हो । शिक्षकको तलब बढाउनु प¥यो भन्दै विद्यालयले शुल्क बढाएर विद्यार्थी अभिभावकमाथि अन्याय गर्न मिल्दैन । तसर्थ शिक्षक र विद्यालय बीचका विषयलाई पनि गौण मान्न सकिँदैन भने जसका हातमा विद्यार्थीको सुनौलो भविष्य लेख्ने र बाटो देखाउने अभिभारा छ उनीहरुले नै माग पुरा गराउनका लागि ती कलिला विद्यार्थीहरुको पठनपाठन नै बन्द गराउने शैली भने बन्द हुनैपर्छ र उनीहरुले यसको बिकल्प खोज्नैपर्छ ।