ऐन कानूनका कुरा गर्ने हो भने हरेक राजनीतिक दलले २५ हजार रुपैंयाभन्दा धेरै चन्दा दिनेको नाम, ठेगाना र पेशासमेत सार्वजनिक गर्नुपर्छ । तर कुनै पनि राजनीतिक दलले त्यसो गरेका छैनन् । के त्यसो भए दलहरुले २५ हजार रुपैंयाभन्दा धेरै चन्दा कसैबाट लिएका छैनन् त? करोडौं रुपैंया खर्च गर्ने राजनीतिक दल र तिनका नेताहरुको आम्दानीको स्रोत के हो? आज हामी राजनीतिक दलको आम्दानी र खर्चको पारदर्शिताको बारेमा बहस गर्दैछौं । बहसमा हामीसँग एकीकृत नेकपा माओवादीका कोषाध्यक्ष हरिबोल गजुरेल, नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कार्यालय सचिव पृथ्वी सुब्बा गुरुङ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा र राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रबीर मालाकार हुनुहुन्छ ।