मंगलपुर । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये ९५ प्रतिशतमा दाँत कीराले खाने समस्या रहेको छ । शनिबार मंगलपुरमा आयोजित एक कार्यक्रममा चिकित्सकहरुले चिन्ता व्यक्त गर्दै बालबालिकाको दाँत बचाउन आग्रह गरेका छन् ।
एकल महिला समूह मध्यमाञ्चल क्षेत्र र साईराम डेण्टल अस्पतालले आयोजना गरेको जनचेतनासम्बन्धी कार्यक्रममा चिकित्सकहरुले दाँतको सरक्षणमा जोड दिएका हुन् ।
‘हाम्रो खानपिनले गर्दा कलिला बालबालिकाको दाँत सबैभन्दा बढी कस्राले खाएको छ’, भरतपुर अस्पतालका दन्तरोग शाखाका प्रमुख डा. अजय न्यौपानेले भन्नुभयो, ‘खाना खाइसकेपछि दाँत नमाझ्नु अहिलेको प्रमुख समस्या हो ।’
विद्यालय उमेरका बालबालिकामा दाँतको समस्याले पढाइमा कमजोरी र पोषणको अभावमा शारीरिक तथा मानसिक वृद्धिमा कमी हुने गरेको पनि डा. न्यौपानेले बताउनुभयो । बालबालिकाले खाने मिठाई तथा सुख्खा खाना नै दाँतमा लाग्ने कीराको प्रमुख कारण भएको पनि उहाँको भनाइ छ ।
‘हामीले विदेशीले जस्तो खान जान्यौं । तर दाँत माझ्न सकेनौं’, उहाँले थप्नुभयो, ‘अहिले सबैभन्दा बढी दाँतमा कीराले खाने समस्या बालबालिकामा छ । यो कलिलो उमेर भएकाले पनि उनीहरु बढी प्रभावित भएका हुन् ।’ बिहान र साँझ खाना खाएपछि बालबालिकाको दाँत नियमित माझ्ने कार्य सुरू गरेमा यस्तो समस्या कमी हुने उहाँको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क सार्वजनिक गर्दै दाँतका रोगीका हिसाबले विश्वका २०३ देशमध्येमा नेपाल सातांै देशमा पर्ने डा.न्यौपानेले बताउनुभयो । दाँत तथा गिजामा लाग्ने रोगका कारण मानिसमा मुखको क्यान्सरसमेत हुने गरेको उहाँले वताउनुभयो ।
एकल महिला समूह मध्यमाञ्चल क्षेत्रकी अध्यक्ष विष्णुमाया पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्याप्सन चितवनका अध्यक्ष वेलबहादुर गुरुङ, समूहकी मध्यमाञ्चज संयोजक गोमा पौडेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा डा. न्यौपानेको नेतृत्वको टोलीले २०० भन्दा बढी स्थानीय बासिन्दाको दाँत परीक्षण गरेको थियो । रोगीहरुलाई साईराम डेण्टल अस्पतालले निःशुल्क औषधि उपलब्ध गराएको थियो ।