रत्ननगर (चितवन), चैत्र १८ – नेपाल रेडक्रस सोसाइटी शुक्रनगर उपशाखाका सभापति मोतीकृष्ण सापकोटाको उपशाखाको साधारणसभा चल्दै गर्दा मृत्यु भएको छ । साधारणसभाको औपचारिक उद्घाटन गरेलगत्तै हृदयघात भएर अध्यक्ष सापकोटाको शनिबार साँझ मृत्यु भएको हो ।
रेडक्रस उपशाखालाई एक लाख रूपैयाँ सहयोग गरेका उनलाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो । सम्मानपछि आफैँले कार्यक्रम समापन गरेका उनको एक्कासि हृदयघातका कारण मृत्यु भएको रेडक्रस सोसाइटी चितवनका जिल्ला सभापति हरिप्रसाद न्यौपानेले जानकारी दिए ।
उनका अनुसार अधिवेशनका लागि बन्द सत्र सुरु गर्न लाग्दा एक्कासि बेहोस भएर ढलेपछि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । उनको दाहसंस्कार आज गरिने भएको छ ।
लामो समयदेखि रेडक्रसमा लागेका सापकोटाले विभिन्न क्षेत्रमा मानवीय सेवा गरेकाले यसै वर्ष जिल्लाले समेत उनलाई सम्मान गरेको सभापति न्यौपानेले बताए ।