सन् २०१३ को मार्च महिनाको एक शुक्रबारको दिउँसो कतारको राजधानी दोहाको बैंक स्ट्रिटनजिकैको एक खुला चौरमा पुग्दा त्यहाँ नेपालीहरूको भीड देखिन्थ्यो । यहाँ तरवार आकारको एउटा गेट भएकाले नेपालीहरूले यो ठाउँलाई तरवार गेट भन्ने गर्छन् । कतारमा शुक्रबारको दिन विदा हुन्छ, त्यसैले तरवार गेट साधारण नेपाली कामदारहरूको भेटघाट गर्ने ठाउँ बनेको छ । कति कामदारहरूलाई कम्पनीको गाडीले नै यहाँ छोडिदिन्छ भने कति आफै आउने जाने गर्छन् । साझा सवालको यो अंकको शुरूवातीमा कतिपयले भन्ने गरेको ‘आधा कतार निर्माण’ मा संलग्न ५० डिग्री सेन्टिग्रेड नाघ्ने गर्मीमा सडक खन्ने र अग्ला घरहरू बनाउने काम गर्ने नेपाली कामदारसँग कुराकानी गरेका छौं । दोहामा रहेको नेपाली दुतावासका अनुसार कतारमा खास कतारीको जनसंख्या करीव तीन लाखभन्दा धेरै संख्यामा नेपाली कामदारहरू छन् । चार लाखभन्दा बढी नेपाली कामदार अग्ला घर बनाउनेबाहेक खेती किसानी, उँट र भेडा गोठालादेखि सरसफाइ, ड्राइभिङ, सुरक्षा गार्डलगायतका काम गर्छन् । काममा सुख दुःख त जहाँ पनि हुन्छ । हामीले भेटेका नेपाली कामदारहरू आफ्नो कामबाट सन्तुष्ट देखिए तर काममा दुःख पाउनेहरू पनि त्यत्तिकै छन् । खेती किसानी गर्ने भेंडिगोठमा बाख्रा चराउनेहरूलाई भेट्न हामी दोहा शहरभन्दा बाहिर मजरासम्म पुग्यौं । भेडिगोंठमा काम गर्ने होस् या भवन बनाउने या होटल र मजारामा काम गर्ने नेपालीहरू कोही व्यक्तिगत चिनजानबाट कतार पुग्छन् भने कोही म्यानपावर कम्पनीमार्फत पुग्छन् । तुलनात्मक रूपमा कम्पनीसँग सिधै सम्झौता गरेर आएकाहरूले भन्दा कतारमा बसेर कामदार झिकाउँदै आवश्यकताअनुसार विभिन्न कम्पनीलाई सप्लाइ गर्नेहरूबाट नेपाली कामदार ठगिएको बढी गुनासो सुनिन्छ । कामदार सप्लाइ गर्ने यस्ता कम्पनीहरू विदेशीहरूसँगै नेपालीहरूले पनि चलाएका छन् । नेपालबाट ल्याइएका मानिसहरूलाई कतारको निर्माणमा सप्लाई गर्ने नेपाली व्यवसायीहरू भने सकभर कामदारलाई दोष दिएर उम्किन खोज्छन् । व्यवसायी कामदारलाई दोष दिन्छन् । उनीहरूका अनुसार काम नसिकी, भाषा, काम र स्वास्थ्यको विचार नगरी आउने भएकाले कामदार नै समस्या भएको गुनासो गर्छन् । कामदारहरू भने आफूलाई भनेजस्तो सेवा सुविधा नदिने व्यवसायीलाई दोषी ठान्छन् । कतारका लागि नेपाली राजदूत डा. मायाकुमारी शर्मा भने नेपाली कामदारहरू कतार आइसकेपछि मेडिकल फेल हुने, रोजगारदाता कम्पनीले महिनौंसम्म आईडी नलगाइदिने, समयमै तलव नदिनेजस्ता समस्यामा पर्ने गरेको बताउँछिन् । दुतावासको कामलाई नजिकबाट नियालिरहेकाहरू भने दुतावास र राजदूतले प्रभावकारी रूपमा काम गर्न नसकेको आरोप लगाउँछन् । कतारमा लामो समयदेखि काम गर्ने र यहाँको नेपाली कामदारको गतिविधी नियालिरहेकाहरू भने अन्य देशको तुलनामा नेपाली कामदारले कठीन काम गर्ने तर सो अनुसारको ज्याला नपाउने बताउँछन् । कतारमा रहेको नेपालीको दुःख सुख समेटिएको साझा सवाल तपाईंलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन नभुल्नुहोला ।
@Sajhasawal