बाह्रौँ महाधिवेशनपछि कांग्रेस महासमितिको पहिलो बैठक सोमबारदेखि सुरु हुँदै छ । बैठकको तयारीका क्रममा परासी र त्रिवेणी स्वागत गेट ब्यानर, झन्डा, प्रचार, पम्प्लेटले सिंगारिएको छ ।
महासमिति बैठकको उद्घाटन सोमबार परासीमा हुँदै छ भने त्रिवेणीस्थित स्वामी कमलनयनाचार्यको आश्रमस्थलमा बन्दसत्र गरिने भएको छ । २९ चैतसम्म हुने महासमितिमा भाग लिन पार्टी सभापति सुशील कोइरालासहित केन्द्रीय नेताहरू शनिबारै आइसकेको र अन्य नेताहरू पनि आउने क्रममा जारी रहेको नवलपरासी कांग्रेसका सभापति देवेन्द्रराज कँडेलले जानकारी दिए ।
महासमिति बैठकमा एक हजार तीन सय ३८ महासमिति सदस्य र करिब एक सय पर्यवेक्षक सहभागी हुनेछन् । बैठकमा आउने जिल्ला सभापति, केन्द्रीय नेता र पर्यवेक्षकहरूका लागि त्रिवेणीका होटल, गजेन्द्रमोक्षधाम आश्रमलगायतका ठाउँमा खाने-बस्ने व्यवस्था मिलाइएको पनि कँडेलले बताए । केहीलाई होमस्टेको समेत व्यवस्था गरिएको उनको
भनाइ छ ।
स्थानीय कार्यकर्ताले महासमितिमा आउने नेताहरूलाई आप\mनै घरमा राख्ने चाहना देखाएकाले होमस्टेको व्यवस्था गरिएको जिल्ला सचिव विष्णु लामिछानेले बताए । एकजना कार्यकर्ताको घरमा दुईजना प्रतिनिधि राख्नेगरी बसोबासको व्यवस्था मिलाउन क्षेत्रका, नगर र गाउँ समितिलाई आग्रह गरिएको क्षेत्र नम्बर ४ का सभापति गुणनिधि तिवारीले जानकारी दिए । प्रतिनिधिहरूलाई परासी, सुनबल, भुमही र बर्दघाटमा रहेका होटलमा बस्ने व्यवस्था गरिने कांग्रेस संगठन विभाग प्रमुख विष्णु पौडेलले बताए । महासमिति बैठक सम्पन्न गर्न करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
बन्दसत्र हुने आश्रमस्थलमा माछा, मासु र मदिरा पूर्ण रूपमा निषेध गरिएको छ । सरकारी सुरक्षाबाहेक पार्टीको आन्तरिक सुरक्षा-व्यवस्था तीन घेरामा मिलाइएको छ । पहिलो घेरा भूपू सैनिक, दोस्रोमा तरुण दल र तेस्रो घेरामा नेविसंघका कार्यकर्ताले सुरक्षा दिने भएका छन् ।
पार्टीको १२औँ महाधिवेशन सकिएको साढे दुई वर्षपछि हुन लागेको महासमिति बैठकमा आगामी संविधानसभा चुनावको रणनीति, पार्टी विधानलगायतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । बैठकमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र २२ जना असन्तुष्ट केन्द्रीय सदस्यहरूले राखेको फरक मत, पार्टीको संगठनात्मक संचरनालगायतका विषयमा छलफल हुने भएको छ । पार्टीको भ्रात संगठनको महाधिवेशन हुन नसकेको र धेरैजसो विभागमा प्रमुख नियुक्त नभएको विषयमा पनि बन्द सत्रमा छलफल हुनेछ ।