ओखलढुङ्गा । वैशाख ६ गते/नेकपा-माओवादीका कार्यकताले ओखलढुङ्गाको हर्कपुर गाविस-३ मा उर्मिला खतिवडाको नाममा रहेको ६ रोपनी जग्गा पार्टीको झण्डा गाडेर कब्जा गरेका छन् । नेकपा माओवादीका जिल्ला सदस्य रेखराज राईले ६ रोपनी जग्गा वैशाख ३ गते कब्जा गरेको जानकारी दिए ।
स्थानीय नरबहादुर कटुवालले २०१४ सालदेखि ठेक्कामा भोगचलन गर्दै आएको जग्गा जग्गाधनी बुद्धिबहादुर घलेले जग्गा कमाउनलेलाई जानकारी नदिइ बेचविखन गरेपछि विवादित जग्गा माओवादीले कब्जा गरेको हो । जग्गा कमाउने नरबहादुर कटुवालको परिवारले जग्गामा आफ्नो मोहियानी हक लाग्ने दावी सहित जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । विवादित जग्गाका विषयमा ०७० वैशाख २ गतदेखि जिल्ला प्रहरी कार्यालयमा छलफल शुरु भएपछि माओवादी कार्यकर्ताले जग्गामा झण्डा गाडेर कब्जा भएको घोषणा गरेका हुन् । विवादित जग्गामा माओवादीले झण्डा गाडेपनि आधिकारिक प्रमाण नभेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिए ।