«

»

शिक्षक सङ्गठनको केन्द्रीय अध्यक्षमा ओली

चितवन – चितवनको सौराहामा भएको अखिल नेपाल शिक्षक सङ्गठनको चौँथो सम्मेलनले रत्नबहादुर ओलीको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेको छ। पछि सदस्य थप्ने गरी सम्पन्न भएको सम्मेलनले अहिले १९० सदस्यीय समिति बनाएको छ। दलित, जनजाति, महिला, क्षेत्रलगायतको समावेशी क्षेत्रबाट सदस्य थप गरी २५१ सदस्यीय समिति बनाइने आयोजकले जनाएको छ।

नयाँ नेतृत्व चयनका लागि टेकबहादुर थापाको संयोजकत्वमा अधिवक्ता धर्मराज आचार्य र गणेश सापकोटा सहभागी निर्वाचन समिति बनाइएको थियो। गएराति अबेर सकिएको तीनदिने सम्मेलनले उपाध्यक्षमा जीवनाथ पराजुली, भोलानाथ सापकोटा, रामनन्दन महतो, सानु लोहनी, दिनानाथ तिमिल्सिना, सर्वराज सिंह, यादव दाहाललाई चयन गरेको छ।
यस्तै महासचिवमा लक्ष्मी आङ्बुहाङ र कोषाध्यक्षमा बालकुमार श्रेष्ठलाई चयन गरिएको थापाले जानकारी दिनुभयो। सचिवमा पूर्णप्रसाद दवाडी, शङ्कर अधिकारी, नानुमाया पराजुली, रामचन्द्र अधिकारी, दलबहादुर बिसी, थीरप्रसाद खनाल, युगेश्वर रावत, रमेश नेपाली र राजमोहन चौधरी चयन भएका छन्।
सम्मेलनमा देशभरबाट एक हजार १२५ शिक्षक सहभागी भएका थिए। सम्मेलनले वर्तमान शैक्षिक प्रणाली, शिक्षा नीति, शैक्षिक आन्दोलन र भावी कार्ययोजनाको बारेमा समेत छलफल गरेको संयोजक तुलसीप्रसाद घिमिरेले बताए। विभिन्न समयमा राज्यसँग गरेका सहमति कार्यान्वयन हुन नसकिरहेको अवस्थामा सम्मेलनले कार्यान्वयनमा जोड दिएको छ भने शैक्षिक विकासका लागि शिक्षकले महत्वपूर्ण भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ।
सम्मेलनमा राष्ट्रिय राजनीतिमा शिक्षकहरुले खेल्नुपर्ने भूमिका र संविधानसभा निर्वाचनका विषयमा समेत छलफल भएको थियो। यसअघि हिजो संयोजक घिमिरेले प्रस्तुत गर्नुभएको सङ्गठनिक र भावी कार्ययोजना तथा शङ्कर अधिकारीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि १४ समूहमा रहेका शिक्षकहरुले छलफल गरी पारित गरेका थिए। रासस