–वीरेन्द्रमणि पौडेल
“निरन्तरता सहितको पत्रकारिता सबै भन्दा कठीन र चुनौतीपूर्ण काम हो” संसारका विद्वानहरु यसै भन्छन् । पत्रकारिता कठीन र चुनौतीपूर्ण छ भन्ने सत्य महशुस गर्न मान्छे नै चाहिन्छ, मान्छेको शरीर मात्रै भएर पुग्दैन । अर्को पक्षले विरोध गरेपनि विश्व कम्युनिष्ट आन्दोलनका एक नाइके पूर्व सोभियत संघका चर्चित नेता लेनिनलाई आफूलाई कम्युनिष्ट दाबी गर्नेहरुले आज पनि महान मान्छेको रुपमा स्किार्छन् । तिनै विश्वका धेरै मान्छेले उच्च मानव ठानेको व्यक्ति लेनिनले अक्टोबर क्रान्ति सफल पार्नुपूर्व एउटा पत्रिका प्रकाशन गर्थे । पत्रिकाको नाम ‘इस्क्रा’ थियो जसको नेपालीमा उल्था गर्दा ‘झिल्को’ भन्ने अर्थ लाग्छ । निरन्तर ‘इस्क्रा’ प्रकाशन गर्दा गर्दा दुख कष्ट सहन नसकेर लेनिनको हालत “सुकेनासको रोगी बच्चा” जस्तो भएको थियो ।
पछि अनेकथरिका तिकडम सफल भएपछि सत्तामा पुगेका लेनिनले हजारौं जनताको माझमा भाषण गर्ने क्रममा भने “निरन्तर पत्रिका प्रकाशन गर्नु एउटा राजनीतिक दल व्यवस्थित तरिकाले सञ्चालन गर्नु भन्दा निकै कठीन र चुनौतीपूर्ण छ, पत्रिका सञ्चालक र पत्रकारको दुख सहन सक्ने क्षमताको सबैले कदर गर्नुपर्छ ।”
लेनिन लटरपटर मान्छे थिएनन् । थिएभने यतिबेलासम्म विश्वका कम्युनिष्टहरुले उनको चर्चाका साथ आजसम्म सम्मान गर्थेनन् । त्यस्तै महान र चर्चित थुप्रै मान्छेहरुले पत्रकारिताको महत्व बुझ्दै र कठीनाइहरुबारे मनन गर्दै आए विश्वमा । तर जहाँसम्म नेपाल र नेपालीको पत्रकारिता सम्बन्धी सोच र चिन्तनशैलीको सवाल छ विलकुल कमजोर र गरीब छ । राष्ट्र निर्माण प्रक्रियामा पत्रकारिता क्षेत्रले उच्च योगदान पु¥याएको हुन्छ, जनतालाई सुसूचित गरेर बौद्धिकस्तर थपिदिएको हुन्छ । समग्रमा राष्ट्र सञ्चालन प्रक्रियामा टेवा पु¥याइरहेको हुन्छ भन्ने कुरा नेपालका जिम्मेवार भनिएका नागरिकहरुले कहिल्यै बुझेनन् । त्यसको परिणाम नेपाली पत्रकारितामा संख्यात्मक प्रगति देखियो, गुणात्मक उन्नती देखिएन ।
कमजोरीहरु कुनकुन पक्षबाट भए त्यो छलफल र बहसको पाटो बन्न सक्ला तर यथार्थ यही हो जुनसुकै उद्देश्य लिएर प्रकाशन आरम्भ गरिएको भएपनि पत्रपत्रिकाहरु जन्मिँदै र मर्दै गए । सयौंको संख्यामा पत्रपत्रिकाहरु जन्मिए र त्यसकै हाराहारीको संख्यामा मर्दै पनि गए । यो जन्मिने र मर्ने प्रक्रियाले निरन्तरता पाइरहेकै अवस्थामा लामो समयसम्म जीवित राखेर राष्ट्रसेवा गर्ने उद्देश्यले चितवनको माटोमा एक दैनिक पत्रिका ‘सञ्चारपत्र’ भदौ १२ गते श्रीकृष्ण जन्माष्टमीका दिन जन्मियो । आजका मितिसम्म इमान्दारको रुपमा चिनिएका पत्रकार कृष्ण गिरी र हरिप्रसाद पोखरेलको नेतृत्वमा यो दैनिक पत्रिका बजारमा आएको देखिएको छ । लगानीकर्ताहरु अरु पनि होलान् तर शिरमा बसेर यी दुई भाइले काम गर्न शुरु गरेको देखियो । पत्रकारिता अप्ठ्यारो पेशा हो यी दुइ भाइलाई राम्रैसँग थाहा छ किनकी यिनले पनि लामै समय नेपाली नागरिक समाजमा बसेर पत्रकारिता पेशा अँगाले । त्यसमाथि प्रकाशन आरम्भ गर्नु तातो बालुवामा खाली खुट्टा हिँड्नु जत्तिकै कठीन छ यो कुरा पनि यिनले बुझेको हुनुपर्छ किनकी यिनले प्रकाशकहरुको “हावा” फुस्किएको देखेकै हुन् । फेरि पनि यी दुइ भाइले पत्रिका प्रकाशन गर्न आँट गरे । यो आँट लटरपटर आँट होइन । असम्भव होइन सम्भव तर निरन्तर पत्रिका प्रकाशन ‘फलामे च्युरा’ हो । थाहा पाएरै आँट गरे । सलाम गर्नुपर्छ यो आँटलाई । तर यति भनेर मात्रै यो कलमको कर्तब्य पूरा भएको मानिने छैन । किनपनि मानिने छैन भने मलाई यी दुइ भाइले निकै नजिकको मान्छे ठानेर सोही अनुरुपको व्यवहार गर्छन् । यसर्थ मैले हरेककोणबाट यिनलाई सहयोग गर्नुपर्छ पत्रिका निरन्तर चलोस् भन्नाका खातिर । पत्रिका प्रकाशनको १५ वर्षे अनुभव पनि भएको हुँदा आज यी दुइ भाइलाई सल्लाह स्वरुप बुँदागत रुपमा केही शिर्षकहरुलाई अगाडि सारेर ब्याख्या गर्ने जमर्को गर्दै छु ताकि भर्खर जन्मिएको यो कलिलो ‘सञ्चारपत्र’को आयु दीर्घ होस् लामो होस् ।
क) प्रकाशन पक्ष ः
छापा माध्यमका तीन पाटा मध्ये सबै महत्वपूर्ण हुन्छन् । एक पाटा मात्रै कमजोर भयोभने पत्रिका तुरुन्तै लडखडाउँछ । प्रकाशन पक्षमा के छाप्ने, के नछाप्ने भन्ने छनौटको विषय रहन्छ । एक्काइसौं शताव्दी सूचना र प्रविधिका हिसाबले धेरै अगाडि बढिसकेको छ । विद्युतीय सञ्चार माध्यमले घटना, दुर्घटना, विकास, विनास, शान्ति र अशान्तिका खबरहरु मिनेटमिनेटमा जानकारी दिइरहेका हुन्छन् । त्यस्ता खबर दिन तर्फ लाग्दा ‘बासी’ हुन्छ । त्यसकारण लामो समयसम्म ताजा मानिने खालका असरदार खबरको खोजी गर्न जरुरी छ जुन खबर सकारात्मक होस् र सबैका लागि लाभदायी होस् । उदाहरणका लागि ‘भूकम्प’लाई लिन सकिन्छ । भूकम्प के हो ? कसरी प्रभाव देखाउँछ ? क्षति कुनहदसम्म हुन सक्छ ? कसरी बाँच्न र बचाउन सकिन्छ ? यस्ता शिर्षकमा गहिरो खोजी सहित ब्याख्या विश्लेषण गर्ने तर्फ लाग्ने हो भने यो विषय मानव सभ्यता पृथ्वीमा रहुञ्जेल पुरानो हुँदैन र पाठकहरुले ‘सञ्चारपत्र’ले केही न केही काम लाग्ने चिज पस्किन्छ भन्ने विश्वासमा पत्रिकालाई काखी च्याप्न शुरु गर्छन् ।
ख) विज्ञापनः पत्रपत्रिका पैसा नभइ चल्दैन । पैसा आउने श्रोत विज्ञापन हो । अरु देशमा मानव चेतना उच्च भएर पत्रिका पढ्नपर्छ, किनेरै पढ्नुपर्छ बौद्धिक विकासका लागि भन्ने छ । त्यस्तो अवस्था हुँदो हो त पत्रिका बिक्रीबाट नै पत्रिका धानिन्थ्यो तर पत्रिका बिक्रीबाट नेपालमा पत्रिका धान्न सकिँदैन । विज्ञापन एकमात्र आधार बनेको छ । एकातर्फ विज्ञापनको महत्व विज्ञापन दिने पक्षले बुझेको छैनभने प्रकाशकहरुले पनि यसको महत्व बुझाउन सकिरहेका छैनन् । कृष्ण गिरी र हरिप्रसाद पोखरेलले यो चुनौतीलाई समाधान गर्नुपर्ने छ । हजार, लाखको विज्ञापन ताक्नु भन्दा सय पचासका धेरै विज्ञापन छाप्दा जनसम्पर्क बढ्ने र रकम समेत सङ्कलन हुन सक्छ ।
ग) वितरण ः लाखांैलाखको विज्ञापन प्रकाशन गरेर आर्थिकरुपले बलियो भएपनि, आजको भोलिनै सामाजिक रुपान्तरण हुने र उत्पात्को प्रगतिनै हुने खालको विषय छापिएको भएपनि पत्रिका पाठकको हात हातमा ठीक समयमा पुग्न सकेन भने सबै मेहनत खेर जान्छ । नेपाली पत्रकारिता क्षेत्रले आजसम्म विज्ञापनतर्फ आँखा डुलायो, प्रकाशन तर्फ ज्यादा महत्व दियो तर वितरणलाई ख्यालख्याल ठान्यो । यसकारणले पनि धेरै भन्दा धेरै पत्रिका बन्द भए । ‘सञ्चारपत्र’ बन्द नहोस् । यसले निरन्तरता पाओस् । यसका लागि जति मेहनत र मान्यता प्रकाशन र विज्ञापनलाई दिने गरिएको छ त्यसकै हाराहारीमा वितरणलाई महत्व दिन अनिवार्य हुन्छ । यसतर्फ भाईद्वयको ध्यान जान जरुरी देखिन्छ ।
घ) निष्पक्षता ः
दुनियाँमा पत्रकार कहीँ कतै राजनीतिक दलको दास वा कार्यकर्ता हुँदैनन् । नेपालमा यस्तो देखियो । पत्रकारको कुनै जात हुँदैन, कुनै धर्म हुँदैन । उसका अगाडि सिर्फ मानव अधिकार र न्याय हुन्छ । कुनै नजिक वा कुनैलाई पत्रकारले टाढा देख्दैन । तर हाम्रो देशमा पार्टीको पत्रकार, समूहको पत्रकार, जात विशेषको पत्रकार खडा गरिएको स्थिति देखियो । पत्रकार निष्पक्ष हुनुपर्छको अर्थ हो न्यायको पक्ष लिनु अन्यायको विरोध गर्नु । यो खालको पक्ष नै निष्पक्ष हो । यो खालको निष्पक्षता भाइहरुले प्रदर्शन गर्नु पर्ने छ ।
ङ) वैचारिक खुराकः
आजका नेपाली २०१७ सालका होइनन् । २०७० सालका दिमाग खियाउने खालका पनि भइसकेका छन् । रिक्सा र मोटरसाइकल जुधेको समाचार त बटुवालाई सोधेपनि थाहा हुन्छ । यसो भनेर समाचार लेख्नेलाई होच्याउने मेरो प्रयास र मनशाय होइन । भन्न खोजेको यो हो कि विचारले देश अघि बढाउँछ समाचारले होइन । ठीक विचारले कुनै देश धनी हुन्छ र गलत विचारले कङ्गाल र असफल हुन्छ । त्यसकारण पत्रिकामा गहन विचार पस्किने लेखकलाई के कति रकम वा सुविधा दिएर हुन्छ लेख्नलाई प्रोत्साहन दिनुपर्छ । लेख्नेले लेखिहाल्छन् । लेख्ने बानी नभएकाहरुसँग सोधेर भएपनि बौद्धिक खुराक पत्रिकामा उपलब्ध गराउनु पर्छ ।
च) आन्तरिक मेलमिलाप ः
नेपालमा मिलेर काम गरेर सँगै गन्तव्यमा पुग्ने चलनै छैन । जस आफूले लिने अपजस अर्काको टाउकामा थोपर्ने संस्कार आजपनि विद्यमान छ । अरु पेशा व्यवसायको कुरा छाडेर पत्रपत्रिकाकै कुरा गर्ने हो भने पनि यस्ता प्रवृत्तिका कारण साप्ताहिकबाट दैनिक बनाइएका धेरै पत्रिकाको दयनिय हालत सबैले देखेकै छन् । त्यसकारण आ–आफ्नो जिम्मेवारी इमान्दारिपूर्वक पालना गर्ने र यदाकदा साथीले गल्ती गरेछ भने पनि त्यो गल्ती म आफैले गरेको ठान्ने हो भने मिलेर गन्तव्यमा पुग्न सकिन्छ । साथीसाथीमा छाती फराकिलोे पार्नु पर्छ ।
छ) कामदारको सम्मानः
आफ्नो पत्रिकामा काम गर्ने सबै तहका कर्मचारीहरुलाई कहिल्यै कामदारको रुपमा व्यवहार गर्न हुँदैन । काम गर्नेलाई माया र सम्मान गर्ने नेपालमा चलनै छैन । त्यसकारण सबै उद्योगी व्यवसायीहरु थाप्लामा हात लाएर बस्नु परेको अवस्था छ । इज्जत गरीब र धनी दुबैको हुन्छ । नेपालमा धनीलाई चाहीँ इज्जत भएको गरीब जति सबै बेइज्जती हो भन्ने सोचिन्छ । यो सोचाइ गलत मात्रै होइन अपराधपूर्ण पनि छ । मान्छे गरीब हुन सक्छ तर इज्जत भएको हुन सक्छ । अर्कोतर्फ धनी मान्छे इज्जत गुमाएको हुन सक्छ । यसतर्फ हाम्रो समाज आजसम्म अनविज्ञ छ । कम्तिमा अब सञ्चालक दुइ भाइले नेपालमा नमूनास्वरुप आफ्नो पत्रिकामा काम गर्नेहरुलाई अरुले भन्दा ज्यादा माया र सम्मान दिनुपर्ने छ ।
ज) सपना त्याग्नु पर्नेः
पत्रकारिता विलकुल सेवा हो । इमान्दार हुन सके इज्जतको बोट पनि हो । इज्जत फलाउन सकिन्छ । त्यसकारण समाचारको खोजी गर्ने पत्रकारले समाचार पाउँछ । धन खोज्नेले धन पाउँछ । यो कोणबाट हेर्दा अधिकाँश पत्रकार आर्थिक रुपले बलिया हुँदैनन् । आफ्नो इच्छा कटौती गर्ने र छोराछोरीलाई पनि मितव्ययी बन्न प्रोत्साहन दिन पर्ने हुन्छ । यदि ठूलाठूला ईच्छा पाल्न शुरु गरियो भने इमान्दार बन्न सकिन्न । यो मन्त्रलाई गिरी र पोखरेलले मनन् गर्नुपर्ने छ ।
झ) दलीय दाग मेटाउनु पर्ने ः
नागरिक समाजका मान्छेहरुले चलाएका छलफलमा पत्रकारद्वय गिरी र पोखरेल नेपाल कम्युनिष्ट पार्टी एमालेसँग आवद्ध छन् । आत्मासाक्षी राखेर यदि यो भनाइ सत्य हो भने आजैका मितिदेखि चितवनमा बसेर पत्रकारिता गर्दा जे.एन. थपलिया, कृष्णभक्त पोखरेल, विजय सुवेदी, घनश्याम भट्टराई लगायतको ठूलो फोटो छाप्ने र ब्याख्या लामो गर्ने, विक्रम पाण्डे, टेकप्रसाद, विकास, रामकृष्ण, अनिल, अविनास र अन्यअन्य नेताका फोटा मसिना छाप्ने गर्ने काम गर्न हुने छैन । राजनीति र पत्रकारितालाई अलग अलग स्थानमा राखेको पाठकले महशुस गर्न पाउनु पर्छ ।
ञ) विदेशको प्रगतिबारे पनि जानकारी दिनुपर्ने ः जनता मुलुकभित्रको समाचार र अवस्थाबारे सुन्दासुन्दा वाक्किएका पनि हुन्छन् । बेलाबखत अमेरिका किन धनी भयो ? जापानले कसरी प्रगति ग¥यो ? आफैले भ्रमण गरेर वा श्रोत मार्फत विदेशको गतिविधि जानकारी गराउनु पर्ने छ ।
ट) देशभक्ति ः
सबै भन्दा महत्वपूर्ण कुरा राष्ट्र हो । राष्ट्र रहे सबथोक रहन्छ । कलम चलाउँदा एक नम्बरमा राष्ट्रलाई मान्यता दिनुपर्छ । देशभक्तिलाई दिनुपर्छ । देशभक्तिपूर्ण भावना उजागर गर्दा चाहे प्रचण्ड रिसाउन चाहे झलनाथ वा शुशिल नै किन नरिसाउन् । यिनीहरु भन्दा देश माथि हुन्छ भन्ने कुरा कहिल्यै बिर्सन पाइने छैन ।
यदि लगनशील, इमान्दार, अनुशासित पत्रकारद्वय कृष्ण गिरी र हरिप्रसाद पोखरेलले यो कलमद्वारा सिर्जित सल्लाहलाई मनन् गर्ने प्रयत्न गरे वेशै होला । सञ्चारपत्र लामै समय अघि बढ्ला, आत्मसन्तुष्टी पनि प्राप्त होला । होइन यस्ता सल्लाह दिने कति आए कति भन्ने हो भने बाँकी कुरा परमात्मा शिवलाई नै सोध्नु । उनैलाई थाहा होला ।