प्रवीण दत्त
रत्ननगर, १६ भदौ
व्यवसायिक केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसतर्फ पूर्वी चितवनका किसानहरुको आकर्षण बढेको छ ।
रत्ननगर नगरपालिका, पदमपुर, जयमङ्गला, पिठुवा, जुटपानी लगायतका कृषकहरुले व्यवसायिक रुपमा गरेको केराखेतीबाट अहिले मुलुककै ५० प्रतिशत बजार धानेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । व्यवसायिक रुपमा केराखेती थाल्नु अघि थुप्रै चुनौती खेप्न बाध्य यहाँका कृषकहरुले अहिले उत्पादन र बजार राम्रो पाउन थालेपछि उत्साहित बनेका छन् ।
कृषकहरुका अनुसार भारतबाट आउने केरा बन्द गर्न सके मुलुकमै उत्पादन भएको केराले पुरै बजार धान्न सकिने अवस्था छ । यहाँका कृषकहरुले राम्रो आम्दानी लिन थालेपछि अहिले अन्य कृषि पेशामा लागेकाहरु पनि केरा खेती तर्फ आकर्षित हुन थालेका छन् ।
केरा व्यवसायी संघ चितवनका अनुुसार एक वर्ष अघिसम्म व्यवसायिक केरा खेती गर्ने किसानको संख्या २ सय ५० को हाराहारिमा भएपनि अहिले त्यो संख्या बढेर ३ सय ७५ भन्दा बढी पुगेको छ ।
एक जना किसानले केरा बिक्रिबाट बार्षिक ३५ देखि ४० लाख रुपैयाँ सम्म आम्दानी गर्दै आएका छन् । पूर्वी चितवनमा सरकारी नीति अनुसार उद्योग वाणिज्य संघ, कृषि विकास कार्यालयको सहयोगमा अहिले ‘एक गाउँ, एक उत्पादन’ अभियान अनुरुप केरा खेती थालिएको छ ।
रत्ननगर नगरपालिका क्षेत्रमा केरा खेती गर्ने किसानको संख्या बढी छ । केरा बिक्रिबाट गत आर्थिक वर्ष जिल्लामा २५ करोड रुपैयाँ भित्रिएको केरा व्यवसायी संघका जिल्ला अध्यक्ष यज्ञप्रसाद सुवेदीले जानकारी दिए ।
‘राम्रोसँग केरा खेती गर्दा सोचे भन्दा बढी नै आम्दानी गर्न सकिन्छ’ सुवेदीले भने– ‘त्यसैले यो खेतीमा लागेर हरेस खानुपर्ने अवस्था छैन ।’ उनले वर्षेनी हावाहुरी र असिना पानीबाट करोडौंको क्षति व्यहोर्नु पर्ने समस्या रहेकाले यसप्रति भने राज्यले ध्यान दिएर उचित क्षतिपूर्तिको व्यवस्था गर्न सके खेती गर्ने किसानको उत्साह अझै बढ्ने बताए । राज्यले केरा खेतीको बीमा गर्ने व्यवस्था मिलाउनु अति आवश्यक भएको उनको भनाई छ ।
‘केराबाट राम्रो आम्दानी गर्न सकिने भएकाले यो व्यवसायप्रति किसानको आकर्षण बढ्दो छ’ कृषि कार्यालयका प्रमुख जगन्नाथ तिवारीले भने ‘त्यसैले चितवनमा फलफूल मध्येमा केरा खेती पहिलो स्थानमा पर्छ ।’ उनले कार्यालयले समेत किसानलाई तालिम, बीउ, औषधी मार्फत खेतीमा सहयोग गर्दै आएको बताए ।
यहाँका किसानले झापाली मालभोग र विलियम हाईब्रिड जातको केरा लगाउँदै आएका छन् । उत्पादित केरा काठमाडौं, बुटवल, पोखरा र नारायणगढ बजारमा खपत हुन्छ ।
जग्गा भाडामा लिएर केरा खेती गर्दा हावाहुरीबाट किसानले बढी क्षति व्यहोर्नु पर्ने समस्या रहेको कृषि कार्यालयका प्रमुख तिवारीले बताए । उनले केरा खेतीमा किसानको उत्साह बढाउन कार्यालयले बेला÷बेलामा कृषि भ्रमणमा लगी अन्यत्र लगाईएको खेतीका बारेमा अवलोकन र जानकारी गराउने गरिएको बताए ।
केरामा रोगको समस्या पनि उत्तिकै रहने कृषकहरुको अनुभव छ । बोट मर्ने, गोवा कुहिने र गवरा लाग्ने मुख्य समस्या रहेको उनीहरु बताउँछन् । केराको थामबाट नेपाली कागज बनाउन सकिन्छ भने कोसाबाट मःम, अचार, चिप्स बनाएर उपभोग र बिक्रि गर्न सकिन्छ ।
‘केरा लगाउन अन्य बाली मास्नु पर्दैन, खाली जग्गामा नै केरा खेती गर्न सकिन्छ’ केरा व्यवसायी संघका अध्यक्ष सुवेदीले भने– ‘त्यसैले सवैको साथ पाए हामीले चितवनमा केरा फलाएर सिङ्गो नेपाली बजार धान्न सक्छौं ।’ उनले केरा खाद्यान्नको रुपमा विकास हुँदै आएकाले यसको बजार ठूलो रहेको बताए ।
चितवनमा झण्डै १० हेक्टरका दरले प्रत्येक वर्ष केराको खेती बिस्तार भईरहेको छ । चितवनमा अहिले ब्यावसायिक रुपमा ६ सय ७० हेक्टर क्षेत्रफलमा केरा हुन्छ । अघिल्लो वर्ष ६ सय ६० हेक्टर क्षेत्रफलमा केरा लगाईएको थियो । १ हजार हेक्टरमा भने छिटफुट रुपमा केरा लगाईएको छ ।
केराको वाईन बनाउन संभाव्यता अध्ययन
पछिल्लो समय केराका बहु परिकार बनाउने क्रमसँगै यसबाट वाईन बनाउने बारेमा चितवनमा सम्भाव्यताको खोजी शुरु भएको छ । कैलालीमा केराबाट वाईन बनाएपछि केरा खेतीमा ख्याती कमाउन सफल चितवनमा पनि यसको संभाव्यता अध्ययन गर्न लागिएको हो ।
व्यवसायिक रुपमा अहिले सम्म केराबाट वाईन बनाईएको छैन । तर केराको वाईनको माग अत्यधिक छ । जिल्ला केरा व्यवसायी समिति र एक गाउँ, एक उत्पादन कार्यान्वयन समितिले संयुक्त रुपमा संभाव्यता अध्ययन गर्न लागेको हो । ‘केराको वाईनको माग अत्यधिक छ’ केरा व्यवसायी समितिका अध्यक्ष यज्ञप्रसाद सुवेदीले भने– ‘त्यसैले संभाव्यता अध्ययन गरी वाईन बनाउने तयारीमा छौं ।’
उनले यो आर्थिक बर्ष भित्र संभाव्यता अध्ययन गरिने र अर्को वर्षबाट सम्भव भए सम्म वाईन उत्पादनको काम थाल्ने बताए । सम्भाव्यता अध्ययन शुरु गरि सकिएको र त्यसका लागि २० लाख रुपैयाँ बजेट माग गरी केन्द्रमा पठाईएको समितिले जनाएको छ ।
केराबाट वाईन बनाउने खवरले व्यवसायी हर्षित छन् । चितवन उद्योग वाणिज्य संघ र कृषि कार्यालयले केरा व्यवसायी समिति मार्फत एक गाउँ एक उत्पादन अभियान थालेको हो । त्यही कार्यक्रम अन्तर्गत वाईन बनाउने काम अघि बढाईएको छ । अहिले वाईन उत्पादन गर्ने कम्पनिसँग उत्पादनका बारेमा परामर्श लिने काम जारी छ ।