नेपालका शैक्षिक संस्थाहरु चरम राजनीतिको शिकार हुनुपरेको सवाल बारम्बार उठ्दै आएको छ । सवै राजनीतिक दलले शैक्षिक संस्थालाई राजनीतिक थलो बनाएका छन् । विद्यार्थीहरुलाई उपयोग गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने कार्यमा दलहरु कोही भन्दा कोही कम छैनन् । उनीहरुलाई विद्यार्थीले पढन् पाए कि पाएनन् भन्दा के गर्दा आफुहरुको राजनीतिक स्वार्थ पूरा हुन्छ भन्ने चिन्ता बढी हुन्छ । क्याम्पसमा गएको विद्यार्थी पढ्न नपाएर फर्किनु सामान्य बनेको छ । पढ्न गएको विद्यार्थी ‘साँढेको जुधाई बाच्छाको मिचाई’मा परेर टाउको फुटेर अस्पतालको बेडसम्म पुग्नुपरेका घटनाहरु पनि हामीकहाँ सामान्य बनिसकेका छन् । राजनीतिक दलहरुले पढेर भविष्य बनाउनुपर्ने विद्यार्थीहरुलाई घोडालाई लगाम लगाए जसरी राजनीतिक रङमा चुर्लम्म डुबाइदिएका छन् । यसले उनीहरुलाई क्षणिक केही फाइदा पुगेको आभाष भएपनि दीर्घकालीन रुपमा विद्यार्थीको भविष्य र राज्यलाई यसले नोक्सानी नै पु¥याइरहेको छ भन्दा अतिशयोक्ति नहोला ।
शैक्षिक संस्थाहरुमा राजनीतिक दलका विद्यार्थी संगठनका नाममा हुने राजनीति र शैक्षिक संस्थाभित्रका अति राजनीतिकरणले शैक्षिक गुणस्तरमा नराम्रो प्रभाव पारेको तथ्य छर्लङ्ग छ । मारमुङ्ग्री, तालाबन्दी शैक्षिक संस्थाभित्र हुने नियमित कार्यक्रम जस्तै भएका छन् । विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुपनि राजनीतिक दलका पूर्णकालीन कार्यकर्ता जस्तै छन् । भलै एक दुई जना विद्यार्थी राजनीतिबाट दलको नेतृत्वमा नआएका होइनन् तर धेरैले पश्चाताप गर्ने अवस्था आउनुहुँदैन । राजनीतिमा संलग्न हुन नचाहने र पढ्ने उद्धेश्य मात्र राखेका विद्यार्थीहरुले पढ्न पाउनै पर्छ ।
चितवनका शैक्षिक संस्थाहरुले हालैका दिनमा तालाबन्दी र पठनपाठन अवरुद्ध गर्ने लहरको कहर भोगिरहेका छन् । छलफल, सम्वादबाट समाधान गर्न सकिने कतिपय विषयहरुमा आफ्नो पहुँच देखाउन तालाबन्दी नै गर्ने, शैक्षिक गतिबिधि नै ठप्प पार्ने सम्मका कार्य गर्ने गरेका पाइएको छ । जसबाट विद्यार्थीको पठनपाठन अवरुद्ध हुने मात्रै होइन परीक्षाको मुखमा परीक्षा दिनबाट बञ्चित भइने हो कि भन्ने तनाब समेत झेल्नुपरेका दृश्यहरु हाम्रा अगाडी छन् । विद्यार्थीहरुले पढ्न नपाउने, परीक्षाको मुखमा परीक्षा दिनबाटै बञ्चित भइने हो कि भन्ने दोधारमा मानसिक तनाव झेल्नुपर्ने, यो कस्तो बिडम्बना ? विद्यार्थीको पढाईलाई शैक्षिक संस्थाका प्रशासनसँगको माग पुरा गर्ने अचानोमा राख्नु कत्तिको जायज छ ? शैक्षिक संस्थाका प्रशासनले पनि विद्यार्थीका जायज माग पूरा गर्ने कार्यमा कन्जुस्याइँ गर्ने, सकेसम्म पेलेरै जाने र नसकेमा मात्र मागलाई सम्बोधन गर्नु राम्रो होइन । विद्यार्थी संगठनहरु राजनीति गरेर संगठन र संगठनको पहुँच बढाउनेतर्फ भन्दा पनि विद्यार्थीका समस्यालाई समाधान गर्नेतर्फ क्रियाशिल भए उनीहरुप्रति विद्यार्थीहरुको आस्था बढेर जाने थियो । राजनीतिक दलहरुले पनि शैक्षिक संस्थाहरुलाई राजनीतिबाट मुक्त गर्नैपर्छ । विद्यार्थीहरुलाई राजनीतिको भ¥याङ्ग बनाउने नभई उनीहरुलाई नयाँ नेपाल निर्माणको लागि सक्षम जनशक्तिको रुपमा विकास गर्दै लग्नुपर्छ ।