रामकुमार एलन
निर्वाचन आयोगले सार्वजनिक गरेको दल दर्ता सूचीमा नेकपा एमालेको नाम एक नम्बरमा परेछ । दल दर्ता खुलेकै दिन आफ्नो पार्टीको नाम पहिलोमा पार्नुपर्छ भनेर एमाओवादीका सन्त नेता बाबुराम भट्टराईकै नेतृत्वमा एउटा सानो डफ्फाले निर्वाचन आयोगमा निकै ठूलो बखेडा गरेको थियो र वार्ता नै गर्नु परेको थियो । आयोगले अहिले सन्त नेताको पार्टी चौंथो नम्वरमा सार्वजनिक गरेको छ । धन्न एमाओवादीमा भट्टराईजस्ता अर्का सन्त नेता छैनन् र फेरि बखेडा भएको छैन । उसो त भर्खरै एमाओवादी भएका नेता रामचन्द्र झाले एमाओवादी केन्द्रीय कमिटी बैठकमा बारामा एमाले चौंथो स्थानतिर पुग्ने रिपोर्टिङ गरेछन् भने अर्का नेताले माधकुमार नेपाल रौतहटमै यसपटक पनि हार्ने रिपोर्ट सुनाएछन् । एमाओवादीको रिपोर्टिङ त्यतिमा सीमित छैन । अलि बलियो उमेदवार उठे तनहुँमा पनि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलका ठाउँमा पनि एमाओवादीले जित्छ भन्ने रिपोर्ट केन्द्रीय कमिटीमा प्रस्तुत भएछ । बलियो भनेको कस्तो हो ? कालिबहादुर खामजस्तो, शालिकराम जमरकट्टेलजस्तो या बालकृष्ण ढुंगेलजस्तो ? अर्थात् एमालेबाट फुटेर माले भएका बेला तत्कालीन महासचिव वामदेव गौतमले भनेजस्तै भएछ । त्यतिखेर उहाँले भन्नु भएको थियो रे, ‘सबै ठाउँमा हामीले जित्ने भयौँ, एक दुई ठाउँ त एमालेलाई पनि दिनुपर्ने ।’ भला यो मजाक अहिले एमाओवादीमा सरेको छ ।
मजाकै मजाकमा एमाओवादीको राजनीति यहाँ सम्म आइपुगेको छ । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिको आस्वासन दिएर उसले पहिलो मजाक गरेको थियो । लगत्तै माधवकुमार नेपाललाई पनि निकै मजाक ग¥यो । त्यसपछि रामराजाप्रसाद सिंहलाई मजाक गरे । मजाकैमजाकमा अहिले गोरखाका नन्दप्रसाद र गङ्गामाया अधिकारीको आमरण अनसनमाथि मजाक गर्दैछन् । उनीहरुका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको जीवन २४ जेठ ०६१ मै हरण गरेका थिए । न्याय खोज्दै गोरखाबाट आएका अधिकारी दम्पती वीर अस्पतालको सघन उपचार कक्षमा छट्पटाइरहेका बेला प्रचण्ड जिल्लाबाट आएको रिपोर्ट सुनेर गमक्क छन् । उनलाई माधवकुमार नेपाल र रामचन्द्र पौडेल पनि कमजोर छन् भन्दा आनन्द आएको हुनुपर्छ । तर, तिनै रामचन्द्र पौडेलसँग उनले १६ पटक प्रधानमन्त्रीमा हारेको कुरालाई कांग्रेसले कहिल्यै ‘प्रचण्ड जोक’ बनाएन । बरु गगन थापाले भने, ‘रहर नै भए मसँग नै उठेर हेरुन् तिनले ।’
मजाकै मजाकमा संविधानसभाको हत्या भयो । सबैलाई मजाक गर्ने मनोवृत्ति भएका प्रचण्ड स्वयम् आफू कति मजाकका सिकार भएका छन्, त्यो गाइजात्राका दिन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक हेरे पुग्छ । वार्ता भङ्ग हुनु पूर्व बिहानै प्रचण्ड निवासमा पुगेका मोहन वैद्य नेतृत्वले दिउँसो कसरी प्रचण्डको खिसिट्युरी गर्दै सरकार परिवर्तन र निर्वाचनको मिति सार्ने अडानमा अडिदिए, त्यो हेरे पुग्छ । वैद्यलाई निर्वाचनमा ल्याएर एमालेले उतिबेला बामदेव गौतमको मालेको हालत पारे झैँ पार्ने र अनि पार्टी एकताका लागि लचिलो हुने प्रचण्डको अर्को मजाकपूर्ण योजनामा वैद्यले यसरी तगारो तेस्र्याइदिए कि सधैँ अरुको काँधमा राजनीतिक तिर हान्ने प्रचण्डलाई यसपटक आफ्नै छातिमा वाण बज्रियो र उनी केन्द्रीय कमिटीको बैठकमा रिपोर्टिङ सुनेर पीडा भुल्न खोजिरहेका छन् ।
ओखलढुङ्गाबाट फेरि पनि बालकृष्ण ढुंगेलको नाम सिफारिस भएछ । पार्टीले संविधानसभाका लागि उनीहरुको नाम सिफारिस गरेपनि केन्द्रमा अपराधमा जोडिएका नेतालाई टिकट दिन हुन्न भन्ने आवाज पनि नउठेको होइन । एकपछि अर्को भद्दा मजाकमा रमाउने बानी परेका नेताहरुलाई कार्यकर्ताले भनेर लाग्ने अवस्था पनि छैन । निर्वाचनका बेला डर, धम्की दिन सक्ने नेताको पछि लाग्नु वा शरण पर्नु प्रचण्डको कुटनीति नै हो । कालिबहादुर खाम, शालिकराम जमरकट्टेल, बालकृष्ण ढुंगेललाई त्यसै उनले बोकेर हिँडेका छैनन् । उनलाई यसरी पार्टीका डनहरु बोक्दा बाहिरबाट हेर्दा मरेको सतिदेवी बोकेर हिँडेको महादेवजस्तो देखिए पनि भित्र उनै महान छन् । उनी नै हेडक्वार्टर छन् र अपराधीहरुकै संरक्षणमा उनी सधैँ बलिया भइरहेका छन् । त्यसैले उनले अपराधीलाई नबोक्नु गाउँघरमा बोकाले कुकुरलाई टोक्नु जस्तै हुन्छ । बोकाले कुकुरलाई टोकेको इतिहास नै छैन ।
एमालेमा यतिखेर संगठनहरु जुझारु बनाउने काम भइरहेको छ । केन्द्रीय समिति बैठकले निर्वाचन अभियानलाई सशक्त बनाउने तयारी गरेको छ । असोजमा मुलुककै ठूलो विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय सम्मेलन हुँदैछ । युवा विद्यार्थीहरुको उत्साहलाई पार्टीले सहजसँग परिचालन गर्न सके यसपटक ०६४ को संविधानसभाको निर्वाचनमा जसरी मतदाताले डराएर मतदान गर्न जानु पर्दैन र त्यतिखेरको डरको हिसाबकिताब यसपटक युवा संघले गर्ने भनेर भनिसकेकाले एमालेले डराउनु पर्ने अवस्था पनि छैन । उसो त त्यतिखेर दिनभर एमालेको प्रचार गर्ने र भोट एमाओवादीलाई हाल्नेहरु पनि यतिखेर एमालेलाई भोट नहालेकोमा पछुताइरहेकै छन् ।
बुढेसकालमा छोराका हत्यारालाई कारबाहीको माग गर्दा नन्दप्रसाद अधिकारी र गंगामायाको अवस्था नाजुक बनेको छ । यो घटना छानवीन गरे ठीक हुँदैन भनेर धम्की दिने प्रचण्डको राजनीतिक यात्रालाई पनि यसले गतिलै जवाफ दिने छ । छोराका हत्यारालाई कारबाही माग गर्दा सरकारी अस्पतालमा प्रहरी पहरामा ज्यान फाल्नुपर्ने अवस्था आउँछ भने नेता भनेका प्रचण्ड हुन्, शक्ति भनेका प्रचण्ड हुन् र आसाभरोसा प्रचण्डसँग छ भन्नेहरु, तिनलाई मत दिने ३८ प्रतिशत नागरिकलाई यो पनि थाहा हुनुपर्छ कि, हिजो जो प्रचण्ड भनेर हिँडेका थिए, ती सबै आज पानीका फोका भएका छन् । छापामारका नाममा लिइएको पैसाको हिसाव छानवीन भएकै छैन । जनसेनालाई अयोग्य बनाएर घर फर्र्काइँदा आज तिनै जनसेना रातो गन्जी लगाएर उनै प्रचण्डलाई ‘ठोस’ गर्ने भन्दै काठमाडौंमै नारा लगाइरहेका छन् र उनीहरुको कमाण्डर पनि तिनै प्रचण्डका मितज्यू रामबहादुर थापा नै छन् ।
नेपाली कांग्रेसले बैँकमार्फत चन्दा लिने घोषणा गरेर १४ वर्ष भ्रष्टाचार गरेर सरकारमा लामो समय बसेको गल्ती सच्याउने प्रयास गरेको छ । नेकपा एमालेले एक लाख ३६ हजार सङ्गठित सदस्यसँगै एक सय रुपैयाँका दरले चन्दा असुल्ने योजना बनाएको छ । उसले पार्टीमा भूमिका, जिम्मेवारी, अवसर लिएका आधारमा चन्दा उठाउने बताएको छ । अझ उसले चुनावी अभियानमा एमाओवादीलाई ‘अंग्रेजी’ र ‘गणित’ लगाउने माओवादी कार्यशैली नै प्रयोग गर्ने भएको छ । ०६४ चैत यता उनीहरुको जीवनमा आएको परिवर्तन, धर्म परिवर्तन, पारिवारिक बेमेल र यौन काण्ड अनि रुपैयाँ काण्डलाई उचालेर एमालेले भण्डाफोर अभियानको रणनीति लिएको छ । नेपाली कांग्रेसले पनि बुथमा बस्ने युथलाई भत्ता दिने भनेर यसपटक एमाओवादीसँग डराउनु पर्दैन भनेर राम्रैसँग तताएको छ । निर्वाचन होस्, हामी सबैको चाहना हो । ०६४ को जस्तो लाल आतङ्कमा निर्वाचन नहोस् । हिन्दूको भोट ल्याउँछु भन्ने कमल थापाहरुको पनि इच्छा पूरा होस् र नेपालजस्तो मुलुकमा संघीयता विफल हुन्छ भन्ने चित्रबहादुर केसीको पनि रहर पूरा हुन जरुरी छ । अरु त अरु सधैँ नयाँ विचार दिने र कम्युनिष्ट आन्दोलनको नाइके भनिने मोहनविक्रमकै हालतमा अरु कम्युनिष्ट नेताहरु पुग्न पनि चुनाव चाहिएको छ ।
हिजो पुष्पलालले सूत्रपात गरेको साम्यवाद र बिपी कोइरालाले ल्याएको समाजवाद आज निर्वाचनमा प्रतिस्पर्धा गर्दैछ । विचारमा बिपी हारेका छन् अर्थात् साम्यवादका पक्षधर ६५ प्रतिशत पुगेका छन् । समाजवादका पछि लाग्नेहरु मधेसी, चुरे भावर र खसक्षेत्री हुँदै आज साम्यवादीहरुकै फलोअर भएर आइरहेका छन् । यस हिसाबमा पुपष्पलालको साम्यवादी सोच त सफल हुँदै गएको छ । मदन भण्डारीको जनताको बहुदलीय जनवादले पनि फस्टाउने मौका पाएको छ । कम्युनिष्ट फुटाउन पश्चिमाहरुले गरेको प्रयास कति सार्थक होला या आफ्नालाई सत्तामा पु¥याउने भारतको चाहना कति पूरा होला ? त्यतिमात्र होइन, फ्रि तिब्बतका नाममा नेपालमा पश्चिमाहरु ननाचून भनेर चीनले नचाउने पुतलीहरु को होलान्, सबैको हिसाब पनि चाहिएको छ । खासमा मुलुकमा निर्वाचन चाहिएको छ । यो निर्वाचनलगत्तै स्थानीय निर्वाचन चाहिएको छ । सबैको सहभागितामा नयाँ संविधान जारी होस् भन्नका खातिर राजनीतिक दलहरु लचक होउन् तर प्रचण्डजस्तो कुरा फेर्ने, जिस्काउँदा एमालेले अडान लिँदैन भन्ने जस्तो नहोस् । आचरण कांग्रेसको जस्तो भन्नलाई कम्युनिष्ट भनेर एमालेकै कुरा काट्नेहरुलाई पनि जवाफ दिनु छ । खाम पालेर बदनाम हुने एमाओवादी अनि डनको पार्टी भनेर एमालेलाई गाली गर्नेहरुलाई पनि जवाफ दिनु छ । सोचुन् नागरिकले एमाले, कांग्रेस र एमाओवादीमा फरक के छ ? एक थान संविधान दिन सक्ने पार्टी यसपटक एमालेलाई छान्दा अब नागरिकले नन्दप्रसाद र गङ्गामायाले जसरी सघन उपचार कक्षमा सड्नु पर्दैन भन्ने कुरामा ढुक्क होउन् र निर्धक्कसँग निर्वाचनमा भोट दिन पाउन् ।
चपचष्वब।िभबिल२नmबष्।िअयm