नारायणगढ, १७ भदौ
नारायणगढको लक्ष्मीनारायण वस्त्रालयलाई राजस्व अनुसन्धान विभागले करिब साढे चार करोड रुपैयाँ कर तोकि भुक्तानीका लागि ताकेता गरेको छ । राजस्व छली गरेको आरोप लागेका वस्त्रालयका सञ्चालक लक्ष्मीनारायण श्रेष्ठलाई चार करोड ५८ लाख आठ सय २३ रुपैयाँ बुझाउनुपर्ने भनि गएको असार मसान्तमा राजस्व अनुसन्धान विभागबाट पत्र आएको थियो ।
‘प्राथमिक कर निर्धारणका क्रममा लक्ष्मीनारायण वस्त्रालयलाई सो रकम भुक्तानी गर्न भनिएको हो । आयकर लगायतका अन्य कर जोड्दा उनले तिर्नुपर्ने रकम १२ करोड रुपैयाँको हाराहारीमा हुन्छ’ राजस्व अनुसन्धान विभाग स्रोतले भन्यो । डेढ महिना पहिले नै यस विषयमा विभागबाट वस्त्रालयलाई जानकारी गराइएपनि सञ्चालक लक्ष्मीनारायण श्रेष्ठ अन्यायमा परेको र यत्रो रकम तिर्न नसक्ने भनि यहाँका व्यवसायीले आपत्ति जनाउँदै आएका छन् ।
‘राजस्व विभागका कर्मचारीसँगको व्यक्तिगत रिसइवीका कारण वस्त्रालयमाथि हदैभन्दा बढि कारवाही गरेको पाईयो । यो न्यायसङ्गत छैन’ उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष एवम् वस्तुगत समन्वय समितिका संयोजक राजु श्रेष्ठले भने ।
‘विभागले बैंक स्टेटमेण्टका आधारमा लक्ष्मीनारायणलाई कर निर्धारण गरेकाले यो सम्पूर्ण व्यवसायीका विरुद्धमा छ । व्यवसायको कारोवार एउटा हुन्छ, बैंकमा ऋण लिनकै लागि अर्को कारोवार देखाईन्छ । लक्ष्मीनारायणले पनि त्यही गरेका हुन् । यस्तो हरेक व्यवसायीले गर्छन्’ उपाध्यक्ष श्रेष्ठले भने । बैंक स्टेटमेण्टका आधारमा राजस्वले कर निर्धारण गरेको नेपालको इतिहासमा यो पहिलो भएको पनि श्रेष्ठको दावी छ ।
पन्ध्र महिना पहिले राजस्व छलीको आशङ्कामा छापा मार्न आएका राजस्व अनुसन्धान विभागका कर्मचारीलाई कपडा पसलमै थुन्नुका साथै गाडी जलाएर अनुसन्धानमा अवरोध गरेको भनि विभागले नारायणगढको लक्ष्मीनारायण वस्त्रालय सम्बद्ध व्यवसायीलाई आरोप लगाउँदै आएको छ । छापा मार्न आएको सात जनाको टोलीलाई व्यवसायीको समुहले उतिबेला थुन्नुका साथै विभागको बा १ झ ९१३५ नम्बरको गाडी जलाएर ध्वस्त पारेको थियो ।
वस्त्रालय र चितवन उद्योग वाणिज्य संघले भने यस्तो अराजक घटना आफ्नो तर्फबाट नभएको र विभागले व्यवसायीको विषयमा अनुसन्धान गर्दा व्यवसायिक संघसंगठनलाई समेत जानकारी गराएर अनुसन्धान गर्नुपर्ने माग गरेको थियो । तर राजस्व अनुसन्धान विभागले भने थप कडा कारवाहीको प्रक्रिया अघि बढाई गएको असार मसान्तमा करिब साढे चार करोड रुपैयाँ प्रारम्भिक कर तोकेको हो ।
वस्त्रालयका सञ्चालकहरु लक्ष्मीनारायण श्रेष्ठ, ध्रुव श्रेष्ठ र प्रल्हाद श्रेष्ठको बैंक खाता र अचल सम्पत्ति विभागले चिठी पठाइ रोक्का गरिसकेको छ । विभागले छापा मार्ने टोलीको नेतृत्व गरेका निर्देशक भरत सुवेदीलाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिएपछि सुवेदीले नै वस्त्रालयमाथि कर निर्धारण गरेका हुन् ।
विभागको अनुसन्धान प्रक्रियालाई अवरोध नगरेको भए वस्त्रालयको कारोबार मात्र छानवीन हुने र राजस्व छली पुष्टि भए जरिवाना सहित राजस्व तिरे पुग्ने अवस्था रहेकोमा अब सवै सम्पत्तिको बैध स्रोत प्रमाणित गर्नुपर्ने विभागले जनाएको छ । सम्पत्ति शुद्धिकरण निवारण ऐन अनुसार बैध स्रोत प्रमाणित गर्न नसकेको सम्पत्ति जफत र बिगो बमोजिम जरिवाना हुने नियम छ ।
ठूलो रकम कर एवम् जरिवाना निर्धारण गर्दा लक्ष्मीनारायण वस्त्रालयमाथि अन्याय भएको चितवनका उद्योगी व्यवसायीले बताएका छन् । उद्योग वाणिज्य संघ चितवनले राजस्वको यो निर्णय गलत भएकोले यसलाई सच्याउन उद्योग वाणिज्य महासंघमार्फत राजस्व अनुसन्धान विभागलाई अनुरोध गर्न लागेको उपाध्यक्ष राजु श्रेष्ठले जानकारी गराए । त्यससँगै चितवनमा उद्योगी व्यवसायीले आज मंगलवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र दिंदैछन् भने दिउँसो पत्रकार सम्मेलन गर्दैछन् ।