कतै एउटा गरुडले आफ्नो बच्चालाई पछाडिपट्टि पिठ्युँमा राख्यो र लिएर उड्यो । केही समय लगातार उडेपछि जमिनमा ओर्लिएर माउ र बच्चा दुबैले दानाको खोजी गरे । गरुडको बच्चा प्रयास गरे आपैmँ पनि उड्न सक्ने भइसकेको थियो, तर पनि बाबुको पिठ्युँमा चढेर उड्नुमा नै उसले आनन्दको अनुभव गथ्र्यो । दुबै दिनभर सुरक्षित स्थानमा बसेर दाना टिपिसकेपछि घर फर्किए । घर फर्किने बेलामा पनि बाबु गरुडले बच्चालाई पूर्ववत् आफ्नो पिठ्युँमा बोकेर फर्कियो ।
माउ गरुड बच्चा गरुडको यातायातको साधनजस्तै बनेको थियो । धेरै समयसम्म माउले बच्चालाई त्यसरी नै पिठ्युँमा बोकेर उडिरह्यो । बच्चोलाई बोकेर सुरक्षित स्थानमा पु¥याउने, दाना खोज्ने र फेरि बोकेर वासस्थानमा फर्किनु माऊ र बच्चा गरुडको दैनन्दिनी नै बनेको थियो ।
बाबु गरुडले धेरै पटक सम्झाएको थियो,‘बाबु, हेर् ! तँ यति ठूलो भइसकिस् । तेरा पँखेटा पनि लागिसकेका छन् । अब आफ्नै पँखेटा खियाएर उँड्ने कोसिस किन गर्दैनस् ? तँलाई मैले यसरी कहिलेसम्म आफ्नो पिठ्युँमा बोकेर हिँडिरहने ?’ धेरै पटक बाबुले बच्चोलाई ‘अब तँ उड्न सिक्’ भनेर उत्प्रेरित गर्ने कोसिस गरिरह्यो, तर बच्चाले उड्न सिकेन । उसको धारणा के थियो भने जबसम्म निशुल्क बाबुको पिठ्युँमा हिँडिरहन र उँडिरहन पाइन्छ, तबसम्म व्यर्थ श्रम गरेर किन दुःख पाउनु छ र ?
गरुडको बच्चोले ‘बाबुको साथ जीवनभर पाइरहन सकिँदैन, त्यसैले आपैmँले स्वावलम्बी बनेर आफ्ना पँखेटाका बलमा आकाशमा स्वतन्त्र उडान गर्ने प्रयत्न गर्नुपर्दछ’ भन्ने बुझ्न सकेन । माउ गरुडले बच्चाको यो दुर्बलतालाई निकै नजिकबाट सतर्कतासाथ नियालिरहेको थियो ।
एकदिन जब बच्चालाई पिठ्यँुमा राखेर सधैँजस्तै गरुड आकाशमा उडिरहेको थियो, गरुडले बिस्तारै आफ्ना पँखेटालाई खुम्च्यायो । जसै बाबुले आफ्ना पँखेटा खुम्च्यायो, पिठ्यँुमा रहेको त्यसको बच्चा त्यहाँबाट तल खस्न थाल्यो । जब बच्चो बाबुको पिठ्यँुबाट खस्दै थियो, बच्चो गरुडलाई पँखेटा खियाउनुपर्ने कुराको चेत आयो । उसले पँखेटालाई अचानक फर्पmरायो । तल खस्दानखस्दै उसले पँखेटा चलाएर खियाउनुपर्ने कुरा धेरथोर सिकिसकेको थियो । ऊ आकाशबाट खस्दाखस्दै बच्यो । यतिखेर भने उसले आफ्ना पङ्ख फिँजाएर उड्न सिक्नुपर्ने आवश्यकता महसुस ग¥यो तर आकाशबाट एक्कासी तल खसालिदिएकोमा भने ऊ आफ्नो बाबुसँग रिसाइरहेको थियो भित्रभित्रै ।
साँझपख त्यो बालक गरुडले आफ्नी आमासँग गुनासो गर्दै भन्यो,‘आमा, आज मैले पँखेटा नफर्फराएको भए बीचमै मर्ने थिएँ । पिताजीले आफ्ना दुबै पँखेटा छोडिदिएर मलाई तल खसाइदिनुभएको थियो । आज पिताजीका कारण धन्न मैले ज्यान गुमाउनुपरेको थियो, कसो बाँच्न सफल भएँ ।’
छोराका कुरा सुनेर आमा चाहिँ मुसुमुसु हाँसी र भनी, ‘बाबु, जसले आपैmँले कुनै पनि कुरा सिक्दैन र स्वावलम्बी बन्दैन, त्यसलाई सिकाउने र बुझाउने तरिका यही हो । तिम्रा पिताले सर्वोत्तम विधि प्रयोग गरेर तिमीलाई ठूलो कुरा सिकाउनुभएको छ । त्यसैले, तिमीले उहाँले नराम्रो गर्नुभयो भन्दा पनि धेरै राम्रो गर्नुभएछ भनेर सोच्नु बुद्धिमानी हुनेछ ।’ आमाका कुरा सुनेर बालक गरुड सिकाइको वास्तविकता थाहा पायो र दङ्ग प¥यो ।
सुविधा सिकारुको सबैभन्दा ठूलो अवरोध हो । जसले सङ्घर्ष गर्न सक्दैन, उसले जीवनका धेरै कुरा सिक्न सक्दैन । हरेकले जीवनको यात्रा एक्लै गर्नुछ । मातापिता त जीवनको खास कालखण्डसम्मका मात्र साथी हुन्् । वरपरका साथीभाइ, गुरुगुरुआमा र इष्टमित्रले हामीलाई निश्चित अवधिसम्म मात्र साथ दिने भएका हुनाले विद्यार्थीले कहिल्यै पनि तिनलाई सधैँका साथी र सहयोगीका रुपमा बुझ्नुहुँदैन ।
जङ्गलमा पनि आमाको स्तनपान गरिरहँदासम्म बच्चाबच्चीलाई जीवजनावरले आपूmसँगै हिँडाउँछन्, डुलाउँछन्, तर अलि ठूलो भएपछि सबैको छुट्टाछुट्टै जीवनप्रक्रिया आरम्भ हुन्छ । सानो छँदा एउटा जनावरले बच्चालाई आपूmले पनि नखाएर दानापानी खुवाउँछ, तर ठूलो भएपछि आफ्नो दानापानी खान आए त्यही बच्चालाई सिङले हानेर टाढा भगाउँछ ।
हामीले सधैँ बाबुआमाको उत्तिकै साथ, समर्थन र सहयोग पाउँछौँ भन्ने कुनै ग्यारेन्टी छैन । समयक्रमसँगै बाबुआमाको ऋणतिर्नतिर लाग्नुपर्ने अवस्था आउँछ । स्वावलम्बी बन्न नसकेसम्म हामीले कुनै पुरुषार्थ गर्न सक्दैनौँ ।
हामीले सिक्ने र सिकाउने प्रक्रियालाई जति आरामदायी बनाउँछौँ, त्यति नै त्यसको प्रभावकारिता कमजोर भएर जान्छ । प्रशस्त सुखसुविधामा राखेर हुर्काइएका छोराछोरी र पढाइएका विद्यार्थीले जीवनको वास्तविक सिकाइ सिक्न सक्दैनन् । अझ बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीलाई ‘ब्रोइलर कुखुरा’सँग तुलना गरेर हेरिन्छ । बाबुआमाले आफ्ना छोराछोरीलाई चाहिनेभन्दा धेरै सुविधा र हेरचाह उपलब्ध गराउनाले पनि उनीहरुमा आत्मनिर्भरता र स्वावलम्बनको शक्ति कमजोर भएर जान सक्छ ।
बालबालिकालाई अवश्य पनि अभिभावकीय संरक्षण र सहयोग आवश्यक छ । बाबुआमाको आडभरोसा नपाएका केटाकेटीको आत्मबल पनि कमजोर भएर जाने सम्भावना हुन्छ । त्यसैले, बालबालिकाका निम्ति अभिभावकले उपलब्ध गराउनुपर्ने स्नेह, संरक्षण र सहयोग चाहिन्छ भन्ने कुरामा कुनै सन्देह छैन, तर उनीहरुलाई केही पनि गर्न सक्दैनन् भन्ने ढङ्गले सानाभन्दा साना कुरामा पनि अनावश्यक चिन्ता राख्ने र चाहिनेभन्दा धेरै सरसुविधा उपलब्ध गराउने प्रवृत्ति समयक्रममा अभिभावक र केटाकेटी दुबैका लागि प्रतिकुल भएर जान्छ ।
विद्यार्थी जीवन भनेकै सङ््घर्ष र अप्ठ्याराहरुको अनुभव हो । जति धेरै अड्चन, त्यति धेरै अनुभव । जति धेरै अनुभव त्यति नै धेरै व्यावहारिकता । सिकाइ भनेको बानीहरुको निर्माण पनि हो । हामीले जीवनका अप्ठ्यारा र चुनौतीहरुबाट जीवनलाई सहज र समुन्नत बनाउने कला सिक्न सक्छौँ । ज्ञान पाउन चाहने र जिउने कला सिक्न चाहने सिकारुले आफ्ना हात र खुट्टालाई गतिशील नबनाई चाहेको कुरा सिक्न सक्दैन । ऊ हिँड्नै पर्छ, भौँतारिनै पर्छ र दसहन्डरहरु खानै पर्दछ ।
आज विद्यार्थीले घरमै शिक्षक बोलाएर सिक्न र पढ्न पाउँदा आनन्दको अनुभव गर्दछ । यसले विद्यार्थीलाई जाँगरिलो बन्नबाट रोकिरहेको छ । धेरै पैसा खर्च गरेर घरमै शिक्षकलाई बोलाएर पढाउन लगाउँदा आपूm प्रतिष्ठित भएको अनुभव गर्ने अभिभावकले पनि आफ्नो सन्तानको गतिशीलतालाई खुम्च्याउने काम गरेका छन् ।
शिक्षणसिकाइ क्रियाकलाप पूर्णतः व्यवसाय बनेको अवस्था छ । यसमा कतै पनि सहजता र सरलता देखिँदैन । विद्यालयहरु पनि चारतारे होटलजस्ता भएका छन् । प्रत्येक कक्षाकोठामा एयर कुलरको व्यवस्था गरेर पढाइलेखाइको काम गर्ने प्रतिष्पर्धा अहिले बढेर गएको छ । विद्यालयलाई उच्चभन्दा उच्च सुविधा दिएर पढाउनुपर्दछ भन्ने मान्यताले स्थान पाएको छ । यसले विद्यार्थीको सम्भावनालाई क्षतविक्षत पार्ने कामबाहेक अर्को केही पनि गर्दैन ।
जीवनको यात्रा गर्दा आइपर्ने अनेकन घुम्ती र गल्छेडाहरु पार गर्नाका लागि तदनुकूल योग्यताको आवश्यकता पर्दछ । त्यस्तो किसिमको योग्यताका लागि गुरु र अभिभावकले आफ्ना केटाकेटीलाई कहिलेकाहीँ खतरासँग खेल्नका लागि पनि प्रेरित गर्नुपर्दछ । कुनै पनि अभिभावकले ठूलो हुँदासम्म पनि आफ्ना छोराछोरीलाई पिठ्युँमा बोकेर सङ्घर्ष र श्रम गर्ने अवसरबाट वञ्चित गराउनुहुँदैन ।
सिक्ने नै सतहबाट हो, सानो कुराबाट हो । सगरमाथाको शिखरमा जन्मेको मान्छेले उँधोको यात्रा गर्नुबाहेक अरु केही गर्न सक्दैन । परमात्माले हामीलाई सतहमा ल्याएर छाडिदिएको छ र भन्न खोजेको छ— ‘हेर है, तिम्रा लागि चढेर छुन मिल्ने सगरमाथा छ । सफलताका अनेक गिरि र पर्वतहरु हाम्रो स्पर्शको प्रतीक्षामा रहेका छन् । हरेह सिँढीहरु कुल्चिएर सगरमाथा चढ्नुको आनन्द नै बेग्लै हुन्छ । त्यसैले, प्रशस्त सुखसुविधाको अपेक्षा गर्नुभन्दा अभावलाई पूरा गर्ने अभियानमा लाग्नु नै उत्तम हुनेछ ।’
शरीर पनि ठूलो छ, जुँघाका रेखी पनि बसिसकेको छ । हेर्दा गुरुगुरुआमा र आफ्ना बाबुआमाको जत्रो शारीरिक संरचना भइसकेको छ, तर पनि साथीको घरमा एक्लै जान सक्दैन । एक दुई किलोमिटर पैदलयात्रा गर्दा थचक्क बस्ने गर्दछ । यो बाबुआमाले आफ्ना केटाकेटीलाई ब्रोइलर बनाउनुको जीवन्त उदाहरण हो । विद्यार्थीले सिकेको शिक्षाले यदि उसलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन सकेन भने त्यो नाम मात्रको शिक्षा हुनपुग्दछ । हाम्रा केटाकेटीले यस्तै नाम मात्रको शिक्षा ग्रहण गरेका छन् र ‘ब्रोइलर कुखुरा’को आरोप खेप्न बाध्य छन् ।
अब हरेक अभिभावक र शिक्षकले आफ्ना छोराछोरी र विद्यार्थीमाथि लागेको ‘ब्रोइलर’को आरोप प्रतिवाद गर्नुपरेको छ । त्यसका लागि बुढेसकालसम्म पनि तिनलाई पिठ्युँमा बोकिरहने प्रवृत्तिलाई त्याग्नुपर्दछ । यदि उनीहरुले कुनै गल्ती नै गरे भने पनि तिनको बचाऊ गर्नुपर्ने अवस्था छैन । यदि उनीहरुले आफ्नो गल्तीप्रति अभिभावक र शिक्षको संरक्षण प्राप्त गरिरहे भने उनीहरुमा गल्ती दोहो¥याउने बानी नराम्ररी विकसित भएर जान्छ ।
विद्यार्थीले पनि सोच्नुपरेको छ, ‘ब्रोइलर’को आरोप खेपिरहने कि आत्मनिर्भर, सङ्घर्षशील र स्वावलम्बी बनेर बलियो विद्यार्थीको परिचय बनाउने ? हाम्रा आवश्यकताहरु नै हाम्रा आविष्कारका सबल स्रोत हुन् भन्ने विचारलाई हृदयङ्गम गर्ने र ती आवश्यकतालाई आविष्कारमा बदल्न सतत सक्रिय रहने विद्यार्थीलाई कसैले पनि आलोचनात्मक टिप्पणी गर्ने साहस गर्न सक्दैन ।
त्यसैले, आउनुस्, हामी सबै शिक्षक, अभिभावक र विद्यार्थी मिलेर हामीमाथि लगाइएको ‘ब्र्रोइलर कुखुरा’ आरोपलाई सामूहिक प्रयासमा कमजोर बनाउने अभियान आरम्भ गरौँ । यसका लागि अभिभावकले छोराछोरीलाई जहिले पनि उनीहरुलाई पिठ्युँमा बोक्ने, केटाकेटीहरुप्रति अनावश्यकरुपमा आसक्त हुने र अरुलाई देखाउनकै लागि फजुल खर्च गर्ने बानीमा कटौती गर्नु जरुरी छ । शिक्षकले शैक्षिक व्यवसाय कमजोर हुन्छ कि भन्ने भयले उनीहरुलाई भन्नै पर्ने कुरा भन्न र सिकाउन छोड्नुहुँदैन । अनावश्यक फुर्ति गर्ने धनसम्पत्ति र वैभवको प्रदर्शन गरेर आफ्ना छोराछोरीलाई ब्रोइलर बनाउने उद्येश्यले घरमै पढाउन बोलाउने अथवा अनावश्यक माग गर्ने अभिभावकका मागलाई अस्वीकार गर्नसक्नुपर्दछ । विद्यार्थीले पनि अभावलाई आफ्नो अवसर सम्झन सक्नुपर्दछ ।
संसारमा जति पनि महापुरुषहरु भएका छन् सबै सङ्घर्ष र अभावको मैदानबाट माथि उठेका छन् । सङ्घर्षको मैदानमा खारिएका विद्यार्थीले नै आफ्नो बाटो आपैmँ बनाउन सक्दछन् । त्यसैले, आउनुस्, जतिखेर पनि बाबुआमाले नै सबै कुरा गरिदिए हुन्थ्यो भनेर केही पनि नगरी अकर्मण्य बाँचेर आफ्ना पँखेटालाई प्रयोगहीन बनाइरहेका केटाकेटीलाई सुविधाको आकाशबाट अभावको धर्तितिर खसालिदिऊँ र हेरौँ उनीहरु कसरी स्वाभिमानी, आत्मनिर्भर र स्वावलम्बी बन्दा रहेछन् ! हामीले हामीमाथि लागेको आरोपलाई निरस्त तुल्याउनुछ, कमजोर बनाउनुछ । हाम्रा बाबुनानीसहित सम्बद्ध सबैले सोच्नुप¥यो —के हामीलाई अरुले गरेको अपमान स्वीकार्य छ ? के हामी साँच्चै नै ‘ब्र्रोइलर’ हौँ ? के हामीमा एउटा स्वस्थ, आत्मनिर्भर र बलिष्ठ नागरिक बन्ने क्षमता छैन ?