५० अर्ब रुपैयाँ भन्दा बढि लगानी रहेको नेपालको पोल्ट्री क्षेत्र यतिबेला बर्डफ्लु संक्रमणको धक्काले धरासयी बनेको छ । चितवनमा मात्रै कूल लगानीको ३० प्रतिशत अर्थात १५ अर्ब रुपैयाँ पोल्ट्रीमा लगानी भएको छ । पोल्ट्रीमा बैंक तथा बित्तिय क्षेत्रको झण्डै आधा लगानी छ । पोल्ट्री क्षेत्रले हजारौैंलाई रोजगारी तथा स्वरोजगारी दिइरहेको छ । राष्ट्रिय अर्थतन्त्रमै यसले महत्वपूर्ण योगदान पु¥याइरहेको छ । पोल्ट्रीमा मुलुक आत्मनिर्भर बनिरहँदा यसले अर्बौं रुपियाँ बिदेशिनबाट रोकेको छ । स्वदेशी लगानी, श्रम र उत्साहलाई यसले प्रवद्र्धन गरेको छ । यस्तो महत्वपूर्ण क्षेत्र बर्डफ्लुको धक्काले अहिले थलिएको छ । कूल गार्हस्थ उत्पादनको चार प्रतिशत हिस्सा ओगटेको पोल्ट्री क्षेत्र थलापर्नु नेपाली अर्थतन्त्रको लागि सुसद् पक्ष होइन ।
व्यवसायीहरुले अहिले देखापरेको बर्डफ्लुको कारण पोल्ट्री क्षेत्र ४० वर्ष पछाडिको अवस्थामा पुगेको बताएका छन् । अघिल्ला वर्षमा पनि बर्डफ्लुको संक्रमण भएको विषय आउने गरेको भएपनि यसपालि व्यवसायीले कल्पना नै नगरेको हिसाबले बर्डफ्लुको संक्रमणले नोक्सानी पु¥यायो । समयमै यसको निदानतर्फ व्यवसायी र सरकारबीच राम्रो समन्वय हुन नसक्दा बर्डफ्लुको संक्रमणले महामारीको रुप लियो र यसले आम पोल्ट्री व्यवसायीलाई मात्र नभएर राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलै धक्का दियो ।
बर्डफ्लुको संक्रमण नेपालमा मात्रै देखिएको होइन । तर पनि छिमेकी मुलुकहरुमा बर्डफ्लु बिरुद्ध समयमै भ्याक्सिन चलाउन सकेको र व्यवसायी र सरकारबीच तादम्य मिल्न सक्दा जोखिम कम गर्न र क्षतिलाई न्यूनिकरण गर्न सकेका छन् । तर हामीकहाँ बर्डफ्लु नियन्त्रणका लागि आवश्यक भ्याक्सिन बिदेशबाट ल्याउने कि यहीँ उत्पादन गर्ने भन्ने बिषयमा पशु सेवा विभाग र भेटेरिनरी एशोसिएसन बिवादमा अल्झिँदा समयमै संक्रमणको निदान हुन नसकी पोल्ट्री क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको विषय पनि बाहिर आएको छ । जिम्मेवार निकायमा बसेर जिम्मेवारी पूरा गर्न नसक्ने र गैर जिम्मेवार भूमिका खेल्ने को–को हुन्, त्यसको पनि छावनीन गर्नुपर्छ ।
नेपाल कुखुरा व्यवसायी मञ्चले बर्डफ्लुका कारण यस वर्ष देशभर गरि सात अर्ब रुपियाँको क्षति भएको बताएको छ । जसमध्ये चितवनमा मात्रै दुई अर्ब भन्दा बढिको क्षति भएको छ । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको पोल्ट्री क्षेत्रले यत्रो धेरै नोक्सानी व्यहोर्दा पनि सरकार कुखुरा मार्ने र अण्डा फुटाएर हल्लीखल्ली गर्ने काममा मात्र सीमित भयो र अहिले पनि उसको तौरतरिका उस्तै छ । सरकारले पोल्ट्री क्षेत्रको ढाड भाँचिदा अर्थतन्त्रमै ठूलो धक्का पुग्छ भन्ने विचार पु¥याएर तदअनुरुपको कार्य गरेको देखिएन । कर्मचारीका शैली र तौर तरिका जिम्मेवार महशुस गर्न पाइएन । तर अझैपनि समय छ । कृषकहरु सरकारको साथ पाए अझैपनि पुरै चिन्तित नभएको बताउँछन् । चिन्तित होइन बरु चिन्तन गर्न थालेको उनीहरुको भनाईले सम्भावनालाई अझ माथि उठाएको छ । पोल्ट्री व्यवासायीले सरकारसँग राहत माग गरिरहेको सन्दर्भमा यस क्षेत्रलाई माथि उठाउन र अर्थतन्त्रको दरिलो मेरुदण्डको रुपमा स्थापित गर्न सरकार, व्यवसायी र नीजि क्षेत्रबीच राम्रो सहकार्य र समन्वय हुन सक्यो भने सम्भावनाको दियो निभ्न पाउँदैन ।