मस्को, १९ भदौ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाले सिरियाले रासायनिक हतियारको प्रयोग गरेको भन्ने बारेमा भरपर्दाे प्रमाण पेसगर्न पश्चिमा राष्ट्रहरुलाई चूनौती दिनुभएको छ ।
यसअघि पनि संयुक्त राज्य अमेरिकाका प्रतिवेदकहरुले सो विषयमा प्रतिवेदन सार्वजनिक गरेका थिए । उक्त प्रतिवेदनप्रति आफूहरुको चित्त नबुझेको रसियाले बताएको थियो ।
उक्त अनुसन्धान प्रतिवेदनसँग आफू सहमत नभएको स्पष्ट गर्दै राष्ट्रपति पुटिनले पश्चिमा राष्ट्रहरुलाई सो चुनौती दिनुभएको हो । उहाँले संयुक्त राज्य अमेरिकासहितका पश्चिमा राष्ट्रहरुले विना प्रमाण एवम् पूर्वाग्रही रुपमा सो आरोप लगाएका बताउनुभएको छ ।
त्यसैगरी उहाँले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदलाई पनि त्यस्ता प्रमाणहरु भएमा प्रमाणित गरी सार्वजनिक गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभएको छ– यदि ती प्रमाणहरु भेटिएमा हामीले पनि त्यस्ता अपराधका पछि को छन् उनीहरुलाई कारबाही गर्नेछौँ ।
एक टेलिभिजन च्यानललाई दिनुभएको अन्तरवार्तामा उहाँले त्यस्ता प्रमाणहरु छन् भने ती सबैलाई ल्याई सुरक्षा परिषदमा छलफल गर्नुपर्छ र दोषी पाइएमा ती माथिको कारबाहीका लागि बैधानिक बाटो अबलम्बन गर्नुपर्छ ।
यसरी पेस गरिने प्रमाणहरुप्रति मात्र रसियाको सहयोग रहने पनि उहाँले स्पष्ट गर्नुभएको छ । उहाँले रसियालाई बिना कारण मुछिएको भन्दै प्रमाणका आधारमा मात्र बोल्न पनि आग्रह गर्नुभएको छ ।
मङ्गलबारमात्र पनि रसियाली विदेशमन्त्रीले संयुक्त राज्य अमेरिकाका अधिकारीहरुले हालैमात्र सार्वजनिक गरेको सो प्रतिवेदन पूर्वाग्रही भएको आरोप लगाउनुभएको थियो ।
सिरियाले हालैमात्र करिब एकहजार ५०० नागरिकको ज्यान जानेगरी गरेको आक्रमणमा रासायनिक हतियारको प्रयोग गरेको अमेरिकाले दाबी गर्दैआएको छ । सोही कारण अमेरिकाले सिरियामाथि सैनिक कारबाहीको तयारी गरिरहेको बताइएको छ ।
रसियाली विदेशमन्त्री सेरगेयी लाभरोभले अमेरिकी अधिकारीको तर्क र उसका अधिकारीहरुले सार्वजनिक गरेको रासायनिक हतियारको प्रयोगसम्बन्धी प्रतिवेदनसँग आफूहरु सहमत हुननसकेको बताउनुभएको हो ।
रासायनिक हतियारको प्रयोग गरी हत्या गरेको भनी इन्टरनेटमा राखिएका शवहरु पनि साँचो नहुनसक्ने उहाँको तर्क थियो । उहाँले ती शवका बारेमा निकै ठूलो सङ्कास्पद अवस्था रहेको पनि उहाँले बताउनुभयो ।
रसियाले बिना प्रमाण नै पश्चिमा देशहरुले सिरियामाथि आक्रमण गर्ने योजना बनाएका आरोप लगाउनुभएको राजधानी मस्कोबाट प्राप्त समाचारमा जनाइएको छ । रासस÷एएफपी