«

»

राष्ट्रपति ओबामाले चीन र फ्रान्सेली नेताहरुलाई भेट्ने

    स्टकहोम, १९ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले जि२० को बैठकका क्रममा चिनियाँ र फ्रान्सेली नेताहरुलाई भेट्नुहुने भएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रतिको कार्यालय ह्वाइट हाउसले बुधबार दिएको जानकारी अनुसार उहाँले उक्त बैठकका क्रममा त्यहाँ पुगेका नेताहरुलाई भेटघाट गर्नुहुने भएको हो ।

सो बैठकमा राष्ट्रपति ओबामाले चिनियाँ राष्ट्रपति सि जिनपिङ र फ्रान्सेली राष्ट्रपति फाँसाँ होल्याण्डसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ– ह्वाइटहाउसले एक विज्ञप्तिमा जनाएको छ ।

तर सो बैठकमा राष्ट्रपति ओबामाले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने भेटघाटको कुनै औपचारिक कार्यक्रम नरहेको पनि सो कार्यालयले जनाएको छ ।

उहाँले राष्ट्रपति पुटिनलाई भेट्ने विषयमा विभिन्न समाचारहरु आइरहेका थिए । तर ह्वाइट हाउसले सो कार्यक्रम नरहेको स्पष्ट गरेको छ ।

सिरियामा आक्रमणका विषयलाई लिएर यतिखेर रसिया र अमेरिकाबीचमा विवाद जारी रहेको छ । सोही विवादका कारण नै उहाँले रसियाली राष्ट्रपतिलाई नभेट्ने हुनुभएको अनुमान गरिएको हो ।

सिरियामा आक्रमणका लागि अमेरिकाले आफ्ना सेना तैनाथ गरिरहेको छ । उसले सिरियाली सरकारले रासायनिक हतियारको प्रयोग गरेको भनीरहेको छ ।

तर रसियाले भने सिरियामाथिको आक्रमणका लागि पश्चिमा राष्ट्रहरुले रासायनिक हतियारलाई बहाना मात्र बनाइरहेको बताउँदै आएको छ । रासस÷एएफपी