«

»

चीनमा बाढीबाट ६५ को मृत्यु

   सेन्याङ्ग (चीन), १९ भदौ । उत्तरपूर्वी चीनका केही भागमा गत सातादेखि सुरु भएको मनशुनी वर्षा र बाढीका कारण ६५ व्यक्तिको मृत्यु भएको जानकारी स्थानीय अधिकारीहरुले बुधबार दिएका छन् ।
उत्तरपूर्वी चीनको लियाओनिङ प्रान्तको फुसनमा गत अगष्ट महिनादेखि निरन्तर रुपमा परेकोे पानीका कारण आएको बाढीमा परी ती नागरिकको ज्यान गएको थियो । बाढीको खतरा अहिले पनि रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

रसियाको सीमामा जोडिएको चीनको उत्तरपूर्वी क्षेत्रमा केही दशकपछि अत्यधिक वर्षा भएको बताइएको छ । बाढीबाट अन्य भौतिक पूर्वाधारमा पनि क्षति पुगेको सो समाचारमा उल्लेख छ ।

सो बाढीमा परी दर्जनौँ व्यक्ति बेपत्ता भएको प्रान्तीय बाढी नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्यालयले जनाएको छ । बेपत्ताको सङ्ख्या भने खुलाइएको छैन ।

यसका कारण एक लाख ४० हजार व्यक्तिलाई अन्यत्र सार्नुपरेको थियो भने एक अर्ब २० करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति पुगेको जानकारी चिनियाँ समाचार समिति सिन्ह्वाले दिएको छ ।

बाढी नियन्त्रणसम्बन्धी अधिकारीहरुले दुईहजार ५०० घर क्षतिग्रस्त भएको बताएका समाचारमा जनाइएको छ । यस बाढीबाट उत्तरपूर्वी चीनको जिलिन, लियाओनिङ र हैलोङ्गजीआङ प्रान्त बढी प्रभावित भएको समाचारमा उल्लेख छ । रासस÷सिन्ह्वा