आठौं साफ च्याम्पियनसीप फुटवल प्रतियोगिता अन्तर्गत मंगलवार पाकिस्तान बिरुद्धको खेलमा गोल गरेपछि नेपाली खेल क्षेत्रमा बिमल घर्तिमगर चर्चाको शिखरमा छन् । पाकिस्तानलाई नतिजा सुम्पने अवस्थामा पुगेको नेपाली टोलीमा अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका बिमलले खेलको अतिरिक्त समयमा गरेको गोलले खेल बराबरीमा टुङ्गियो । बिमलले नेपालको उद्दार मात्रै गरेनन् यसले नेपालको सेमिफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । नेपालको १६ वर्ष मुनिको राष्ट्रिय टोलीका स्ट्राइकर बिमललाई खेलको ६३ औं मिनेटमा नेपाली टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीले मैदान प्रवेश गराएर उपयुक्त निर्णय लिएको प्रमाणित भएको छ । १५ वर्षिय बिमलले पनि आफु राष्ट्रिय टीममा पर्नुको कारण प्रमाणित गरिदिएका छन् । नेपालबाट यो उमेरमा अन्तर्राष्ट्रिय फुटवल खेलेर गोल गर्ने रेकर्ड पनि बिमलको नाममा दर्ता भएको छ ।
बिमलले एउटा गोल गरेर सारा नेपालीलाई खुसी दिए । दशरथ रङ्गशालामा उपस्थित दर्शक नेपाली टोलीको सम्मानमा जुरुक्क उभिएर तालिले अभिभादन गरे । यो खुसीको खबर टेलिभिजनबाट हेर्ने, अनलाइनबाट प्रत्यक्ष हेर्ने र सुनेर खुसी व्यक्त गर्ने सवैले हृदयदेखि नै सलाम गरे । गोलको खुसीले उनले सारा फुटवलप्रेमी नेपालीलाई अवाक बनाइदिए । बिमलको एक गोलले फेरि सारा नेपालीहरुलाई एउटै मालामा उनिदियो, त्यहाँ सवैको खुसी एउटै थियो, जहाँ एउटै सिङ्गो नेपाल थियो । राजनीतिज्ञहरुको अदुरदर्शीताको कारण अस्तव्यस्त बनेको हाम्रो नेपालमा जनताको खुसीको लागि ‘गोल’ गर्न सक्नुपर्छ भन्ने तथ्य उनीहरुले टिनएजर्स बिमलबाट सिक्दा काफी हुन्छ ।
नवलपरासीको पञ्चनगर भूतहामा एक सामान्य परिवारमा ०५४ सालमा जन्मिएका बिमल यही भदौ ३१ गते मात्रै १६ वर्ष टेक्दैछन् । यु १६ टीमबाट राम्रो प्रदर्शन र उत्कृष्ट गोल गर्न सकेकैले उनी राष्ट्रिय टीममा पर्न सकेका हुन् । यति सानो उमेरमै उनको लगनशिलता र मेहनतले राष्ट्रलाई खुसी मात्र दिएको छैन फुटवलमा उनको सम्भावना र आवश्यकतालाई यसले उजागर पनि गरिदिएको छ । बिमल र अहिले राष्ट्रिय टीमका फरवार्ड भरत खवास जस्ता खेलाडीहरुलाई हेर्दा के प्रष्ट हुन्छ भने क्षमतावान खेलाडीहरु नेपालको कुना कुनामा रहेका छन्, उनीहरुको पहिचान गरेर उपयुक्त प्रशिक्षण दिन सकेमा मात्र नेपालको खेल क्षेत्रको भविष्य उज्ज्वल छ । एउटा गोलले टीमको संकटमोचन गर्ने र सारा नेपालीहरुलाई खुसी दिने बिमल, तिमिलाई बधाई । र, बधाई नेपाली खेल क्षेत्रलाई माया गर्ने सम्पूर्ण नेपालीहरुलाई ।