«

»

विनोद चौधरी नवलपरासी– १ बाट एमालेबाट सर्वसम्मत

chaudharyसञ्चारपत्र सम्वाददाता

गैडाकोट, १९ भदौ

अर्बपति विनोद चौधरी आगामी मंसिरमा हुने संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र नम्वर–१ मा नेकपा (एमाले) को तर्फबाट प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिसमा परेका छन् ।

एमाले नवलपरासी क्षेत्र नम्वर–१ को दलदलेमा बुधवार सम्पन्न बैठकले चौधरीलाई प्रत्यक्षतर्फ सर्वसम्मत उमेदवारको रुपमा सिफारिस गरेको क्षेत्रीय अध्यक्ष शिवहरी अधिकारीले जानकारी दिए । उद्योगपति चौधरी अघिल्लो संविधानसभामा नवलपरासी क्षेत्र नम्वर–१ बाटै समानुपातिकमा सभासद बनेका थिए ।

अधिकारीले क्षेत्र नम्वर–१ को विकासका लागि चौधरीलाई प्रत्यक्ष तर्फको उमेदवारका रुपमा एकमतले सिफरिस गरेको बताए ।

यसैबीच, युवांसघ नेपालले उद्योगपति चौधरीलाई जिताउन कुनै कसर बाँकी नराख्ने जनाएको छ । युवासंघ नेपाल नलपरासी क्षेत्र नम्वर–१ का कोषाध्यक्ष एवम् गैडाकोटका अध्यक्ष कृष्ण कँडेलले चौधरीलाई विजयी गराउन युवा संघको सवै शक्ति परिचालन गरिने बताए ।

‘समग्र जिल्ला र यस क्षेत्रको विकासका लागि पनि उहाँको जीत आवश्यक छ, त्यसलै हामीले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने तयारी गरेका छौं’ कँडेलले भने ।