«

»

परीक्षामा राम्रो लेख्ने विद्यार्थीमाथि आक्रमण

janakसञ्चारपत्र सम्वाददाता
भरतपुर, १९ भदौ
रामपुर कृषि क्याम्पसमा अध्ययनरत एक विद्यार्थी परीक्षामा राम्रो लेखेकै कारण कुटिएका छन् । बिएस्सी एजीका विद्यार्थी जनक पन्तले परीक्षामा राम्रो गरेकै कारण आफुमाथि कुटपीट र चक्कु प्रहार भएको बताएका छन् ।
अनेरास्ववियूका जिल्ला अध्यक्ष केशव कँडेलले त्रिभुवन विश्वविद्यालयद्वारा लिइएको बिएस्सी एजी दोस्रो वर्ष, तेस्रो सेमिस्टारको जेनेटिक्स विषयको प्रश्नपत्र राम्रोसँग हल गरेको कारण पन्तमाथि अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले आक्रमण गरेका जानकारी दिए ।  
अनेरास्ववियु क्रान्तिकारीका सरन भूजेललगायतले परीक्षामा राम्रो गर्ने अनेरास्ववियुका अमृत भण्डारी र सविन खनाललगायतका विद्यार्थीहरुमाथि मंगलवार हातपात गरेका अखिलका जिल्ला अध्यक्ष कँडेलले बताए । सोही विषयमा मिलापत्र गर्ने सहमति भएर क्याम्पसमा भेला हुँदै गर्दा हतियारसहित आएका क्रान्तिकारीका विद्यार्थीहरुले आफ्नो संगठनका विद्यार्थीहरुमाथि आक्रमण गरेका कँडेलको दावी छ ।
‘क्रान्तिकारीको आक्रमणबाट पन्त घाइते भए र अन्य साथीहरु भाग्न सफल भए’ अखिलका अध्यक्ष कँडेलले भने ।
अनेरास्ववियू (क्रान्तिकारी)का जिल्ला अध्यक्ष दिपेन्द्र वस्तीले भने अनेरास्ववियुका विद्यार्थीहरुबाट नै आफ्नो संगठनका विद्यार्थीहरुमाथि आक्रमण भएको दावी गरे । ‘उनीहरुको आक्रमणबाट रामपुरमा अध्ययन गर्ने हाम्रा दुई÷तीन जना विद्यार्थी घाइते भएका छन्’ वस्तीले भने । घाइतेको नाम सोध्दा भने वस्तीले आफुसँग उनीहरुको नाम नभएको बताए ।    
क्याम्पसका शिक्षक तथा कर्मचारीले परीक्षाको प्रश्नपत्र आउट गरेका वस्तीको दावी थियो । सोही विषयमा मंगलवार अखिलका विद्यार्थीहरुसँग विवाद भएको र बुधवार ‘हात मिलाउने कार्यक्रम रहेको’ क्रान्तिकारीका जिल्ला अध्यक्ष वस्तीले जानकारी
दिए ।
परीक्षामा प्रश्नपत्र गाह्रो आएको भए पनि राम्रोसँग तयारी गरेको कारण आफुहरुले परीक्षामा राम्रो गर्न सकेको तर प्रश्नपत्र लिक भएको भनेर क्रान्तिकारीका विद्यार्थीहरुले आफुमाथि हमला गरेको घाइते पन्तले जानकारी दिए । बिएस्सी एजी दोस्रो वर्ष, तेस्रो सेमिस्टारको जेनेटिक्स विषयको परीक्षा गत शुक्रवार सञ्चालन भएको थियो ।
पन्तको उपचारमा संलग्न भरतपुर अस्पतालका डाक्टर सतिसकुमार सिंहले उनको टाउकोमा धारिलो हतियार प्रहार भएको कारण तीनवटा टाँका लगाइएको जानकारी दिए । पन्तलाई बुधवार साँझ अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
अनेरास्ववियुका विद्यार्थीले आफ्नो संगठनका विद्यार्थीमाथि आक्रमण भएको भन्दै बुधवार रामपुर कृषि क्याम्पसमा तोडफोड गरेका छन् । उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष लगाएतका कोठामा तोडफोड गरेका क्याम्पस प्रमुख श्यामसुन्दर पन्तले जानकारी दिए । तोडफोडबाट झण्डै एक लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।