बाबुराम घिमिरे
अहिले नेपालको सञ्चार क्षेत्रले जनताको सूचनाको हकको संरक्षण र सत्य तथ्य समाचार दिन भन्दा पनि सुनेको आधारमा समाचारको आधिकारिक पुष्टी नगरी समाचार प्रकाशन प्रसारण गर्ने गरेका आलोचनाहरु खेप्नुपरिरहेको छ । यो अस्वस्थ प्रतिष्पर्धाले जनताको सुसूचित हुने अधिकारमा कति र कस्तो प्रभाव पारेको होला, विचारणीय छ । केही समय पहिला ब्रेकिङ न्यूजका नाउमा गोबरमा तामाको तार जडान गरी बिजुली बालेको समाचार जोडतोडका साथ प्रचार प्रसार गरियो । तर बिना पुष्टिको समाचार भएकाले पुनः सच्याउनु पर्दा कस्तो महशुश भयो होला र यसले त्यस संस्थाप्रति जनताले के सोचे होलान् ? यस्तो विषयमा सञ्चारकर्मी हुँ भन्नेहरु संवेदनशील हुने कि नहुने ? नेताको भाषण सबै समाचार नबन्न सक्छ तर जनताको पीरमर्का र चासोको विषय समाचार बनाउनु सञ्चारकर्मीको दायित्व मात्र होइन जिम्मेवारी पनि हो ।
भनिन्छ, प्रजातन्त्रको ऐना सञ्चार माध्यम र पत्रकारिता हो । तर हामी समाचार बनाउनुपूर्व देशका जनताको हितमा वा प्रजातन्त्रको पूर्णताका लागि कति समाचार बनायौं, हामीले बनाएको समाचारले प्रजातन्त्र बलियो भयो कि हाम्रो समाचार सिर्फ समाचार मात्र ? हामीले कहिल्यै पछाडि फर्केर हेरेका छैनौं । खाली समाचार बनायौं मात्र । देश अहिले संक्रमणकालमा गुज्रँदै छ । दुई वर्षमा संविधान दिन नसकेका दल ४ वर्ष ‘भात पचाएर’ पुनः जनतालाई आर्थिक बोझ थप्दैछन् । निर्वाचन घोषणा गरेर देश र जनताप्रति उत्तरदायित्व बनेको देखाएर जनतालाई गुमराहमा राख्ने प्रयास नहोला भन्न सकिँदैन । तसर्थ हामीले जनतालाई सुसूचित हुने गरि प्रत्येक पार्टी र उमेदवारको टिका टिप्पणी गर्नु जरुरी छ ।
छिमेकी देश भारतको राजनीतिक परिवेश केलाउने हो भने पनि फोहरी राजनीति गर्ने भनि चिनिएको राजनीतिक संस्कार विहिन भनि चित्रित बिहारमा समेत कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेपछि आफ्नो सम्पत्ति पार्टीलाई बुझाइन्छ भनिन्छ । तर हाम्रो देशमा समाजवादी नारा बोकेका कुनै पनि पार्टीको त्यस्तो अवधारणा बनेको पाईंदैन । भ्रष्टाचार बिहिन देश र समाज परिवर्तनको परिकल्पना गर्ने पार्टीले त्यस्तो निर्णय गर्न जरुरी छ । जबसम्म पार्टी नेताहरुले निजी सम्पत्ति राख्छन् तबसम्म भष्टाचार निर्मुल हुन्छ भनी सोच्नु मूर्खता बाहेक केही होइन । बिना त्यागको नेता बन्न सक्दैनन् पनि ।
खासगरि हाम्रो सामाजिक संरचना परम्परागत पूँजीवादी र अध्यात्मबाद भित्रको रुढीबाद भित्र जकडिएको छ । त्यसकारण पनि हाम्रा नेतामा परिवर्तनकारी सोच बन्न सकेको छैन । यिनीहरुमा सम्पत्ति पार्टीकरण गर्ने सम्बन्धमा प्रश्न गर्दा नेताहरुको जवाफ आउँछ– ‘हाम्रा पनि छोराछोरी छन्, श्रीमती छन्, आमाबाबा हुनुहुन्छ, खाने मुख छ’ त्यसैले हामीले निजी सम्पत्ति त कमाउनै प¥यो नि ड्ड’ यस्तो दृष्टिकोण अपनाएका भए विश्वका ‘राष्ट्रपिता’ बनेकाहरुलाई ती देशमा त्यसरी सम्मान दिन्थे होलान् ? नेता भएर कमाउनै पर्छ, राजनीति कमाउने पेशा बनाउनुपर्छ भन्नेहरुले आफु मरेपछिको अवस्थामा पनि परिवारको जिम्मा लिन खोजेका हुन् भने हामीले हाम्रा नेतालाई कसरी आदर्शवादी नेता मान्ने ? यस्ता विषयमा पनि सञ्चारकर्मीबाट नेताको पहिचान गराउने समाचार बनाउनै पर्छ । तबमात्र जनताको सुसूचित हुने अधिकार सुरक्षित गर्दै समाज परिवर्तन हुनसक्छ । अन्यथा नेताको यस्तो चरित्रले देश अगाडि बढ्न सक्दैन ।
अर्कोतर्फ आफुले लिएको पेश्की फस्र्यौट नगर्ने, राजस्वमा ¥याल काढ्ने जस्ता व्यवहार भएकालाई समयमै जनतालाई चिनाउन र सही नेताको पहिचान गराउन सञ्चारकर्मी पछाडि प¥यो भने पूनः संविधान सभाको निर्वाचन गरेर पनि जनताले जनताको संविधान पाउन सक्ने छैनन् । सञ्चारकर्मी जनताको पथप्रदर्शक बन्न सक्नुपर्छ । हिजोका दिनमा आफुले भोट दिने पार्टीले गरेको कर्तुत हामीले लेख्न वा भन्न सकेनौं, जसका कारण निर्वाचनमा जे जसरी पनि चुनाव जित्ने र सभासद् बन्ने हर्कत गरिए । जसका कारण दुई वर्षमा लेखिसक्नुपर्ने संविधान चार वर्षमा पनि दिन सकेनन् । बरु समय छँदै प्रयास नै नगरि संविधानसभाको हत्या गरियो, यो तीतो यथार्थ हो ।
संविधान निर्माण नै गर्ने मनसाय नेतामा छ भने ५१ जना कानुनविद्लाई जिम्मा दिंदा संविधान बन्न सक्छ, त्यो जनताकै संविधान पनि बन्छ । तर ६०१ वा ५८५ किन आवश्यक पर्छ ? नेताका चाकडीवाजहरुलाई सभासद् बनाउन या विगतको जस्तै जनताको रगत पसिनाबाट जम्मा भएको राजस्व हजम गरेर डकार्न ? नेपालमा विगतको इतिहास केलाउँदा राणा शाहीदेखि पञ्चायत उखेल्दा सम्म नै सानो आकारबाट शुरु भएको आन्दोलनले ठूलै फड्को मारेको इतिहास छ । तर जब समाजबादको नारा लगाउँदा अब त ठूलो परिवर्तन भएर हामी पछाडि पर्छौं र हाम्रो कालो धन बर्बाद हुन्छ भन्ने सोचेर इमान्दारलाई किनारा लगाउँदै तिनै चैतेको हालीमुहाली बढ्यो तबबाट नै संविधान आफ्नो अनुकूल नबन्ने भएपछि संगठित रुपमा बिरोध हुँदै आएको छ । जसका कारण अहिले कै परिस्थितिमा संविधान बन्ने सम्भावना न्यून हुँदैछ ।
अन्त्यमा हामी सञ्चारकर्मी एक न एक ठाउँका भोटर हौं तर अन्धो समर्थक होइनौं भन्ने कुरा मनन् गर्नु जरुरी छ । पत्रकारिताको सेरोफेरोको सन्दर्भमा चितवनमा पनि सत्य तथ्यमा आधारित भएर निष्पक्ष पत्रिकाको भविष्य सुनिश्चित छ । कुनै पनि पत्रिका अबको अवस्थामा पार्टीको मुखपत्र बनाएर चलाउनु भन्दा खोज खबर गरेर जनताको सूचनाको हक संरक्षण गर्दै अनुसन्धानमूलक पत्रकारिता गर्नुपर्छ । त्यसै दिशामा अग्रसर हुँदै ‘सञ्चारपत्र’ निष्पक्ष र निर्भिकताका साथ अगाढि बढोस्, मेरो शुभकामना । सत्यको जित अवश्य हुने हुँदा अप्ठ्यारा परिस्थिति आएमा पनि धैर्यताका साथ संघर्ष गर्दा प्रतिफल अवश्य राम्रो पाइन्छ ।