«

»

परिवेश : शान्तिपूर्ण निर्वाचनका लागि अभिव्यक्ति कला

Mohan Bashyalमोहन बश्याल
‘बोलेर बाठो र दौडेर छिटो हुँदैन’ यो नेपाली उखान पुरानै हो । चलनचल्तीमा प्रसस्तै प्रयोग हुने तर व्यवहारमा यसको आसय कमै मात्र प्रयोग हुने गरेको छ । कुनै कुरा भन्न आवश्यक भएपनि नभएपछि सकभर बोल्न पाए हुन्थ्यो भन्ने आम मानिसमा चाहना रहेको देखिन्छ । कतिपय महत्वपूर्ण अवसरमा बोल्ने क्रममा त्यही कुरा राम्रो ढंगले प्रस्तुत गर्न सकिने भएपनि हेलचक्राई गरेको पनि पाईन्छ । शाब्दिक संयोजन र अभिव्यक्ति कौशलताको प्रयोग नगर्दा समाजका लागि हितकर कुरा गर्दा पनि समाजमा त्यसलाई सहज रुपमा ग्रहण नगरेको पनि पाईन्छ । समाजमा विभिन्न फरक फरक विचार बोकेका मानिसहरु हुन्छन् । उनीहरुबाट  आफ्नो विचार ग्रहण गराउन केही अभिब्यक्ति कला पनि चाहिन्छ ।
एउटै विषयलाई फरक शब्द र शैलीमा प्रस्तुत गर्दा फरक सुनिन्छि । सहज सुनिन्छ । एउटा उदाहरणका लागि ‘तेरो बाउको टाउको’ भन्नु र ‘तिम्रो पिताजीको शिर’ भन्नुमा धेरै फरक छ । यी शब्दहरुको मन्थन गर्नुको खास कारण के हो भने समाजमा अधिकांश मानिस समाजिक हित चाहने नै हुन्छन् । समाजिक हित हँुदै गर्दा त्यसबाट आफ्नो हित कति हुन्छ भन्ने कुरामा कतिपयले चासो दिन्छन् कतिपयले चासो दिंदैनन् । समाजको हित हुँदै गर्दा ढिलो चाँडो त्यसको लाभ समाजमा बस्ने सबैले लिन सक्छन्, यो कुराको बुझाई कसैलाई हुन्छ कसैलाई हुँदैन । यी दुई प्रवृतिका बीचमा कहिलेकाहिँ बाहिरी ढंगले बैचारिक मत भिन्नता देखिएपनि यथार्थ कुरा के हो भने समाजको हित वा सुधार बिनाको व्यक्तिगत लाभ टिकाउ हुँदैन । आपसमा सल्लाह हुने र एक अर्काले प्रस्तुत गर्ने बिचारमा अभिव्यक्ति कलाको प्रयोग गर्ने हो भने समाजमा देखिएका मतभिन्नता धेरै हद सम्म समाधान गर्न सकिन्छ । यी कुरालाई अझ प्रष्ट पार्न अकबर र बिरबलको कथाको प्रसङ्ग सायद सान्दर्भिक हुन सक्छ ।

राजा अकबर र मन्त्री बिरबलको कथा नेपाली जनमानसमा धेरै लोकप्रिय छन् । नेपाली पाठ्यक्रममा पनि कतिपय कथाहरु समावेश गरि सकिएको छ । विद्यालयको पाठ्यक्रममा समावेश गरिएको एउटा कथा यहाँ स्मरण गर्दा अभिव्यक्त कलाको महत्वबारे अझ प्रष्ट हुन सकिन्छ ।
राजा अकबर गाउँ डुल्ने क्रममा एउटा आकर्षक चरा कसैले बिक्रीको लागि राखेको देखेछन् । त्यो चरा दरबारमा राखेर पाल्ने चाहना अकबरलाई भएछ । त्यसपछि चरा किनेर एक जना कर्मचारीलाई चराको हेरचाह गर्ने निर्देशन पनि दिएछन् । राजाको अतिप्रिय त्यो चरा पाल्नका लागि जिम्मा दिने क्रममा राजाले हेलचक्राई नहोस् भन्नका लागि त्यो चरा मरेको समाचार जस्ले ल्याउँछ उसले मृत्युदण्ड पाउँछ भन्ने आदेश पनि दिएछन् । करिब दशवर्ष पालेपछि एक दिन त्यो चरा मरेछ । चरा मरेपछि चरा पाल्ने जिम्मेवारी पाएको कर्मचारीलाई आपत प¥यो । राजाको प्रिय चरा मरेको खबर राजालाई सुनाउँदा ज्यान जाने र नसुनाउनु पनि कसरी ? राजालाई आखिर थाहा भइनै हाल्छ । मृत्युको बिकल्प नदेखेको चरा पाल्ने कर्मचारी एक्लै रोएर बसि रहेको बेला बिरबल आई पुग्छन् । बिरबलले रुनुको कारण सोधेपछि ती कर्मचारीले आफ्नो संकटको बेली बिस्तार लगाए र आफ्नो प्राण बचाउन जुक्ति निकाल्न बिरबललाई आग्रह समेत गरे । चरा मरेको खबर राजालाई आफुले जानकारी गराउने गराउने भन्दै ती कर्मचारीलाई ढुक्क भएर बस्न बिरबरले आग्रह गरे ।
सोही बमोजिम राजा अकबर भएको ठाँउमा पुगेर बिरबलले चराको बर्णन गरेछन् ‘महाराज तपाईंले दश बर्ष अघि मन पराएर दरबारमा ल्याई पालेको चरा आज उत्तानो परेर सुति रहेको छ । सास पनि फेरेको छैन ।’ बिरबलको कुरा सुनेर राजा अकबरलाई के भएछ भन्ने लागेर चरा पाल्ने ठाउँमा पुगेर हेरेछन् । उनले थाहा पाई हाले, चरा त मरि सकेको छ । त्यसपछि बिरबललाई राजा अकबरले भने ‘बिरबल यो चरा त मरि सकेको रहेछ, सिधै म¥यो नभनेर किन उत्तानो परेर सुतेको छ, सास फेरेको छैन भनेर भन्यौं ।’ त्यसपछि बिरबलले नम्र ढङ्गले भने ‘महाराज तपाईंले दश बर्ष अघि यो चरा किनेर पाल्न दिने क्रममा यो चरा मरेको खबर सुनाउनेलाई मृत्यु दण्डको सजायँ हुने आदेश दिनु भएको थियो । चराको राम्रो हेरचाह गर्दा गर्दै पनि चरा त उमेर पुगेर मरि हाल्यो । त्यो मरेको समाचार सुनाउँदा चरा पाल्ने जिम्मेवारी पाएको कर्मचारीको ज्यान जाने भएकाले महाराजले नै चरा मरेको थाहा पाउनु होस् भनेर यो जुक्ति निकालिएको हो ।’
यो कथा भएपनि केही सन्देश छ । एउटै सूचना वा जानकारी फरक ढङ्गले सम्प्रेषण गर्न सके त्यो ग्रहण गर्न कति सहज हुन्छ भन्ने सजिलै बुझ्न सकिन्छ । कुनै बिषयबस्तुमा कुरा बुझाउन सिधा ढङ्गले कुरा राख्दा त्यो सहज देखिन्छ तर त्यसलाई प्रस्तुत गर्ने शैली , प्रयोग गरिने शब्दावलीले त्यो कुरा कसरी ग्रहण गर्ने भन्ने कुरामा निर्णायक अर्थ राख्छ । आफुले राखेको अभिव्यक्ति यदी नकारात्मक रुपमा ग्रहण गरियो भने वक्तालाई त्यसले हित गर्ने कुरै आउँदैन् । त्यसैले आफुले बोलेका कुरा सहजरुपमा ग्रहण होस् भन्नका लागि अभिव्यक्ति कलाको प्रयोग गर्नैपर्छ । त्यसका लागी स्रोताको मनस्थिति र अवस्थाको विश्लेषण गर्नु जरुरी हुन्छ ।
अहिले मुलुकमा दोस्रो पटक गर्न लागिएको संविधान सभा निर्वाचनका लागि तोकिएको मिति नजिकिंदै छ । नेपाली राजनीतिक दलबीच समाज सुधार र विकासका नमुना प्रस्तुत गरेर प्रतिस्पर्धा गर्ने प्रचलन विकास भइसकेको छैन । अहिले सकभर अन्य दललाई वा प्रतिस्पर्धीलाई होच्याएर, गाली गरेर आफ्ना कुरा माथी पार्ने प्रचलन छ । यस्ता कुराले प्रतिस्पर्धी दलका नेता कार्यकर्ता आक्रोशित हुने र ठाउँ ठाउँमा झडप समेत हुने गरेको बिगतका बर्षका अनुभव छन् । यसले शान्तिका अग्रदुत गौतम बुद्धको मात्र होईन शान्तिपूर्ण ढङ्गले राजतन्त्रको अन्त्य गराउने जनआन्दोलनको पनि अवमूल्यन गरि रहेको हुन्छ । सम्वृद्धि सबैको चाहना हो तर त्यसका लागि नभइ नहुने पूर्वाधार शान्ति र स्थिरता नै हो । शान्तिका लागि अभिव्यक्ति कला धेरै महत्वपूर्ण छ । प्रतिस्पर्धामा रहँदा अर्काले गर्ने आलोचना सहने बानीको विकाश भइनसकेको अवस्थामा आलोचना गर्दा अभिव्यक्ति कलाको प्रयोग गर्नु नै श्रेयस्कर हुन सक्छ ।
नेपाली भाषामा संस्कृतबाट सिधै वा परिमार्जित भएर आउने शब्दको ब्यापक प्रयोग छ । विभिन्न भाषाका आगन्तुक शब्दको प्रयोग पनि प्रसस्तै छन् । झर्रा र ठेट नेपाली शब्दको प्रयोग गर्नु राष्ट्रियताको हिसावले धेरै महत्वपूर्ण हुने भएपनि अभिव्यक्ति कलामा बैकल्पिक शब्दको  प्रयोग सान्दर्भिक हुन सक्छ । ठाडो शब्दमा भन्दा विम्वात्मक ढंगले व्यङ्ग्य गर्नसके त्यो रोचक हुन सक्छ । अभिव्यक्ति स्मरणीय र प्रभावकारी पनि हुन्छ । नेपाली राजनीतिमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेकपा एमालेका केपी ओली लगायतको अभिव्यक्ति आलोचनाका हिसावले आक्रामक भएपनि उनीहरुले आफ्ना वाणीमा प्रयोग गर्ने उखान टुक्का, छोटा कथा र बिम्बको प्रयोग प्रतिस्पर्धी वा फरक बिचार राख्नेले पनि रोचक मानेर सुनेको पाईन्छ ।  कतिपय अवस्थामा एनेकपा माओवादीका बाबुराम भट्टराईले पनि बिम्ब र प्रतिकको प्रयोग गर्न थालेको पाईन्छ ।
विदेशमा हुने निर्वाचनमा अर्काको आलोचना गर्ने उमेदवारले अर्काको आलोचना गरेकै कारण आफ्नो लोकप्रियता गुमाएका उदाहरणहरु पढ्न पाईन्छ । अघिल्लो दिनको सर्वेक्षणमा अग्रपङ्तिमा रहेका नेताले प्रतिस्पर्धीको आलोचना गरेर भाषण गरेपछि गरिएका सर्वेक्षणमा एकाएक लोकप्रियता गुमाएका तथ्यहरु पनि पटक पटक सञ्चार माध्यममा आउने गरेका छन् । हजार शब्द खर्चिएर भन्न खोजेको कुरा के हो भने नेपाली जनताले चाहेको सम्वृद्धि हो, त्यसका लागि शान्ति र स्थिरता आवश्यक हुन्छ । अशान्ति र अस्थिरता ल्याउने एउटा स्रोत अर्काको बिना सित्तिको आलोचना र कलाबिहिन अभिव्यक्ति पनि हो । त्यसैले आउँदै गरेको निर्वाचनमा भाषण गर्ने नेताहरुले अर्काको आलोचना गरेको सुन्नु नपरोस् । आलोचना नगरी खाएको नपच्ने नेताहरुले पनि बिम्ब, प्रतिक, उखान टुक्का र सहज शब्दावली प्रयोग गरेर बिपक्षी वा प्रतिस्पर्धीलाई पनि रोचक लाग्ने शैलीमा भाषण गरुन्, शुभकामना छ ।