सृजना अर्याल
एउटा सन्देश दिन्छौं हामी तीज गीत लयमा
भुइँचालोले ज्यान नजाओस् भित्र घरैमा
भूकम्प र भुइँचालो जे भनेनि एउटै हो
पृथ्वी हलचलले पैदा हुने हो ।
भरतपुर नगरपालिका– १० का महिला स्वास्थ्य स्वयम्सेविकाको टोलीले नगरपालिका परिसरमा यो गीत गाउँदै छमछमी नाचे । नेपाली महिलाहरुको महान पर्व तीज आउन एक हप्ता बाँकी थियो । यसै अवसरमा भरतपुर नगरपालिकाले भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी चेतनामुलक कार्यक्रम आयोजना ग¥यो । उक्त तीज गीत प्रतियोगिता कार्यक्रममा नगरपालिकाका सबै वडाका स्वास्थ्य स्वयम्सेविकाहरुको सहभागिता थियो । भूकम्पीय जोखिम न्यूनिकरण गर्न सबैले सहयोग गरौं भन्ने ब्यानरका साथ उपस्थित भनपा– १० का स्वंसेविका प्रतियोगितामा पहिलो भए ।
निर्मुल पारौं दिदीबहिनी दलालहरुलाई
पैसाको लोभ देखाई एड्स सार्लान है
यस्तो पीडा सहने नारी संसारमा धेरै छन्
नलुकाउँ आफ्नो पीडा संघ सस्था छन्
प्रस्तुत गीती हरफ सूर्यमुखी आमा समूहका हुन् । उक्त गीत नौ वर्ष अगाडि चित्रसेन स्टारको आयोजनामा भएको प्रतियोगितामा गाइएको थियो । तेस्रो उपाधि जित्न सफल उक्त तीज गीत स्वास्थ्य र चेलीबेटि बेचबिखनमा आधारित थियो ।
नेपालका जनतामाथि सामन्तको चइन
आमचुनाव भएको गर्छ बइन
दोस्रो भयोे आम चुनाव बालिग मतको आधार
धाँधलीपूर्ण चुनावको केको कदर
प्रस्तुत तीज गीत हरफ पञ्चे चुनाव शिर्षकको हो । २०४३ सालमा प्रकाशित उक्त तीज गीत संग्रहमा पञ्चायती व्यवस्थाको दमन, शोषणका बारेमा लेखिएको थियो । तत्कालीन पञ्चायती व्यवस्थाको भर्सना गर्ने खालका तीज गीत त्यस समयमा गाउँथे । गीत मार्फत नै प्रजातन्त्रको आवाज बुलन्द गर्दथे । पञ्चायती व्यवस्थाको भण्डाफोर पनि नेपाली महिलाले तीज गीत बाट नै गरेका थिए ।
नेपाली महिलाहरुको महान पर्व तीजको रौनकताको एक पाटो तीज गीत पनि हो । लोक विधा अन्तर्गतको तीज गीत वास्तवमा चेतना र जागरणको माध्यम नै हो । नेपाली महिलाहरुले तीज गीतबाट नै समाज रुपान्तरणको पाइला चालेका हुन् भन्दा फरक पर्दैन ।
हुन त तीज पर्वको उत्पतिका सम्बन्धमा धार्मिक कथनहरु जोडिएको पाइन्छ । धार्मिक मान्यताका आधारमा भन्ने हो भने पनि पार्वतीले विद्रोह मार्फत नै तीज संस्कृतिको विकास गरेकि थिइन् भन्न सकिन्छ । उनले आफुले मन पराएको बर शिवका लागि ब्रत रुपी अनसन बसेकि थिइन् । निराहार अनसन पश्चात नै उनले शिवलाई पतिको रुपमा पाएकी हुन् । तर पुरुष मानसिकताले लेखिएका पुराणहरुले तत्कालित परिवेशलाई तोडमरोड गरेकाले पति कामनाकोे बर्त संस्कार परम्पराले मान्यता पायो । वर्तमानका नेपाली महिलाले यो बुझन् जरुरी छ । आफ्नो चाहनाको बर पाएपछि साथीसङ्गीसँग खुसी मनाएर गीत गाएर नाचेकी थिइन् पार्वती । पार्वतीले आफ्नो अधिकार पाएको दिन थियो तीज । त्यो खुुुसीमा साथ दिए विष्णु भगवानले, ताली बजाएर । संस्कृतमा तीजलाई हरितालिका यसै कारण पनि भन्ने गरिएको हो । बैदिक काल देखि नै मनाउन थालिएको तीज पर्व वास्तवमा समान अधिकार कै सेरोफेरोमा पर्दछ ।
स्त्रीको अपार शक्ति र सो को महिमा गानको लागि यो पर्वले नेपालमा प्राथमिकता पाइरहेको हो । तर यस संस्कृतिको महत्वप्रति आजपनि केहि पुरुष मानसिकताले भाँजो हालिरहेको छ । नेपाली महिलाहरुले गाउने नाच्ने सँस्कृति र परम्परालाई वर्तमान सरकारले नै बन्देज गर्न यसपटक प्रयास ग¥यो । गाउँघरमा बेलुका घरधन्दा सकेर मझेरीमा गीत गाउने सँस्कृति तीज पर्व समाज विकाससँगै परिवर्तित भएका थिए । दिन र रात समान हुने शहरी सँस्कृतिमा मझेरी कहाँ पाउनु ? महिलाहरु टोलमा जम्मा भएर दिउँसो गाउन थाले र खाजाको रुपमा गच्छे अनुसार दुई, चारसय उठाएर दरको रुपमा खान थाले । चौघेरोमा सीमित महिलाको उपस्थिति प्रजातन्त्र, लोकतन्त्रसँगै समाजमा बढ्यो । उनीहरुको परनिर्भरता संस्कृति पनि हट्दै गयो । जसले गर्दा तीज पर्वको शुभकामना कार्यक्रम आयोजन गर्न सक्ने भए ।
विभिन्न सङ्घ, संस्था, कलेज आदिले आÇना सहकर्मी र सहपाठी महिलाहरूलाई जम्मा गरेर दर खुवाउने कार्यले पनि व्यापकता थियो । यसले महिला भएकोेमा गौरव गर्ने परम्पराको विकास भएको थियो । आफुले काम गर्ने कार्यालयले दर कार्यक्रमको आयोजनाले महिला हुनुको पीडा भुल्न टेवा मिल्ने र पुरुष सहकर्मीहरुसँग दाजुभाईको सम्बन्ध विस्तार हुने महिलाहरुको भनाइ पाइन्छ । अर्कोतिर तीजको अगाडि दर खुवाउन नभ्याएकाहरूले तीज पछाडि पनि यस्ता कार्यक्रमहरू राख्ने गरेका छन् । त्यस्तै, चेलीहरूले भाउजु, बुहारीलाई पनि दर खान बोलाउने गरेका उदाहरणहरू पनि छन् । यसले चेलीहरू मात्र माइतीमा गएर रमाइलो गर्ने चलनका विपरित माइतीहरूले पनि चेलीहरू स“गस“गै रमाइलो गर्ने नयाँ प्रचलनको सुरूवात गरेको छ । जसका कारण माइती र चेलीबीचको सम्बन्ध नजिकिन पुग्दछ ।
यसरी हेर्दा तीज पर्व आफन्तहरूबीच आत्मीयताको पाटो बनेको छ तर दर खाने कार्यक्रममा रोक लगाउने प्रयास वर्तमान सरकारले ग¥यो । भड्किलो, महंगोको बहानामा महिला संस्कृति र पर्व माथि यो सरकारले हिंसा गरेको छ । तीज मात्र किन ? दशैको महङ्गो भोज, तिहारको जुवा रोक्ने तागत न त विगतका सरकारसँग थियो न त यो सरकारसँग नै छ । ती चाड पर्व महिला विशेषका नभएर हो ? वर्षैभरि लर्को लाग्ने दोहोरी रेष्टुरेन्ट, डान्स रेष्टुरेन्टमा हुने बिकृति रोक्न सरकारको ध्यान जानुपर्ने हो कि होइन ? दोहरीका नाच्ने गाउने कारखानामा महिलाको पहँुच नभएकोले छुट भएको हो ? केहि अपवादलाई छोडेर पुरुषले तीन सय ६५ दिन नै दर खाएका हुन्छन् । गाउँका भट्टी, शहरका रेष्टुरेन्टदेखि तारे होटलहरुमा गई पुरुषहरुले सधैं खानपानमा मस्ती गर्दा त्यसलाई रोक्न सरकारले किन पुरुषार्थ देखाउन नसकेको होला ?
त्यसो त तीज गीतको नाममा तीन महिना अगाडि नै अडियो भिडियो सार्वजनिक गर्ने केन्द्रहरुप्रति खोइ सरकारको आँखा पुगेको ? तीन महिना अघिदेखि तीज गीत भन्दै भाका र लय नै नमिल्ने नयाँ खालका तीज गीत किन बजाउन दिएको ? महिलाहरुलाई तर्साएर कार्यक्रम रोक्न लगाउने सरकारको ध्यान यतातर्फ जान के ले रोक्यो ? तीज संस्कार र संस्कृतिको संरक्षण गर्ने प्रमुख जिम्मा सरकारको होइन ? तीज गीत पुरुषले गाउने गीत नै होइन, धमाधम तीज गीतको मौलिकपन विस्थापन गरि क्यासेट विक्री वितरण हुँदा अख्तियार किन चुप बसेको ?
पहिले पहिले जनै पूर्णिमा पछि महिलाहरुले तीज गीत गाउन शुरु गर्दथे । रातीको खाना पछि काम धन्दा सकेर वरपरका महिलाहरु जम्मा भएर तीज गीत गाउने गर्दथे । त्यस समयमा प्रायः आफ्नै बारीमा फलेका काँक्रो, करेला लगायतका अचार, रोटी खाने गर्दथे । छरछिमेकका घरमा पालैपालो राती मझेरिमा बसेर गीत गाउने गर्दथे । परिवर्तनले महिलाहरुमा पनि शिक्षा, पहुँच बृद्धि भएको छ । अहिले उनीहरु घरपरिवारको चौघेराबाट निस्किएर समयको परिवर्तनसँगै अगाडि बढ्ने भइसकेका छन् । यो समयको माग पनि हो ।
पितृसत्तात्मक समाज व्यवस्था भएकोले नेपाली महिलाहरूले विवाह गरी श्रीमान्को घरमा जानुपर्दछ । विवाह पश्चात कर्मघर गएकी चेलीले माइत आउनका लागि तीज नै कुर्नुपर्ने बाध्यता विगतमा थियो । जस्तोसुकै अप्ठ्यारोमा पनि बुहारीलाई घरबाट माइती पठाउनुपर्दथ्यो । तीजमा बुहारीलाई माइती नपठाउनेहरूलाई नराम्रो रुपमा लिइन्थ्यो । विगतमा जस्तो हिजोआज माइतीले आफ्नो कामै विताएर चेलीवेटी लिन जानुपर्ने अवस्था अहिले छैन । टेलिफोन लगायतका प्रविधिको सहयोगबाट बोलाइएको निमन्त्रणाबाट पनि चेलीहरू माइती आउने गर्दछन् । माइती लिन नआए घरबाट नपठाउने भन्ने चलनमा आजभोलि परिवर्तन आएको छ । यस्ता पुरातनवादी सोचहरूलाई भने समयसँगै हटाउन सकेको खण्डमा तीज पर्वको महत्व झनै बढ्दै जाने देखिन्छ ।
तीज र माइती बीच अन्योन्याश्रित सम्बन्ध रहने भएकै कारण होला तीजमा कामकाजी महिलाहरू पनि समय मिलाएर माइत जाने गर्दछन् । विगतमा बुहारीलाई परिवारको सदस्यका रुपमा भन्दा पनि घरका काम गर्ने मान्छेको रुपमा हेरिन्थ्यो । उनीप्रति परिवारका कुनै सदस्यहरूले माया र आत्मीयता दर्शाउँदैन थिए । बुहारीलाई खाली कर्कस गरिन्थ्यो, दुःख र पीडा दिइन्थ्यो । तसर्थ आफूले वर्षभरी भोगेका ती दुःख र पीडाहरूलाई व्यक्त गर्ने माध्यम भनेको चेलीहरूका लागि तीज नै थियो । हिजोआज त्यो सोचाइमा केही कमी आएका कारण महिलाहरू आफ्नो व्यक्तिगत दुःख र गुनासाहरू भन्दा पनि समसामयिक विषय, राजनीतिक र सामाजिक क्रियाकलापहरूलाई गीतका रुपमा प्रयोग गरेर पालैपालो आफन्त तथा एकअर्काको घरमा जम्मा हुने, रमाइलो गर्ने र दर खाने नयाँ सुरूवातले एकआपसमा आत्मीयता बढ्दै गएर सम्बन्ध झन् प्रगाढ भएको पाइन्छ । यसरी हेर्दा तीज पर्व साथीसंगी र आफन्तहरूबीच आत्मीयताको पाटो बनेको छ ।
समग्रमा तीज पर्व महिला सशक्तिकरणको भरपर्दाे माध्यम हो । यो पर्वलाई समाज रुपान्तरणको दरिलो आधार, लैङ्गिक विभेदको अन्त्यको अस्त्र बनाउन सबै लाग्नु पर्दछ । तीज पर्वबाट सूचना र चेतनाको प्रसारण गर्ने माध्यम तीज गीत हो । यी विषयहरुमा सम्बन्धित निकायको ध्यान पुगोस्, तीजको अवसरमा सबै महिला दिदीबहिनीहरुमा हार्दिक शुभकामना ।