«

»

एफएमको आवाजसँगै बाँचिरहेका वैज्ञानिक

Ekal Silwal Photoएकल सिलवाल
संसारलाई सुखद् आविष्कारको उपहार सुम्पिने एक जना अमेरिकी वैज्ञानिकको दुःखद् अन्त्यको कथा हो यो । खासगरी एफएम रेडियो सञ्चालक र रेडियोकर्मीहरूलाई यसले द्रबित तुल्याउनेछ । रेडियोका स्रोताहरूलाई उनको जीवनकथाले चिमोटीचिमोटी रुवाउन सक्छ । आजसम्म ती सत्पात्रको नामसम्म नसुनेकोमा दोषानुभूतिले पोल्न सक्छ । आत्मग्लानीले आँशु चुहिन सक्छ । त्यस्तो भयो भने मलाई क्षमा गर्नुहोला ।
नेपालमा हालसम्म दर्ता भएका ४८० एफएम रेडियोमा ३६० वटा सञ्चालनमा छन् । तीमध्ये तपाईं जुनसुकै र जहाँसुकैको एफएम रेडियो सुन्नुस्, त्यसबाट बज्ने आवाजको पक्षमा लड्दालड्दै आज भन्दा ५९ वर्षअघि मृत्युको बाटो रोज्न अभिशप्त यी अमेरिकी वैज्ञानिक एफएम रेडियोको आवाजसँगै आजसम्म बाँचिरहेका छन् । उनको नाम हो– एडविन हवार्ड आर्मस्ट्रङ । वंशजको नाम चन्द्रमामा पाइलो टेक्ने पहिलो मानव नील आर्मस्ट्रङसँग मेल खाए पनि यी अर्कै आर्मस्ट्रङ हुन् ।
उनको योगदान र वियोगान्त जीवनबारे चर्चा गर्नुअघि रेडियो तरङ्ग आविष्कारको इतिहास सम्झौं । सन् १८९५ मा इटलीका गग्लिएल्मो मार्कोनीले तारको प्रयोग नगरीकन एक ठाउँबाट अर्को ठाउँमा संकेत पठाउन सकिने उपायको पहिलो पटक सफल परीक्षण गरे । सन् १९०१ मा उनले अमेरिकी महादेशमा बोलिएको आवाजलाई ताररहित आकाशे तरङ्गमार्फत् २१०० माइल दूरीको एटलान्टिक महासागर पारि युरोपमा पुु¥याउन सफलता पाए ।
सन् १९०६ मा एक ठाउँबाट पठाइएका त्यस्ता संकेतहरू अर्को ठाउँमा सुन्न सकिने यन्त्रको आविष्कार भयो, जसलाई भ्याकुम ट्युब भनियो । त्यो यन्त्र घरको सिङ्गै कोठाबराबर आयतनको हुन्थ्यो । त्यही भीमकाय उपकरणको विकसित रुप आजभोलिको रेडियो सेट हो । भ्याकुम टुयुबको आविष्कार भएदेखि नै अमेरिकामा वायरलेस स्टेशनहरूमार्फत् आवाज र संगीतको प्रशारण गर्न थालियो ।
अमेरिकामा मनोमानी ढङ्गले प्रशारण स्टेशनहरू खोल्ने होडबाजी शुरु भयो । तिनलाई व्यवस्थित गर्न अमेरिकी सरकारले सन् २०१२ मा कानुन बनायो । त्यही कानुनले तारविना सन्देश प्रवाह गर्ने प्रबिधिलाई पहिलो पटक ‘रेडियो’ नाम दियो । यस हिसाबले आमसञ्चारको दुनियामा ‘रेडियो’ शब्द जन्मिएको अहिले १०१ वर्ष भएछ ।
कानुनद्वारा व्यवस्थित भएपछि सरकारी अनुमति लिएर अमेरिकाकै पेन्सलभानिया शहरमा सन् १९२० मा खुलेको पिट्सवर्ग स्टेशन संसारकै पहिलो रेडियो स्टेशन थियो । त्यो पछि बन्द भयो । तपाईंहामीले आजकल पनि सुन्ने गरेको बीबीसी रेडियो त्यसको अरु दुई वर्षपछि सन् १९२२ मा बेलायतमा जन्मियो । बेलायती सरकारको अधिनमा रहेको त्यही स्टेशन आजसम्म बाँचेको विश्वको सबैभन्दा पुरानो रेडियो हो ।
ताररहित प्रबिधिमा आवाजको रुपमा प्रेषित सन्देश रेडियो तरङ्ग बनेर हावामा मिसिंदै रेडियो सेटसम्म पुग्छ र त्यहाँबाट पुनः आवाज बनेर श्रोताका कानकानमा गुञ्जिन्छ । रेडियो तरङ्ग आकाशमा जथाभावी उड्दैन, बरु यो निश्चित बाटो भएर यात्रा गर्छ । मार्कोनीले पत्ता लगाएपछि प्रचलनमा आएको रेडियो प्रशारण प्रबिधि एएम अर्थात् एम्प्लिच्युड मोडुलेशनमा आधारित थियो जुन लगानी, उपकरण र सञ्चालनका हिसाबले अत्यन्तै महङ्गो थियो र अहिलेसम्म पनि छँदैछ ।
हामीलाई थाहा नै छ, प्रशारण माध्यम छापाले पछ्याउनै नसक्नेगरी द्रूत गतिमा दूरदराजसम्म फैलन सक्छ । लगानीको दृष्टिले यी दुईथरी प्रबिधिबीच अहिले ठूलै खाडल बाँकी छ । आविष्कारको इतिहासले तीन दशक पार गर्दासम्म रेडियो प्रशारण प्रबिधि यति साह्रो महङ्गो थियो कि शक्तिशाली ट्रान्समिटर, मूल्यवान रिपिटर स्टेशनहरू र सञ्चालनमा अपार पूँजी चाहिने हुँदा राज्य आफै वा सीमित घेराभित्रका सम्पत्तिवालाहरूको पहुँचभन्दा वाहिर निस्कन सम्भव नै थिएन ।
त्यो चुनौतीलाई विदा गर्न १ सय २३ वर्षअघि सन् १८९० को डिसेम्बर १८ तारिखका दिन अमेरिकाको न्युयोर्क सहर स्थित चेल्सिया जिल्लामा जन्मिएका एडविन आर्मस्ट्रङको योगदान पर्खनुप¥यो । उनले आफ्नो सिङ्गो जीवन रेडियो तरङ्गहरूको अन्वेषण र आविष्कारको यात्रामा होमिदिए । आज पनि रेडियो इतिहासका सबैभन्दा अब्बल आविष्कारकका रुपमा संसारले चिन्ने एडविन एफएम प्रबिधिको पिताका रुपमा चाहिं सन् १९३० को पूर्वाद्र्धतिर जन्मिन पुगेका थिए ।
एडविनको बाल्यकालबारे थोरै वताऊँ । नर्थ प्रेसबिटेरियन नामको एउटा स्थानीय चर्च नजिक बसोबास गर्ने उनको परिवार सन् १८९५ मा त्यो चर्चसँगै त्यहाँबाट उत्तरतर्फ बसाइँ स¥यो । त्यसको तीन वर्षपछि एडविन आठ वर्षको छँदा उनलाई ‘सेन्ट भिटुज डान्स’ का नामले चिनिने दीर्घरोगले समात्यो, जसको कारण उनी लगातार दुई वर्षसम्म विद्यालय छाड्न वाध्य भए । शारीरिक पीडा र मानसिक तनाव दिइरहने त्यो रोगले उनलाई आजीवन नछाड्ने थाहा भयो ।
एडविनकै स्वास्थ्यमा सुधार ल्याउने उपाय खोज्दै उनका बाबु जोनले सन् १९०२ मा आफ्नो वासस्थान प्रसिद्ध हर्डसन नदीको किनारमा रहेको योङ्कर्स भन्ने स्थानमा सारे । पहिले दुई वर्ष विद्यालय छाड्दा गुज्रिएको पढाइ र रोगबाट उत्पन्न मानसिक बोझका कारण उनमा परम्परागत शिक्षाप्रतिको लगाव तोडियो । त्यसको बदलमा विद्युतीय उपकरणको सञ्चालन प्रबिधितर्फ उनको चाख मोडियो ।
काबु वाहिरको परिस्थिति सामना गर्नुपरेका कारण विद्यालयबाट बञ्चित भएर आफ्नो रुचि नै बदल्न पुगेका एडविनले एक पटक आफ्नै करेसामा फलामका पाताहरू जोडेर एन्टेना सहितको रेडियो टावर दुरुस्तै बनाएछन् । त्यो टावरमा चढ्ने र हामफाल्ने क्रिया गर्दै उनले पहिलो पटक आफ्नो प्रयोगबारे छिमेकीको ध्यान तानेका रहेछन् । त्यो अनौठो प्रयत्नबाट चकित परिवारजन र छरछिमेकीहरूको हौसलाबाट उनले आविष्कारयात्राको गोरेटो पछ्याएका थिए ।
एडविनका पिता जोन प्रसिद्ध बेलायती प्रकाशनगृह अक्सफोर्ड युनिभर्सिटी प्रेसका अमेरिका प्रतिनिधि थिए । उनले छोरा एडविनलाई पनि किशोरावस्थामा पुगेपछि त्यही प्रेसको जागिरे बनाए । यान्त्रिक दुनियामा एडविनको प्रगतिपथ त्यहींबाट डोरियो । उनी अक्सफोर्ड प्रेसका लागि अमेरिकी शाखाको उपाध्यक्षसम्म भएका थिए । तर छोराको रुचिलाई राम्ररी चिनेका पिता जोनले सन् १९१३ मा उनलाई कोलम्बिया विश्वविद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ अध्ययनका लागि भर्ना गरिदिए ।
त्यहाँ स्नातक तहमा पढ्दा उनले रिजेनेरेटिभ सर्किट पत्ता लगाए । सन् १९१४ मा २४ वर्षको छँदा त्यसको प्रतिलिपि अधिकार पाए । सन् १९१७ मा प्रथम विश्वयुद्ध चलिरहेका बेला युद्धरत अमेरिकी सेनाले उनलाई क्याप्टेन पद दिएर वायरलेस सञ्चार प्रणाली स्थापना गर्ने काममा सघाउन फान्सको राजधानी पेरिस पठायो । त्यसबेला एडविनले आफ्नो योगदान र निजी लाइसेन्सप्राप्त प्रबिधिहरू सेनालाई निशुल्क सुम्पिएर उदारता देखाएका थिए ।
सन्  १९१९ मा युद्ध सकिएपछि स्वदेश फर्किएर उनी फेरि आविष्कारकर्ममा लागे । सन् १९१८ मा सुपर हेटेरोडाइन रिसिभर र सन् १९२२ मा सुपर जेनेरेटिभ सर्किटको आविष्कार गरे । एफएम प्रबिधिमा कोसेढुङ्गा सावित यी दुई उपलब्धिले क्रमशः रेडियो फ्रिक्वेन्सीहरू आपसमा जुधेर आवाजमा उत्पन्न हुने अस्पष्टताको अन्त्य र एक ठाउँमा उत्पादित रेडियो तरङ्गलाई थप क्षमताका साथ टाढाको दूरीसम्म फ्याँक्न सकिने सुविधाको थालनी गरिदिए ।
उनले त्यसबेलाका अरु थुप्रै इञ्जिनियरहरूले झैं आफ्नो आविष्कारको उपयोग गरेर कुनै व्यापारिक प्रतिष्ठानमा जागिर खाने र पैसा कमाउने काम गरेनन् । बरु सबैलाई काम लाग्ने फराकिलो प्रबिधिको आविष्कारमा अथक यात्रा अघि बढाई नै रहे । आजको इलेक्ट्रोनिक प्रबिधिका अधिकांश आयामहरू एडविनकै योगदानका उपज हुन् । उनका आविष्कारहरूले विद्युतीय सञ्चारमा क्रान्ति ल्याएको थियो ।
मेहनतको फल मीठो हुन्छ भनिन्छ, तर एडविनलाई त्यसविपरीत त्यागको फल तीतो हुन पुग्यो । आफ्नो पहिलो आविष्कार रिजेनेरेटिभ सर्किटका लागि उनले पाएको अधिकारको स्वामित्वमाथि मुद्दा प¥यो । तर उनलाई मुद्दामामिलाले अलमल्याएन । कोलम्बिया विश्वविद्यालयकै इञ्जिनियरिङ प्रयोगशालामा अर्को महत्वपूर्ण आविष्कारको काममा उनी लागिरहे ।
परिश्रमको फल पाकेरै छाड्यो । उनी वाइड व्याण्ड फ्रिक्वेन्सी मोडुलेसन अर्थात् एफएम रेडियो प्रबिधिको आविष्कार लिएर अझ ओजपूर्ण खोजका साथ उदाए । एएम प्रबिधिको तुलनामा निकै सस्तो, सजिलो र सफा आवाजका साथ ध्वनि तरङ्गहरूलाई फराकिलो दूरीसम्म प्रशारण गर्न एफएमले सम्भव तुल्याइदियो । २६ डिसेम्बर १९३३ का दिन उनले एफएम रेडियो प्रबिधि आविष्कारको सर्वाधिकार पाए ।
सन् १९३४ मा आरसीए नामको एक कम्पनीका अध्यक्ष डेभिड सार्नोफले रेडियो प्रबिधिलाई सस्तो बनाउने काममा सहयोग गरिदिन एडविनसँग अनुरोध गरे । त्यसलाई स्वीकार्दै उनले सोही कम्पनीको प्रयोगशालामा स्वयंसेवी योगदान गर्न थाले । उनले १६ महिनासम्म आरसीए कम्पनीका लागि व्यापक मात्रामा एफएम प्रबिधिको स्थलगत परीक्षणहरू गरेर विताए । त्यसबेला एडविनले कम्पनीको एम्पाएर स्टेट बिल्डिङ नामक भवनको ८५औं  तलामा निर्मित प्रयोगशालाबाट साधारण एन्टेनाको प्रयोग गरी पठाएको रेडियो तरङ्ग ८० माइल अर्थात् १२८ किलोमिटर टाढासम्म प्रष्टसँग सुनिएको थियो ।
एएम रेडियो प्रबिधिका महङ्गा उपकरणहरू उत्पादन र आपूर्ति गरी बढी मुनाफा कमाइरहेका सार्नोफको लागि त्यो प्रयोग अभूतपूर्व चुनौती थियो । रेडियोको परम्परागत एएम प्रबिधिका उपकरणहरू आपूर्ति गर्ने काममा आरसीए कम्पनीको एक्लो साम्राज्य थियो । एडविनको साथ पाएपछि त्यो कम्पनी नयाँ र सस्तो सावित भएको एफएम प्रबिधिमा पनि पक्कड जमाउने दिशातर्फ अघि बढ्यो ।
एफएम प्रबिधिको सफल परीक्षण देखेपछि आरसीय कम्पनीको चाख नाटकीय रुपमा रेडियोबाट मोडिएर टेलिभिजन प्रशारणतर्फ प्रतिस्थापित भयो । त्याग गर्दा धोखा पाएका एडविनले त्यो कम्पनी छाडेर सन् १९३७ मा अमेरिकाको अल्पाइन, न्यू जर्सीमा आफ्नै सम्पत्ति खर्चेर डब्लु–टु–एक्स–एम–एन नामको ४० वाटको एफएम रेडियो खोले । ४२.८ मेगाहर्जबाट बज्ने उनको रेडियोको आवाज एएमको तुलनामा निकै कम क्षमतामा प्रशारण गर्दा पनि १६० किलोमिटरको दूरीसम्म एएम रेडियोको भन्दा कैयौं गुणा प्रष्ट आवाजमा सुनियो ।
आफ्नो मुनाफाको साम्राज्य खुम्चिने भएपछि डाहले जलेको आरसीए कम्पनीले एफएम प्रबिधिलाई अग्रणी हुनबाट रोक्नेगरी नियमकानुन बदल्न संघीय सञ्चार आयोगलाई दबाब दिन थाल्यो जसको नेतृत्व एडविनका पुराना साथी सार्नोफले गरे । व्यापारिक स्वार्थसँगै सशक्त हुन पुगेको दबाब थेग्न नसकेपछि सञ्चार आयोगले एफएमलाई फ्रिक्वेन्सी फेर्नुपर्ने नियम लगाइदियो । पहिले ४४ देखि ५० मेगाहर्जसम्म तोकिएकोमा एफएम रेडियोले त्यसपछि ८८ देखि १०८ मेगाहर्जको फ्रिक्वेन्सी लिनुपर्ने भयो ।
संशोधनले उच्च फ्रिक्वेन्सीको नयाँ व्याण्डबाट रेडियो सञ्चालन गर्ने लाइसेन्स लिनुपर्ने भयो । एफएम रेडियोलाई कानुनी हतियारले हानेर घाइते पारिएपछि यो क्षेत्रमा आउन लागेका अरु लगानीकर्ता पनि निरुत्साहित भए । पहिलेदेखि पक्कड जमाएर बसेका एएम प्रबिधिवालाहरूकै दिन फि¥यो, किनभने उच्च फ्रिक्वेन्सीमा गएपछि एफएमहरूलाई पनि उनीहरूले उत्पादन गरेका उपकरण र वायर सेवाहरूमार्फत् रिले प्रशारण गर्नुपर्ने वाध्यता उब्जियो ।
आर्थिक रुपमा थला परेका एडविनले आफ्नो शिशु रेडियोलाई पूँजी र प्रबिधि थपेर पुनर्जीवन दिन सकेनन् । निर्धन लगानीकर्ता र निमुखा नागरिकको सेवामा समर्पित उनको आविष्कारबाट बलियाबाङ्गा नै मोटाउने अवस्था आयो । साहस र इमानको अग्निपरीक्षा त्यतिमै सीमित रहेन । आरसीए कम्पनीले एडविनकै प्रयोगलाई प्रमाण बनाएर एफएम प्रबिधिको आविष्कारक आफू पनि भएको दाबी गर्दै प्रतिलिपि अधिकारको छुट्टै स्वामित्व लियो । त्यतिबेला एडविनलाई ज्यूँदै मरेको महसुस भयो ।
आफ्नो आविष्कारको सर्वाधिकार चुँडिएपछि उनी हातखुट्टा काटिए झैं भए । अनुपम आविष्कारका लागि एफएम रेडियो उपयोगकर्ताहरूसँग रोयल्टी रकम दाबी गर्ने अधिकार पनि गुमाए । अन्याय र पीडाको उकुसमुकुस खप्न नसकेपछि अन्ततः उनी ज्युँदै मार्ने आरसीए र सघाउने अरु कैयौं कम्पनीहरू विरुद्ध न्याय माग्दै अदालत गए ।
आर्थिक रुपले रित्तिएका र मानसिक रुपले विरक्तिएका एडविन अनगिन्ती मुद्दामा लड्दालड्दै तहसनहस हुन पुगे । सन् १९५३ को अन्त्यसम्म मुद्दा लड्दा उनीसँग सम्पत्तिको नाममा कौडी पनि बाँकी रहेन । थियो त केवल कोलम्बिया विश्वविद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ विषय पढाउने प्राध्यापकको परिचय । त्यसो त उनले विश्वविद्यालयमा वर्षको एक डलर तलब खान्थे र हजारौं डलर आफ्नो सम्पत्ति खर्च गरेर अनुसन्धान गर्थे ।
सम्पत्ति सकिएपछि श्रीमती म्यारिओनसँग पनि उनको सम्बन्ध चिसियो । सन् १९५३ को धन्यवाद दिवसका दिन भएको वादविवाद र तर्कपछि उनलाई श्रीमतीले छाडिदिइन् । त्यसपछि एक्लिएका एडविनले १९५४ जनवरी ३१ तारिखका दिन उनले आफू बस्दै आएको न्यूयोर्क सिटी अपार्टमेण्टको झ्यालमा झुण्ड्याएको एसी निकालेर प्वाल बनाए, अनि १३ औं तलामाथिको त्यही अपार्टमेण्टबाट हामफालेर आत्महत्या गरे ।
उनको शव भोलिपल्ट विहान तेस्रो तलाको छतमा एक जना घरेलु मजदुरले फेला पारेका थिए । हिजोआज अति लोकप्रिय एफएम रेडियो प्रबिधिका आविष्कारकसँग जीवनको अन्तिममा आफूले लगाएको एउटा ओभरकोट, टोपी, स्कार्फ र पञ्जा मात्र बाँकी थियो । उनकै आविष्कारको उपयोग गरेर व्यापार सपार्नेहरू मुनाफाको सगरमाथा चढिरहेका थिए । त्यस्ता द्रव्यदासीहरू आज पनि संसारभर छन् ।
एडविनले देहत्याग गर्नुअघि आफ्नी श्रीमतीको नाममा लेखेको दुई पृष्ठको सुसाइड नोट उनकै अपार्टमेण्टमा फेला प¥यो । त्यसमा  लेखिएको थियो, ‘तिमीलाई फेरि देख्न नपाउँदा म विक्षिप्त छु । तिम्रो मन दुखाएकोमा मलाई गहिरो पश्चात्ताप छ । ईश्वरले तिमीलाई बचाइराखुन् र मेरो आत्मालाई दया गरून् ।’
एडविनको ६४ वर्षे जीवनकालमा १४ वर्ष पूरै मुद्दामामिलामा वितेको थियो । उनको त्यो लगानी एफएम रेडियोलाई सर्वसुलभ बनाएर संसारभर स्थापित गर्नकै लागि थियो । एडविनको एक साथीको अनुमानमा १४ वर्ष मध्येको ९० प्रतिशत समय आरसीए कम्पनी र बाँकी १० प्रतिशत अन्य व्यक्ति तथा कम्पनीका विरुद्धको कानुनी लडाइँमा खर्च भएको थियो । न्यायिक युद्धमै दशौं लाख अमेरिकी डलरको सम्पत्ति सर्वनाश भएपछि उनी आफ्ना कानुन व्यवसायीको पारिश्रमिक दिन पनि नसक्ने भएका थिए ।
एडविनकी श्रीमतीले उनलाई जीवनपछि भने साथ दिइन् । अदालतमा विचाराधीन मुद्दाहरू लडिदिइन् । अन्ततः उनको दुःखद् अन्त्यपछि धेरै मुद्दा एडविनकै पक्षमा फैसला भयो । त्यसलाई कसरी सुखद् मान्नु ! किनभने मरेर जितेका उनको जीवन सम्झेर धेरै पछिसम्म पनि हाँस्दै हिंडेका थिए, हारेर बाँचेकाहरू । एडविनले जीवन छँदा न्याय नपाए पनि एफएम रेडियोबाट बज्ने आवाजको प्रत्येक कम्पनमा उनको मुटु धड्किइरहनेछ । हाम्रा एफएम रेडियोहरूलाई यो थाहा छ ? छ भने प्रत्येक वर्ष आउने स्मृति दिवसमा किन अलप छन् एडविन आर्मस्ट्रङ ?