«

»

रहेनन् नरबहादुर खाँड

Khad 1सञ्चारपत्र सम्वाददाता
भरतपुर, २२ भदौ
नेकपा एमाले केन्द्रीय सल्लाहकार कमिटि एवम् केन्द्रिय अनुशासन कमिटिका पूर्व अध्यक्ष नरबहादुर खाँडको शनिबार विहान निधन भएको छ । एमालेका पूर्व केन्द्रिय सदस्य समेत रहेका खाँडको ७१ वर्षको उमेरमा भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचारको क्रममा निधन भएको हो ।
 गीतानगर– ६ केशरवाघका उनी लामो समयदेखी क्यान्सर रोगबाट पीडित थिए । खाँडको पार्थिव शरीरमा शनिबार नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको तर्फबाट श्रद्धाञ्जली दिएका थिए । नेकपा एमाले चितवनको भरतपुर– १० मा रहेको पार्टी कार्यालय पुगेर नेपालले श्रद्धाञ्जली दिएका हुन् ।
श्रद्धाञ्जली सभामा वरिष्ठ नेता नेपालले स्व. खाँडले पु¥याएको योगदानको कदर गर्दै उनले देखाएको बाटोमा लाग्नुपर्ने बताए । एक प्रेरक व्यक्ति गुमाउँदा पार्टी र देशलाई ठूलो क्षती हुन पुगेको उनले बताए । खाँड पछिल्लो पटक नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को सदस्य रहेका थिए ।
खाँड चितवनको स्थानीय विकासमा समेत सक्रिय रहेका थिए । भरतपुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका पूर्व बोर्ड सदस्य समेत रहेका उनले अस्पतालको गुरुयोजना निर्माणमा महत्वपूर्ण भुमिका निभाएका थिए ।
एमाले निकट जेष्ठ नागरिक मञ्चको केन्द्रिय संयोजक र जेष्ठ नागरिक सेवा समाज नेपालका संस्थापक एवम् केन्द्रिय अध्यक्ष समेत रहेका खाँडले जेष्ठ नागरिकको हक र अधिकारका बारेमा पनि आवाज उठाएका थिए । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, सामुदायिक अध्ययन केन्द्र गीतानगर, शहिद स्मृति मावि पारसनगरलगायत शिक्षासँग सम्बन्धित संस्थाहरुमा प्रत्यक्ष सहभागी भएका उनको चितवनमा शिक्षाको विकासको लागि महत्वपूर्ण योगदान रहेको छ ।  
राजनीतिका अलावा समाजसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य क्षेत्रमा गरेका कामहरुले गर्दा समाजमा उनको एक प्रतिष्ठित समाजसेवीको परिचय पनि बनेको छ । राजनीतिमा सक्रिय हुँदा उनी भूमिगत हुनुका साथै जेलमा पनि बस्नुपरेको थियो । पञ्चायतकालमा उनी गौर, वीरगञ्ज र भरतपुर जेल बसेका थिए ।
आफुले सिकेको, देखेको र भोगेको अनुभवलाई उनले कृति मार्फत प्रस्तुत गरेका छन् । खाँडले लेखेका हिजो आज र भोलिको चीन, क्रान्तिको नेतृत्व, कार्यकर्तामा देखिने गलत चिन्तन र त्यसको निराकरण, समाजमा दास युग प्रकाशित छन् ।
नेकपा एमाले चितवनले शनिबार नै पार्टी कार्यालयमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा चितवनका राजनीतिक दलका नेता, कार्यकर्ता, विद्यार्थी तथा सर्वसाधारणले स्व. खाँडप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । स्वः खाँडको शनिबार नै देवघाटमा अन्तिम संस्कार गरिएको छ । स्व. खाँडको जन्म वि.सं.१९९९ साल कार्तिक १७ गते स्याङजा जिल्लाको वालिङ बाघखोर गाविस वडा नम्वर–२ मा भएको थियो ।  
नेकपा एमाले चितवनले शनिवार एक शोक वक्तव्य प्रकाशित गरि खाँडको निधनले नेपालको वामलोकतान्त्रिक आन्दोलन, सामाजिक आन्दोलनका साथै सिङ्गो नेकपा एमालेलाई अपुरणीय क्षति पुगेको र पार्टी अत्यन्त मर्माहत भएको जनाएको छ । एमालेले शोकको यस घडिमा स्व. खाँडप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।