«

»

बढ्दै लोपोन्मुख दुर्लभ चरा

GUD RA CHARA 2मोहन बस्याल
रत्ननगर, २५ भदौ
पूर्वी चितवनको रत्ननगर– ७ मा रहेको टिकौली तालको संरक्षण तथा व्यवस्थापन गरेपछि ताल वरिपरि लोपोन्मुख दुर्लभ चराहरुको संख्या बढेको छ । टिकौली ताल क्षेत्रमा विगत चार वर्ष देखि नेपालमै दुर्लभ रहेका लोपोन्मुख पाँच प्रजातिका चरा र तिनका गुँडहरु प्रशस्त देखिन थालेको बर्ड एजुकेशन सोसाईटी चितवनका निवर्तमान अध्यक्ष बासु बिंडारीले जानकारी दिए ।
सोसाईटीले गरेको गणनामा ताल आसपासको क्षेत्रमा मात्र घुँगीफोर गरुढको चार सय ३१ वटा गुँड फेला परेको बिडारीले बताए । यस्तै, नेपालमै दुर्लभ मानिएको सोईरो ठुँढे जातको चराका पनि आठ वटा गुँड ताल आसपासमा देखिएको उनले जानकारी दिए ।
बिंडारीका अनुसार गणनाको क्रममा नेपालमै दुर्लभ मानिएको हरिहाँस, सामरी र सिललिले पनि ताल आसपासमा देखिएको छ । सन् २०११ मा उक्त  क्षेत्रको अनुगमन गर्दा बिश्वमै दुर्लभ मानिएका र नेपालबाट लोप हुन लागेका चार प्रजातिका चराको दुई सय ४७ वटा गुँड उक्त क्षेत्रमा देखिएको थियो । तर सन् २०१२ मा गणना गर्दा गुँको संख्या बढेर दुई सय ८३  पुगेको बिंडारीले जानकारी दिए ।
नेचर गाईड समेत रहेका बिंडारीले टिकौली तालमा माछा मार्न रोक लगाएर पानीको सतह यथावत राख्न बाँध बाँधिएपछि एकाएक चराको संख्या बढेको बताए । चितवनको बर्ड सेन्चुरी (चराको मुख्य बासस्थान) को रुपमा टिकौली ताल क्षेत्र विकास भइरहेकोले हाईट टावर बनाउन सके चरा हेर्ने पर्यटक आकर्षित गर्न सकिने उनको सुझाव छ । पूर्व–पश्चिम राजमार्गबाट सय मिटरको दुरीमा रहेको र विश्व रामसार सूचीमा सूचीकृत बीसहजारी ताल जाने बाटोमा रहेकोले पर्यटकीय केन्द्र बनाउन सहज भएको उनको भनाई छ ।
केही समय अघि सम्म चितवन राष्ट्रिय निकुञ्जको कोर एरिया (मध्यक्षेत्र) मा मात्र देखिने नेपालमै लोपोन्मुख मानिएका जलेवा, सिलसिले, कर्रा सावरी, कालो जुन बकुल्लो लगायतका चराहरु पनि ताल आसपासमा पर्याप्त देखिएको बर्ड एजुकेशन सोसाईटीका निवर्तमान अध्यक्ष बिंडारीले जानकारी दिए । हिउँदको समयमा सोईरो ठुँडे लगायतका चराहरु पनि देख्न सकिने उनले जानकारी दिए । ताल आसपासमा सालका अग्ला रुख रहेका र ताल नजिकै खेती हुने क्षेत्र रहेकोले चराहरुले ताल वरिपरी गुण लगाउने र खेतीमा बिचरण गर्ने जानकारहरु बताउँछन् ।
२०५२ साल बाटै स्थानीय बासिन्दाले रेखदेख गर्दै आएको टिकौली मध्यवर्ती सामुदायिक बन २०६२ सालमा समुदायमा हस्तान्तरण भएको थियो । संरक्षण तथा व्यवस्थापन गर्नुअघि सामान्य घोलको रुपमा रहेको ताल माछा मार्ने क्रममा पानी सुकाईने भएकोले झार भरिएर घाँसे मैदान जस्तो हुने अवस्थामा पुगिसकेको थियो ।
ताल बनाएर माछा पालन गर्ने र पर्यटक आउने मौसममा ढुङ्गा चलाउने उद्धेश्यले तालको संरक्षण र व्यवस्थापन गरेपनि चरा र अन्य दुर्लभ बन्यजन्तुको बासस्थान बढेपछि माछा पालनका लागि छुट्टै ‘चेपाङ्ग ताल’ निर्माण गरिएको बन समितिका अध्यक्ष बुद्धि बिकले जानकारी दिए । टिकौली मध्यवर्ती सामुदायिक बनले टिकौली तालमा माछा मार्न रोक लगाउन टिकौली तालको नजिकै चेपाङ ताल निर्माण गरेको छ ।
चेपाङ तालबाट उत्पादन भएका माछा बिक्री गरि आएको रकम चेपाङ, बोटे समुदायको विकासका लागि खर्च गर्न थालिएपछि टिकौली तालको अवस्थामा सुधार आएको बन समितिका अध्यक्ष बिकको भनाई छ । ताल संरक्षण गरेपछि पानीमा आश्रित चरासँगै मगर गोही, अजिङ्गर, कछुवा पनि प्रसस्त देखिन थालेका उनले जानकारी दिए । तालको सरसफाई गरिने भएकाले मृग, हरिण, चित्तल, बँदेल तथा दुर्लभ बन्यजन्तु बाघ  र गैंडा समेत ताल वरपर धेरै पटक देखिएको बिकले बताए ।
ताल वरपर चराको संख्या बढेपछि पानीमा आश्रित सबै प्रकारका चराको लागि बासस्थान होस् भन्नका लागि त्यस्ता चराले बस्न रुचाउने बाँस, शिरिष,  लगायतका जातका बिरुवा ताल वरपर रोपिएको बन समितिका उपाध्यक्ष समर बहादुर मल्लले जानकारी दिए । संरक्षण शिक्षा मार्फत खेतीमा विषादी प्रयोगमा न्युनिकरण तथा चरा मार्ने गुलेली निषेध कार्यक्रम पनि सञ्चालन गरिएकाले उक्त क्षेत्र अहिले चराको सुरक्षित बास स्थान बनेको उनले बताए ।