पार्वती रावल
मुलुक अहिले दोश्रो संविधान सभा निर्वाचन तर्फ अघि बढिरहेको छ । नेपाली जनताको हक अधिकार सुनिश्चित गर्ने र मुलुकलाई संक्रमणकालिन अवस्थाबाट मुक्त गराई शान्ति, सुरक्षा, सु–शासन, विकास र अग्रगमनमा लान र जनआन्दोलनको उपलब्धी रक्षा गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिसामा मुलुकलाई अगाडि वढाउन नयाँ संविधान आवश्यक छ । तर दोश्रो पटक हुन गइरहेको संविधान सभा निर्वाचनमा भाग लिनु पूर्व आम नेपाली जनताले विगत संविधान सभा निर्वाचन र संविधान सभामा भएका गलत क्रियाकलापहरुको समिक्षा तथा विश्लेषण गर्न जरुरी छ । विघटित संविधान सभामा ठूलो दल एकिकृत नेकपा माओवादीको गलत भूमिका बारे समयमा नै स्पष्ट हुन जरुरी छ । संविधानका सवैजसो कामहरु पूरा भएपनि मुख्य रुपमा प्रदेशहरुको बिभाजनको संख्या र नामका बिषयमा सहमती नहुँदा संविधान बन्न नसकेको हो । एमाओबादीले उठाएको एकल जातिय राज्यका कारण संविधान नबनेको कुुरामा अब कुनै पनि भ्रम पाल्नु कमजोरी हुन्छ । सिमित छ वटा जातका नाममा राज्यको नामकरण गर्ने र देशमा रहेका एक सय २६ जातजाति, एक सय २३ भाषा भाषीलाई उपेक्षा गर्ने काम एमाओबादीले गरेको कुरा अब कसैका सामु छिपेको छैन ।
एमाओबादीको असली उद्धेश्य र चरित्र के हो भन्ने बारेमा अव नेपाली जनताले बुझ्न ढिला गरे नेपालको भविष्य नै खतरामा पर्नेछ । कम्युनिष्ट पार्टी भएर वर्गीय मुद्धालाई प्राथमिकता दिनुपर्नेमा जातिय मुद्धा उठाएर सदियौं देखि मिलेर बसेको नेपाली समाजमा जातिय द्वन्द्व फैलाउने काम गर्दै जातिय बिखण्डनको बीउ रोप्ने एमाओबादीलाई नेपाली समाजले बुभm्न जरुरी छ । एकल जातिय राज्यका सुत्रधार प्रचण्ड जातजातिलाई लडाउने र आफू फाइदा लिन कुन तहसम्म पुग्दा रहेछन् भन्ने कुरा जेठ १४ नजिकिंदै गर्दा जातजातिलाई सडकमा गएर प्रतिकार गर्न उक्साउनु, प्रतिगामीहरुले सडक कब्जा गरे, जाउ गएर लखेट भन्ने जस्ता अति नीच ढङ्गले प्रस्तुत हुनु नेपालकै भविश्य आफ्नो हातमा रहेको बताउने प्रचण्डलाई सुहाउने कुरा हो ? गएको जेठ २ गते दलहरुका बीचमा १२ वटा साझा पहिचानका आधारमा राज्य बनाउने सहमतीवाट एकाएक पछाडी फर्केर संविधानसभा भङ्ग गराउन उद्दत व्यक्ति कोही हो भने त्यो प्रचण्ड र एमाओवादी भएकोमा कोहि किन भ्रमित हुने ? देशलाई जातिय विखण्डन तिर लैजाने दल र पार्टीको पछाडी लाग्दा भोलि देश नै नरहने खतराको साछी कोही किन बन्दैछ ? लेण्डुप दोर्जेले जस्तो क्रान्तिकारी कुरा गरेर जनताको भोट बटुल्ने तर थाहा नै नदिई देश बेच्ने काममा उद्दत छैनन् यस्ता प्रवृतिहरु भन्नेमा अब नेपाली जनताले सचेत बन्नुपर्दछ । देश बेचिएपछि मात्र थाहा पाएपछि पश्चाताप बाहेक अरु केहि गर्न सकिंदैन । कतै जातिय विखण्डन ल्याएर, भारतीयहरुलाई हुलका हुल नागरिकता वितरण गर्न लगाएर त्यस्तै काम त भैरहेको छैन ? यस्ता दल र प्रवृत्ति माथि जनताले खबरदारी गर्नुपर्छ । त्यो खबरदारी गर्ने समय अहिले आएको छ ।
माधव नेपालको सरकार बन्दा भारतले बनाएको भनेर झोक फेर्न नागरिक सर्वोच्चता हरायो भन्दै सिमा सिमामा गएर कुर्लने प्रचण्डको हविगत र उनको सक्कली अनुहार अहिले पर्दाफास भएको छ । नेपाली जनताको रगत लिने र भारतलाई माओवादी युद्धले केहि असर गर्दैन तर नेपालमा भने आतङ्क मच्चाउन पाऊँ भनेर चिठ्ठी लेख्ने माओवादीलाई अब राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका कुरा गर्ने ठाउँ कहिँ कतै बाँकी छ ? नेपाली जनतालाई बलिको बोको बनाएर, आफु भने भारतीयहरुको दानापानी खाने एमाओवादीको उद्देश्य के हो भन्ने बारेमा नेपाली जनताले अब चिन्न ढिला गर्नुहुँदैन । चर्चामा आउन कहिले राजा बीरेन्द्रसँग एकता गर्न चाहेको, उनको हत्या, मदन भण्डारीको हत्या भारतले गरेको हो भनेर अप्रत्यक्ष रुपमा भन्ने, उनीहरु राष्ट्रबादीहरु हुन्, राष्ट्रवादीहरुको हत्या हुने गरेको छ र आफु पनि राष्ट्रवादी भएकोले हत्या गर्न खोजिएको भनेर अनेक कोणबाट राजनीतिलाई आफु केन्द्रित गर्न खोज्ने पात्र नै प्रचण्ड हुन् । राष्ट्रबादीको पगरी स्वघोषित रुपमा पहिरन खोज्ने प्रचण्डले तत्कालीन भारतीय राजदुत राकेश सुदलाई सोधेर भारत भन्दा पहिला चीन जान दिन अनुमति माग्नु, भारतीय बिदेशमन्त्री सलमान खुर्सिद आउँदा सिगापुरमा श्रीमतीको उपचार गराउन गएका व्यक्ति हुर्रिंदै उनलाई भेट्न नेपाल आउनुले सवै तथ्य ऐना हेरेको जत्तिकै छर्लङ्ग छैन र ?
प्रचण्ड सत्ता र पदका कति भोगी रहेछन् भन्ने कुरा उनले बेला बेलामा निकृष्ट ढङ्गबाट दिने छुद्र अभिब्यक्तिहरुले समेत पुष्टि गरेको छ । कटवाल प्रकरणमा राष्ट्रपतिले आफु अनुुकुल निर्णय नगरेपछि राष्ट्रपतिलाई ‘गोठालोको छोरो, भैंसी चराउनेको छोरो’ भन्दै कटु आलोचना गर्नुबाट पनि उनको नियत र कति छुद्र रहेछन् भन्ने प्रष्ट हुन्छ । त्यति मात्र होइन अरु दलका नेताका खुट्टा भाँच्न कार्यकर्तालाई खुल्लामञ्चवाट कुर्लने काम, प्रभुसँग नै वार्ता गर्ने भनेर अरु दलहरुलाई हरुवा चरुवा भनेर गाली गर्नेसम्मका काम उनीबाट भए । गोरखा फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्या आफुले गर्न लगाएको हो भनेर उनले आफ्नो आपराधिक मनोवृत्ति समेत देखाएका छन् । उनलाई चुनौती छ, १७ वर्षका एसएलसी दिएका एक किशोरलाई गोरखाबाट चितवन हजुरआमा हजुरबुबालाई भेट्न आउँदा मार्नुको कारण के हो ? जवाफ दिने हिम्मत छ उनीसँग ? नेपाली जनताका छोराछोरीको हत्या गर्ने, मार्न लगाउने प्रचण्ड आफु भने करोडौंको गाडीमा, करोडौंको बिल्डिङ्गमा सिंह सुतेसरि पल्टिएका छन् । दुई लाखको पलङमा सुत्ने यी साहु नैतिक रुपमा पतन भएका छन् । हिजो बहुविवाह गरेको भनेर उज्जन कुमार श्रेष्ठको हत्या गर्ने माओवादीहरु, आफुले जे गरेपनि हुने ठान्दछन् । हिजो रक्सी, तास र जुुवा बन्द गराउँदै हिंडेका माओवादीहरुकै सवैभन्दा धेरै क्यासिनो र जाँडरक्सी भट्टी केन्द्रहरु छन् भने उनकै कार्यकर्ता धेरै क्यासिनोमा जुवा खेलाउने काम गर्दछन् । जनताको जीवनस्तर भने खस्कँदै जाने तर कम्युनिष्टको पार्टी, सर्वहारा जनताको पार्टी भनिएको एमाओवादीका नेताले भने हेलिकोप्टरमा मोज गर्दै हिंड्ने, चुनावमा हेलिकोप्टरमा सयर गर्न नपाएको झोक निर्वाचन आयोगमा पोख्ने काम सम्म गरे ।
एमाओवादीले गरेका ऐतिहासिक गल्तीहरु ः
१. नेपालको सिमाको बारेमा जनमत संग्रह गर्ने प्रस्ताव ।
२. चीनसँग साँसद खरिद गर्न भन्दै ५० करोड रुपियाँ माग ।
३. सदियौं देखि मिलेर बसेका नेपालीहरुको अस्तित्वलाई फुटाउने, देशलाई जातिय विखण्डनमा लैजाने र एकल जातिय राज्यको माग ।
४. देश भने धर्मनिरपेक्षता, प्रदेश भने छ वटा जातिको नाममा सापेक्ष बनाउन भन्दै उचाल्ने काम ।
५. हुँदै नभएका लडाकुहरुको नाममा चारवर्षको तलबभत्ता हजम गर्नु, शिविरमा भएका लडाकुहरुको तलव भत्ताबाट समेत पार्टीका लागि भन्दै काटिएको ५ अर्व भन्दा धेरै रकम हिनामिना, आर्थिक घोटाला गरि चरम सुखभोग र मोजमस्ती गर्नु ।
६. नेपालकै इतिहासमा सबैभन्दा ठुलो ४९ सदस्यीय मन्त्रिमण्डल बनाएर नेपाली जनताको ढाड सेक्ने काम ।
७. सबैभन्दा धेरै सुण्डमुसुण्डाहरुबाट घेरिएर, सहयोगीका नाममा सवैभन्दा धेरै सरकारी बजेट सिध्याउने काममा अर्को किर्तिमान ।
८. शुरुमा मुस्ताङ गाडी चढेर ढोङ्ग रच्दै गोल्छा अर्गनाइजेशनको दुतका रुपमा उसको गाडीको प्रचार गर्ने र बालुवाटार छाड्दै गर्दा ५०÷६० लाख पर्ने स्कोरपियो लिएर बाहिरिने काम ।
९. हिसिला यमी मार्फत आफन्त र नातेदारहरुलाई जागिर खुवाउने, लाभको पदमा लैजाने, केयुकेएलमा भष्टाचारमा वाबुरामकै प्रत्यक्ष संलग्नता ।
१०. सदियौं देखिको नेपाली पहिचानका रुपमा रहेको दौरा सुरुवाललाई राष्ट्रिय पोशाकवाट हटाउने कामको किर्तिमान गर्ने र नेपाली जनताको पहिचानलाई मेटाउने काम बाबुराम र माओवादीको सरकारले नै ग¥यो ।
११. चितवन राष्ट्रिय निकुञ्ज भित्र राजमार्ग बनाउने र निकुञ्ज मासेर एक मधेश एक प्रदेशको सपना बुन्ने तथा नेपाललाई टुक्राएर भारतीय विस्तारवादलाई उपहार स्वरुप बुझाउने तयारी माओवादी सरकारले मधेशवादी दलको आडमा गर्न खोजेको ।
१२. सबैभन्दा वढि विवादास्पद निर्णयहरु गरेर सर्बोच्च अदालतको स्टे अर्डर धेरै खाएको किर्तिमान पनि माओबादी र उसको सरकारको नाममा छ ।
१३. कुनै समुदायलाई हुलका हुल नेपाली सेनामा प्रवेश गराउनेसम्मका काममा माओबादी नेतृत्वको सरकार उद्दत भयो, तर पछि सर्वोच्चको आदेशमा रोकियो ।
१४. सर्वोच्च अदालतले सर्वश्व सहित जन्म कैदको फैसला गरेका बालकृष्ण ढुगेललाई संरक्षण दिने, अपराधिका सबै मुद्धा फिर्ता लिने र राष्ट्रपति समक्ष सिफारिस गरी राज्यमा अपराधीकरणको राज चलाउने काम माओवादी सरकारले ग¥यो ।
१५. प्रधानमन्त्री भएको भोलिपल्ट नै जनताका नाममा राहत प्याकेज घोषणा गरेको देखाएर जनतालाई सफेद झुट गरेका बाबुरामकै पालामा सर्वाधिक पाँच पटक सम्म पेट्रोलियम पर्दाथको मूल्यबृद्धि भयो ।
१६. तत्कालिन कथित माओबादी जनसत्ता र त्यसको कथित अदालतले गरेका घर जग्गा लेनदेनलाई बैधता दिने दुस्साहस बाबुरामको एमाओबादी सरकारले ग¥यो ।
१७. यसअघि नै दुई विवाह गरिसकेका एमाओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाशलाई उनकी प्रेमिका विना मगरसँग सगरमाथा चढ्न जनताको रगत र पसिनाबाट राज्यको ढुकुटीमा जम्मा भएको दुई करोड रुपैयाँ दिने सगौरव घोषणा महान तथा गौरवशाली पार्टी एमाओवादीले नै ग¥यो ।
१८. नेपाली उद्योगी र व्यवसायीको लगानीलाई सुरक्षित गराएर प्रोत्साहन दिनुको साटो आफु निकटका मजदुरलाई अनावश्यक माग राखेर उद्योग बन्द गराउन उक्साउने एमाओबादी सरकारले भारतसँग बिप्पा गरेर आयो । भारतीय लगानीलाई पूर्ण सुरक्षा सहित क्षतिपूर्ति दिने सम्झौता गौरवशाली पार्टीको सरकारले ग¥यो ।
१९. गाउँघरमा एक महिना बास वस्ने कार्यक्रम ल्याएका वाबुरामको सरकारले यसरी बास बस्न जाँदा राज्य कोषबाट लाखौं रुपैयाँ रकम सिध्याउने काम ग¥यो । दुई÷तीन सय जनाको भेंडीगोठ लिएर हिंडदा माओवादीले राज्यको सम्पतिमा मोज मस्ती गरे ।
२०. चार बुँदे राष्ट्रघाती सहमति मार्फत बनेको बाबुरामको सरकारका रक्षामन्त्री शरद सिंह भण्डारीले तराईका २१ जिल्ला टुक्राउने चेतावनी दिंदा कारबाही गर्न प्रचण्ड–बाबुरामले हात कमाए ।
२१. हत्याको आरोप लागेको प्रभु साहलाई जोगाउने असफल प्रयास, अर्का हत्या अभियोगी सूर्यमान दोङ्गलाई राज्यमन्त्री बनाउने काम । खोभारी राय जस्ता आपराधिक पृष्ठभूमिका व्यक्तिलाई मन्त्रिमण्डलमा पदस्थापन ।
२२. अध्यक्ष पुष्पकमल दाहाल एकल जातिय राज्य माग गर्नेहरुका सर्वोच्च नेता बनेका छन् ।
नयाँ नेपाल भनेर जनताको आँखामा छारो हाल्ने र जनतालाई सफेद झुट सिकाउने काम एमाओवादीले ग¥यो । देशलाई संघिय बिकेन्द्रीकरणमा लैजाने, शक्ति र स्रोतलाई बाँडफाँड गर्ने भनेर दस्तावेज र घोषणा पत्रमा लेख्ने यहि एमाओवादीको महाधिवेशनले बनाएको बहुपदको संरचना समेत भङ्ग गरेर प्रचण्डमा सबै शक्ति र अधिकार केन्द्रित गरेर बसेको छ । भित्र दस्तावेजमा एकथोक र व्यवहारमा अर्को थरी गर्ने पार्टी भनेकै एमाओवादी हो । देशलाई भने संघियतामा लैजाने र स्रोतको बाँडफाँड गर्ने भन्ने माओवादीले पार्टीमा अंगालेको चरित्र भने केन्द्रिकृत र एकाङ्की छ । महिला अधिकारका कथित नारा उचाल्ने माओवादी पार्टीको केन्द्रिय समितिमा ३३ प्रतिशत पनि महिला सहभागीता गराएको छैन् । हेटौंडा महाधिवेशनवाट निर्वाचित जम्मा १८ प्रतिशत मात्र महिला प्रतिनिधित्व छ एमाओवादीमा । राज्यका निकायमा दलित जनजाति र मुस्लिम समुदायको आरक्षण र अधिकारको कुरा गर्ने एमाओवादी पार्टी भित्र भने यी सवै क्षेत्रको उपेक्षा गरिएको छ । उनीहरुको प्रतिनिधित्वलाई कम कम गराउँदै लगिएको छ । यसबाट थाहा हुन्छ एमाओवादीले राजनीतिक सन्तुलन गुमाएको छ र २०६४ सालमा बनेको यो सिसाको घर फुट्ने र टुट्ने क्रममा छ । फेरि पनि यस्तो शक्ति जो नेपाली जनताको हुर्मत लिएर आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्छ, त्यस्तो देश र जनताप्रति गैरजिम्मेवार दललाई चुन्ने कि नेपाली जनताको वास्तविक शक्ति, लोकतान्त्रिक चरित्र भएको बहुजाति, बहुभाषिक, राष्ट्रियता र सामाजिक सद्भाव कायम गर्ने शक्तिलाई चुन्ने ? आम नेपाली जनताले फैसला गर्ने महत्वपूर्ण समय आएको छ ।
(लेखक नेकपा (एमाले) चितवनका उप–सचिव)