बरिष्ठ गायक तथा सङ्गीतकार फत्तेमान राजभण्डारीलाई हामीले अब सदाका लागि गुमाएका छौं । भौतिक रुपमा उहाँ हामीबाट टाढा हुनुभएपनि कालजयी गीत सङ्गीतका धुनले उहाँ सदा अमर रहनुहुनेछ । ‘फत्तेमान’ यो नाम नेपाली गीत सङ्गीतलाई माया गर्नेहरुका मनमा अमिट बनेर रहिरहने छ । फत्तेमानले जति गीत गाउनुभयो, जति गीतमा सङ्गीत भर्नुभयो, त्यो भन्दा बढी उहाँले नेपाली गीत सङ्गीतलाई समृद्ध बनाउन एउटा असल गुरुको एउटा जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्नुभयो । फत्तेमान एउटा संघर्षको परिचय पनि हो । त्यसैले उहाँ नयाँ, पुराना सवै कलाकारहरुका प्रिय बनिरहनुभयो । फत्तेमान नेपाली गीत सङ्गीतका उज्ज्वल नक्षत्रका रुपमा स्थापित हुनुभयो, त्यसैले उहाँलाई सारा नेपाली सङ्गीत प्रेमीले मन थाम्दै भने– अलविदा फत्तेमान ।
फोक्सोको क्यान्सरको उपचार गराइरहनुभएका फत्तेमानको स्वास्थ्य अवस्था गम्भीर बनेको खबर आएपछि सारा सङ्गीत प्रेमीले उहाँको स्वास्थ्य लाभको कामना गरेपनि उहाँ रहनुभएन । ‘फत्तेमान’ नेपाली गीत सङ्गीत क्षेत्रमा अलग्गै परिचय बनाएको एउटा अभिभावक हुनुहुन्थ्यो । त्यसैले उहाँलाई सामुन्ने विदाई गर्नेहरुका गला अवरुद्ध भए, आँखा रसाए, उपस्थित हुन नसक्ने सारा नेपाली सङ्गीत प्रेमीहरुले मनमनै विदाई गरे, उहाँका गीत सङ्गीत र योगदानलाई सम्झिएर उहाँप्रति सम्मान दर्शाए । सामाजिक सञ्जालका पाताहरु फत्तेमानको सम्मानमा भरिभराउ भए ।
आम नेपालीले एउटा वरिष्ठ स्रष्टा, सर्जक र कलाकारप्रति जे सम्मान भाव दर्शाउनुपर्ने हो त्यसमा कुनै कन्जुस्याइँ गरेनन् । तर बिडम्बना, कन्जुस्याइँ ग¥यो सरकारले । कलाकार राष्ट्रका सम्पत्ति हुन् भन्ने सवैलाई थाहा छ । त्यसमाथि नेपाली गीत सङ्गीतको क्षेत्रमा फत्तेमानको योगदान अतुलनीय छ । यस्ता बरिष्ठ गायक तथा सङ्गीतकार गुमाउँदा पनि सरकारले उनलाई राष्ट्रिय सम्मान दिन कन्जुस्याइँ ग¥यो । न त उनको उपचारमा नै सरकारले सहयोग ग¥यो ।
अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी फत्तेमानप्रति अन्तिम श्रद्धाञ्जली दिन पशुपति क्षेत्रमा नै पुग्नुभयो, यसको सम्मान गर्नैपर्छ । तर, यी साधकलाई राष्ट्रिय सम्मान सहित बिदाई गर्नुपर्छ भन्ने सोच अध्यक्ष रेग्मी र मन्त्रिपरिषद्का अरु सदस्यमा किन आएन ? पशुपति पुगेका अध्यक्ष रेग्मीसँग फत्तेमानका परिवार र अन्य कलाकारहरुले समेत फत्तेमानलाई राष्ट्रिय सम्मान दिन माग गरिसकेपछि ‘म आफै आएपछि राष्ट्रिय सम्मान भइगयो नि’ भन्ने गैर जिम्मेवार जवाफ दिनुले र सरकारको यस्तो रवैयाले सिङ्गो कला क्षेत्रकै अपमान गरेको छ । यसबाट राष्ट्रका कार्यकारी प्रमुखसँग राजनीति गर्नेले मात्रै राष्ट्रिय सम्मान पाउँछ भनेजस्तो गलत सोच रहेको प्रष्ट भएको छ । अर्कोतर्फ फत्तेमान जस्तो एउटा बरिष्ठ कलाकार र कला क्षेत्रका अभिभावकलाई राष्ट्रिय सम्मान दिने विषयमा राजनीतिक दलहरुको पनि ध्यान दृष्टि पुग्न सकेन । आगामी दिनमा यस्ता विषयमा राज्य सञ्चालकहरुले विवेक पु¥याउनु जरुरी छ ।